परिचय
कालिका एप्m. एम.को बार्षिकोत्सबमा माधव बहादुर पोख्रेललाई देख्ने मौका हिडदाहिड्दै मिल्यो र आकांक्षको चिता नाटक सप्रेम उपहार पनि प्राप्त भयो तर उहाँ र मेरो बीचमा राम्रो परिचय भने हुन सकेन । यस अवसरमा साहित्यकार हयग्रीव आचार्यज्यूले यस कृतिको समालोचना गरिदिनु होला भन्ने शब्द हिड्दा हिड्दै प्रकट गर्नुभयो । धेरै दिन भयो कृति प्राप्त गरेको तर यसमा मेरो नजर जान समय लाग्यो । आज यसको अध्ययन र यसमा मेरो धारणा राख्ने कामको थालनी भएको छ । माधव पोख्रेलबाट परिचित नाटककारको प्रचलित नाम भने माधव बहादुर पोख्रेल हो । उहाँको जन्म, बि.सं. २०२१जेठ १० गते, तनमुना–६, सुनसरी, कोशीमा, माता नर्वदा देवी पोख्रेल र पिता स्व. तेज बहादुर पोख्रेलको पुत्ररत्नको रूपमा भएको थियो । हाल उहाँ हेटौडा–४, मकवानपुरमा बसोबास गर्नु हुन्छ । शिक्षामा उहाँ स्नातक र पेशामा उहाँ युनिलिभर नेपाल लिमीटेडमा आवद्ध हुनुहुन्छ । माधवजी यात्री समूह, विराटनगरको संस्थापक सचिव, मातृभूमि साहित्य समाज, मकवानपुरको उपाध्यक्ष र हेटौडा बजार लायन्स क्लवको मेम्बरशिप चेयर पर्सनको साथै विविध संघ संस्थनानमा आवद्ध हुनुहुन्छ । माधवजीले नाटक लेख्ने काम मात्र हैन उहाँ अभिनयकर्ता र निर्देशक पनि हो । उहाँको निर्देशनमा प्रेमको आँधी, बाँच्न चाहानेहरू, भाविको लेखा, म पनि देउता मान्छु तथा सडक नाटकहरू गरेर १०० भन्दा बढी ठाउँमा प्रदर्शन भैसकेको हुनुहुन्छ । यसबाट प्रष्ट हुन्छकी उहाँ व्यवहारमा उत्रने सफल नाटककार र सफल अभिनयकर्ता/निर्देशक पनि हो ।
विभिन्न साहित्यकारको नजरमा माधवजी
‘पीडा र संवेदनाको प्रतिचित्रः आकाड्क्षको चितामा’ शीर्षक दिएर विवश पोखरेलले यस नाटकको भूमिका मार्फत चिरफार गर्नु भएको छ । विवश पोख्रेलजीले नेपाली नाटकको लेखनको थालनी, युवाकवि मोतीराम भट्टले (वि.सं.१९४४साल) शाकुन्तलबाट, भएको र हालसम्म नेपाली नाटकले पहिलो चरण वि.सं.१९४४ देखि १९८५ सालसम्म, दोस्रो चरण१९८६ देखि २००७ सालसम्म,तेस्रो चरण तेस्रो चरण २००८ देखि हालसम्म पार गरिसकेको छ । आजको परिपेक्षमा नेपाली नाटकले प्राचिन र परंपरावादी चिन्तन र प्रस्तुतिलाई छाड्दै आधुनिकतातिर लम्केको छ । त्यसो हुँदाको नाटकमा आएको परिवर्तनलाई मध्यनजर र।ख्दै कालत्रमिक विभाजनमा पुनः विचार गर्नु पर्दछ र यसले चौथो चरणमा प्रवेश गरेको धारणासमेत विवश पोख्रेलले राख्नु भएको छ । हुन पनि हो नेपालीनाटकले आज आएर धेरै उच्चाई लिइ सकेको छ र अवको समयलाई नाटकको चौथो चरणमा लिनु अवश्य पनि समयसापेक्ष हुन जान्छ । ‘आकाड्क्षको चिता’ नाटकको बारेमा उहाँले लेख्नुहुन्छ –‘जीवनका विविधतालाई नाटकमा उन्ने काम माधवजीले गरेका छन् । पीडा र संवेदनाको प्रतिचित्रकारूपमा यो कृति आएको छ । नाटकमा आउने आकस्मिक मोड, घटना संवादले नाटक पढुन्जेल पाठक मनभित्र अव के हुन्छ अव के हुने हो भन्ने एउटा जिज्ञासा र कोतुहल जन्माइरहन्छ । समग्रमा नाटकको पारखीलाई भने यो नाटक मन पर्ने छ । कृतिका लागि स्रष्टा माधव पोखरेललाई हार्दिक बधाई छ ।’
