19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

जण्डाहरू

कविता रुपेश राई December 28, 2012, 9:04 pm

हुइहुइ...

जोकर करायो

प्लेकार्डको बीचबाट। गाउँले,

एकझ्याप हत्याएन, हप्ता दिनको अनिदो रातमा।

आलो-आलै मरौमा।

मरौमा,

जोक्स रिमिक्स

भएर दुःख-सुखको घरमा बेहोरा

देखाइरहेछ। गाउँ नै डराएको अँध्यारो रातमा।

पल्लो कोठा र वल्लो कोठा गर्ने मेरो विसञ्चो दिमाग

घरिघरि झुण्डी हिड्छ मर्माहत परिवारमा।

रामायण

सुँकसँक गर्दै माम्री-माम्री

परेर अस्ति नै अचेत भइदिएछ, शिक्षित

समाजको श्लिपिङ पिल खाएर। कखराहरू हुर्किनु

नपाएर सिलेटमै कचल्टिरहेन्छन्।

क्योर हुँदैन

यो घाउ गाउँको, मेम-बासा अचेत हत्केलामा लडेपछि।

पिरामा टुक्रुक्क बस्ने फ्लाश ग्यास्ट्रिक भएर उँड्छ।

नयाँ संस्करण

हुँदैन भानुभक्तको, नयाँ संस्करण हुँदैन पितृको।

जन्डाहरू

कराइरहेछन् अस्ति खसेर पुलमुनि

झर्ने आत्मालाई। उनिहरूको नियुक्तिबारे!

तिमीलाई कहाँ स्थान दिऊँ?

नछिचोलेको

समनवाद घर जङ्गलको

कुनाकाप्चामा। बौरी उठ्छ हिप्पीहरूको

ऱ्यापमा जन्डाहरू हेरेको-हेरेकै आत्मसमर्पनको अनुहारमा। स्वेत वस्त्र लिएर।

गोप्य कोठामा।

तीनचूलेमा, सँघारमा या

अन्य कहीँ

डाँडा...काँडा, खोला...नाला

बारी...कान्ला, धारा...पँधेरो, उत्तर...दक्षिण

पूर्व...पश्चिम, ट्याङ्... ट्याङ्... ट्याङ्...

ट्याङ्... ट्याङ्... ट्याङ्... ट्याङ्....

कुनै एउटा पूर्वाग्रह

जस्तो, कोकटेलको रमरम जस्तो;

धिपधिप ताल दिइरहेको। सुनिदैछ गाउँमा अहिले

हाम्रै चिन्तामा उसको चिन्ता जन्डा भएर हिँडिरहेको। पालैपालो बखान्दै।

विभिन्न भाषामा।

तिम्रो... गाउँमा... ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ्...

अनिकाल... पसेछ... ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ्...

तिम्रो... घरमा...ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ्...

पितृको बेहाल भएछ... ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ्...

ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ् ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ्

ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ्...

ट्याङ्ट्याङ्... ट्याङ्ट्याङ्

ट्याङ्ट्याङ्... जन्डाहरू कराइरहेछन् निद्रा बिगारेर तुक्काहरूमा।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।