17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नार्कोटिक्स गाउँ

कविता प्रवीण खालिङ December 29, 2012, 5:26 am

यो बर्खादेखि

धाराको पानी सुक्यो

खोल्सामा मूल फुटेन

धनमानले पनि खेत जोतेन।

अनौ समात्ने हातले झण्डा समातेपछि

गाउँ बाझो भएको छ जीवन उमार्न नसकेर।

माटोको गन्धले मस्त हुने गाउँ

अहिले डोपिङ गर्छ

सानुमतिको ढुग्री, बुलाकी र तिलहरूहरू चिटफण्डमा हालेर

सुकेनाश भनेपछि थर थर काप्ने गाउँ

एड्सको विज्ञापन सुन्न मन पराउँछ।

यतिले पनि गाउँलाई पुग्दैन

सँञ्चो विसँञ्चो छदै छ

अपुगको लहरे खोकि चलिबस्छ

बेला न कुबेला ख्वाक ख्वाक..

पहेलो फायल बोकेर गाउँ शहर गइबस्छ

गोरेटोहरूको सेक्स चेञ्ज गर्न चहान्छ गाउँ

अलकत्रे सटकमा हिँडन चाहन्छ गाउँ

नरेगाको क्यामोफ्लाइज रोजगारले

हराएको जस्तो लाग्ने गाउँको दुःख

प्रत्येक दिन हाम्मे हाम्मेमा दुख्छ

गाउँलाई पनि अवसाद हुन्छ

हाइपर टेन्सन हुन्छ

यत्रो विशाल व्यवस्थासित भिड्न्त गर्नसक्ने क्षमता कहाँबाट ल्याओस गाउँले

त्यसैले डोपिङ गर्छ गाउँ

नार्कोटिक्स लिन्छ गाउँ।

पहिलेको हली अहिले राजनीतिको हल्ला भएको छ

पाटीमा पार्टीको कुरा गरिबस्छ

तर उसले बुझ्दैन

पार्टीले दशैं नटर्ने कुरा

पार्टीले मूल नफुट्ने कुरा

पार्टीले न चाढ़ टर्छ

न त मुखमा माड़ पर्छ

तरैपनि यो गाउँ डोपिङ गर्छ

राजनीति गर्छ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।