निमेष निखिलको धारणामा– ‘ आकाङ्क्षाको चिता सम्पत्तिका लागि भएको परिवारिक द्वन्द्व र त्यसले निम्त्याएको विनाशको दुखान्त नाटक हो । परिवर्तित र आधुनिक समय, समाज र मान्छेका विविध पक्षहरूलाई नजिकैबाट नियाल्न सफल यस नाटकका कतिपय घटना तथा दृश्यहरू अप्रत्यासित जस्ता प्रतित भए पनि समग्रमा नाटक, पठनीय, मञ्चनीय र दर्शनीय छ ।’
तुलसी थापाको धारणामा– ‘प्रस्तुत नाटक, “आकाङ्क्षाको चिता” एक धनाढ्य परिवारको दम्भ, आडम्बर, सम्पत्ति हडप्ने तर्फका षडयन्त्र, र हत्यासम्म गर्ने निकृष्ट कर्तुत, गलत सङ्गतमा डुबेका युवाहरूको कुलत, बदनियत, पिडीतको निरिहता एवम् ससंवेग आदि उजागर गर्ने घटना र सत्यस अनरूपको पात्रतामा आधारित छ । “वदनियतका क्रियाकलापले दुःखद परिणाम निम्त्याउदछ” भन्ने यथार्थतालाई नाटककारले सरल ढङ्ले उजागर गरेका छन् । नाट्य विधामा आफ्नो सृजनात्मक उपस्थिति जनाउनु भएका नाटककार माधव पोख्रेललाई बधाई तथा यसस बिधामा आफ्नो भावीलेखन अझै परिस्कृत गर्दै लैजानुहुने अपेक्षा सहित शुभकामना ।’
मातृभूमि साहित्य समाजका संस्थापक÷संरक्षक हयग्रीव आचार्यले यस कृतिको सम्पादन गर्नु भएको छ । उहाँको यस कृतिप्रतिको धारणा यसप्रकार छ– ‘समाजमा भैरहेका घटनाक्रमहरूलाई टपक्क टिपेर शब्दको माध्यमबाट सुन्दर एवम् कलात्मक नाटकीय कथानक शब्दहार बनाउन सफल माधव पोख्रेल नेपाली नाट्य साहित्यका आशालाग्दा सशक्त कालिगढ हुनुहुन्छ भन्ने मेरो दरिलो विश्वासस छ ।’
मातृभूमि साहित्य समाज परिवारका अध्यक्ष राजबाबु पहाडी लेख्नुहुन्छ – ‘वियोगान्त नाटकको रूपमा आएको यस कृतिले विशेष महत्व राख्दछ ।’
स्वयम् नाटककार माधव पोख्रेलजीले ‘मैले भन्नै पर्ने कुरा’ शीर्षकमा उहाँको नाटकप्रतिको झुकाऊ, त्यसमा गरिएका प्रयत्नहरू, आवद्धताहरू, प्राप्त भएका प्रशंसाहरू त्यसमा भोगेका समस्याहरू र आफ्नो नाटक लेखनको आकांक्षाहरूको बारेम प्रकाश पार्दै नाटकमा छोरीले अंश पाउने राम्रो कुरा भएको ठान्नुहुन्छ र त्यही सम्पत्तिका कारणबाट निम्त्याएका जघन्य अपराधलाई लिएर नाटकको सिर्जना गर्नु भएको यथार्थता यस नाटकमा प्रष्ट्याउनु भएको छ ।
नाटकको कथा सारसङ्क्षेप
सुबर्णनाथ एक जमिनदारकी श्रमितीको नाम सकुन्तला थियो । उनका सुरेन्द्र र विक्रम नामका दुई छोरा र शिल्पा नामकी छोरी थिइन् । सुवर्णनाथले आफ्नो सम्पत्तिलाई छोरा र छोरीको नाममा बराबर अंश लगाइदिएका थिए तर सुरेन्द्र र विक्रमलाई यो मन परेको थिएन । उनीहरूले यो अंशलाई आफ्नो हक भोगमा ल्याउन चाहन्थे तर शिल्पाको यो फिर्ता गर्नै चाहना थिएन । सुरेन्द्रकी श्रीमती (शिल्पाकी भाउजु) र सुरेन्द्रको सालो नरेन्द्रले शिल्पालाई अनावश्यकरूपमा त्यो सम्पत्ति हात पार्नकालागि तानावाना बुनेर सताउँथे । शिल्पालाई, दाजु भाउजुहरूले कलेज जानबाट रोकलगाउने, खाली कागजमा सही गरिदिने जस्ता धम्की दिने गर्दथे तर उसका नाममा भएको सम्पत्ति कुनै हालतमा फिर्ता नगर्ने अडान लिएर सहयोगको लागि सबै कुरा शिल्पाले आफ्नो साथी (कृष्णनाथ र सुभद्राको छोरा) सञ्जयलाई बताउँछिन् र सञ्जयले, सम्पत्ति फिर्ता नगर्ने सुझाउ दिदै सक्दो सहयोग गर्ने बचन दिन्छ तर सञ्जय पनि यसै कारणले गर्दा मारिन्छ । नरेन्द्रले राम बहादुर(सुवर्ण नाथको फर्म हेर्ने व्याक्ति) की छोरी जानकी लाई नशालु पदार्थ दुधमा मिलाएर खुबाउँछ र लठ्ठयाएर लुट्छ जसको कारणले जानकीले आत्महत्या गर्छे । यसरी नै सुष्मा ( कृष्णनाथ र सुभद्राकी छोरी),लाई प्रेम गर्ने बहाना गरेर गर्भवती बनाउँछ तर बिबाह नगर्ने भए पछि सुष्माले घाँटीमा पासो लगाएर आत्महत्या गर्छे । शिल्पालाई नरेन्द्रसँग बिहे गर्ने र खाली कागजमा सहीगर्ने प्रस्ताब राख्दा नमाने पछि पागलको संज्ञा दिएर मानशिक अस्पतालमा भर्ना गराइन्छ । शिल्पाले ‘म पागल होइन’ भन्दै कराएको सुनेर सुरज (एक धनी व्यपारी जसकी पत्नी उसले पत्नीलाई आबश्यक समय दिन नसकेको र पत्नीले यो कुरा प्रष्टरूपमा बताएर पोइल गएकी थिई) ले डाक्टरसँग राय लिएर घरमा लान्छ र आमाको आग्रहमा शिल्पालाई विवाह गर्छ । बिबाह पछि शिल्पा माइत जाने जिद्धी गरेपछि, सुरजले शिल्पालाई माइत पु¥याइ दिन्छ । माइत गएकै राती गर्भ धारण गरेकी शिल्पालाई मारेर आत्महत्या गरेको बाहना बनाइन्छ । प्रहरीको छानविनले मारिएको ठहर गरी सुरेन्द्रलाई सोधपुछ गर्दा विक्रमले मारेको भने पछि, आवश्यक पर्दा हाजिरहुने गरी सुरेन्द्रलाई पुलिसले छाडिदिन्छ । सुरेन्द्र घर जान्छ । विक्रमलाई बहिनी हत्याको आरोप लगाउँदा विक्रमले गोलीबाट सुरेन्द्र ढल्छ, नरेन्द्रको गोलीबाट विक्रम ढल्छ । यसै बेलासम्म पुलिस आइ सकेको हुन्छ । नरेन्द्र र नरेन्द्रकी दिदी (भाउजु) लाई समातेर कानुनी कारवाहीको लागि लगिन्छ । अदालतले नरेन्द्रलाई शिल्पा, सञ्जय र विक्रम समेतको हत्याको आरोपमा र दिदी(भाउजु)लाई शिल्पा, र विक्रमको हत्याको मतियारको आरोपमा आजन्म काराबासको सजाएँ सुनाइन्छ । यही घटनाक्रमलाई समायोजन गरी नाटकको सिर्जना भएको छ ।
नाटकको संरचना र विश्लेषण
यो कृति (७८+१७)=९५ पृष्ठको छ । यसमा २८वटा दृश्यमा नाटक समाप्त भएको छ । नाटक भन्ने बित्तिकै हामीले नाटककार, कलाकार र दर्शकको घनिष्ट सम्बन्धलाई भुल्न हुँदैन किनकी नाटककारले नाटको सिर्जना गर्छ, कलाकारहरूले यसलाई व्यवहारमा उतार्छन् र दर्शकहरूले यसलाई अवलोकन गर्छन् । नाटककारले लेखेको विषय बस्तुलाई कलाकारले कलापूर्ण रूपमा प्रस्तुत गर्न नसकेमा दर्शक आकर्षक हुँदैनन् र नाटकको विषय बस्तु राम्रो हुँदाहुँदै पनि प्रभावकारीता प्रवल देखिन सक्दैन । आकांक्षाको चिता एउटा सामाजिक नाटक हो । यसमा धनी बर्ग, मध्यम बर्ग र गरिब बर्गलाई समायोजन गरेर सिर्जना गरिएको नाटक हो । धनी बर्गले मध्यम र गरिब बर्गलाई कसरी थिचो मिचो गर्दछन् र धनी बर्गको त्यो थिचो मिचो यी बर्गले कसरी सहनु पर्छ भन्ने यथार्थता यहाँ प्रष्टिएको छ । आजको मानिस धन आर्जन र सम्पत्ति प्राप्तिको लागि जघन्य अपराधसम्म गर्न पछि पर्दैन र त्यसको भोगाइ/असर मध्यम र गरिब बर्गलाई घातक बन्न सक्छ/हुन सक्छ भन्ने उदाहरणको रूपमा जमिनदार परिवार सुवर्णनाथका छोरा बुहारीको करतुतले मध्यम बर्गीय कृष्णनाथका परिवारमा र गरिब बर्गीय रामबहादुरको परिवारले भोगेका घातक परिणामलाई लिन सकिन्छ । यो वियोगान्त नाटक हो । यस नाटकमा सुरज एउटा धनी र समाजसेवी व्यक्ति हुँदाहुँदै पनि धन आर्जन गर्दा परिवारमा समय दिन नसकी प्रथम पत्नीले उसलाई छाडेको र शिल्पालाई दोस्रो बिबाह गरेर पनि जीवन साथीको रूपमा जीवन बिताउन नपाएको (शिल्पाका दाजुहरूले सम्पत्ति हडप्नको लागि मारेकाले) अत्यान्त कारुणिक वियोगान्त वेदनालाई यस नाटकमा पढ्न पाउँछौं । धनको जति आवश्यक छ त्यो भन्दा कम शारीरिक संतृप्ति पनि छैन भन्ने शिक्षा तथा सफल पारिवारिक जीवन बिताउनको लागि मानिसले पारिवारिक महत्वलाई बुभ्mन सक्नु पर्छ भन्ने सन्देश यस नाटकले दिएको छ । उदाहरणको लागि सुरजकी पहिली पत्नीले पोखेका अभिव्यक्तिलाई मनन गरौं –“घरमा श्रीमतीलाई दिनुपर्ने समय पनि तिमीसँग छैन । कति दिन सम्म सहेर बस्ने । श्रीमती कुनै माटो र प्लाष्टिकको खेलौना होइन, चाहेको बेलामा प्रयोग गर्ने र नचाहिंदा मिल्काइ दिने । हाम्रो पनि आफ्नो अस्तित्व छ ।” एक धनाढ्य परिवारमा कतिसम्म दम्भ र आडम्बरले पोतिएको हुन्छ । आवरणमा जतिसुकै उच्चता बोके पनि भित्री आवरणमा कलुषिताले भरेको र स्वार्थले सजिएकाहरूले सम्पत्ति आर्जन तथा हडप्ने तर्फ कतिसम्म नीचकर्महरू गर्न सक्छन् भन्ने प्रमाण यस नाटकमा दर्शाइएको छ । मानिस पागल किन नहोस् तर पनि जुन कारणले पागल भएको हो, त्यसको प्रतिविम्ब उसले पोख्दै हिड्छ भन्ने यथार्थताको उदाहरण रामबहादुरलाई लिन सकिन्छ । नरेन्द्रको व्यभिचारको कारण छोरीले आत्महत्या गरे पछि राम बहादुर पागल बन्छ । सुरेन्द्रको घरमा गएर,“‘----यो घर होइन राक्षेस बस्ने महल हो,” भन्छ । यसरी नै दृश्य १७ मा सुष्मा को चिता जली रहेको बेलामा यही राम बहादुर त्यहाँ पुगेर भन्छ– “एउटाको महत्वकान्छाले अर्काको चिता जल्ने कुन कानुनमा लेखेको छ ‘‘जब कानुनले यसलाई छुट दिएको छैन भने मौन किन जानुहोस् जानुहोस् त्यसको विनास गर्नुहोस् ।” राम बहादुर पागल हो तर उसका अभिव्यक्ति भने सत्यतामा, यथार्थतामा आधारित र मार्मिक छन् । यस नाटक भित्र पोखिएका आवाजहरू भावपूर्ण, मार्मिक, ओजिला र चोटिला छन् ।
खराव कामको अन्तिम नतिजा खराबै निस्कन्छ र सङ्गत गुनाको फल भन्ने शिक्षा यस नाटकबाट समाजले पाउने सन्देश प्रष्टरूपमा प्रदर्शन भएको छ । गलत सङ्गतमा डुबेका युवाहरूको कुलतले निम्त्याउने पारिवारिक असहजता र समाजमा आमहरूको छोराछोरीप्रतिको अन्धो मायाममताले गर्दा छोराछोरीप्रति बढ्दो कुलत तथा गलत प्रवृतिको प्रशय आदिलाई पनि यस नाटकले कलात्मकरूपमा प्रस्तुत गरेको छ । समाजमा घट्न सक्ने घटनालाई यस नाटकमा समावेश गरिएको छ । छोरीप्रति पोखिएका उच्च भावनाहरू, जस्तै ‘छोरी भनेको सृजनाकी जननी हुन् । छोरीबिना यो संसारको सृष्टि सम्भव छैन, छोरीलाई माया गर्नु भनेको सम्पूर्ण नारी जातिलाई सम्मान गर्नु हो’ ले यस नाटकको गरिमा बढाएको छ । नाटकमा प्रयोग गरिएको भाषा सरल र सहज छ, उखान टुक्कनहरूले सिङ्गारिएको छ, भावपूर्ण प्रस्तुति छ । समाजका, विकृति विसङ्गति र समय साक्षेप समाजमा घटने घटनालाई मूलमुद्दा बनाइएको छ । गलत व्यक्तिलाई अदालतले डण्डित गरेको छ ।
नाटकमा दुर्बलपक्षहरू अवश्य छन् भन्नु त्यती उचित नहोला किनकी लेखकले समाजमा घटेका घटनालाई उसले समाजलाई दिने शिक्षा कुनरूपमा प्रस्तुत गर्ने हो त्यसमा निर्भर रहन्छ । यहाँ पनि माधवजीले आफ्नो प्रस्तुतिलाई सफलरूपमा प्रस्तुत गर्नु भएको छ । यस नाटकमा नायक र नायिका कमजोड भएका र खलनायकहरूले अन्त्यमा गएर कोही आफ्नै कारणबाट मारिनु र कोहीलाई अदालतले डण्डित गरेको देखिन्छ तापनि सञ्जय र शिल्पालाई मार्नु भन्दा यिनको सन्धर्षले विजय हाँसिल गर्न सकेको भए सुनमा सुगन्ध थपिन्थ्यो जस्तो लाग्दछ ? कानुनको प्रयोगकर्ताले ठीक समयमा कानुनको प्रयोगमा स्वविवेकको अभाव, सुरजले अस्पतालबाट शिल्पालाई घरमा लानु र बिबाह पछि शिल्पाको माइतको सम्पत्तिप्रकरणलाई जान्दा जान्दै माइतमा लगेर छाडी दिनु जस्ता क्रियाकलापले पनि घटना घट्नमा प्रसय मिलेको देखिन्छ ।
निष्कर्ष
अन्त्यमा माधवजी व्यवहारमा उत्रने सफल नाटककार र अभिनयकर्ता/निर्देशक पनि हो । पीडा र संवेदनाले भरिएको, पाठक/दर्शकमा कोतुहल जन्माइरहने, परिवारिक द्वन्द्व र द्वन्द्वबाट सिर्जना हुने दुर्घटना, धनाढ्य परिवारको दम्भ, आवरणीय आडम्बर, सम्पत्ति हडप्ने तर्फका षडयन्त्र, र हत्यासम्म गर्ने निकृष्ट कर्तुत, गलत सङ्गतमा डुबेका युवाहरूको कुलत, बदनियत, पिडीतको निरिहता एवम् ससंवेग आदिको साथै समाजमा भैरहेका घटनाक्रमहरूलाई टपक्क टिपेर लपक्कै टाँसी शब्दको माध्यमबाट सुन्दर एवम् कलात्मक प्रस्तुति आदिले गर्दा समग्रमा नाटक, पठनीय, मञ्चनीय र दर्शनीय छ ।’ यस्ता गहन कामको लागि माधवजी धन्यवादका पात्र हुनुहुन्छ । अर्को नाटकको कृतिको सिर्जनाको अभिलाषा राख्र्दै बिदा माग्छु ।
कावासोती, शान्तिचोक