‘ओलेस जानेबेला भयो’ भन्ने शन्देश दिने मोवाइल छोडेर रेडियोबाट निस्किए । कहिले जानिजानी कहिले बिर्सिएर मोवाइल छोड्ने पुरानै बानी हो । यसपाली पनि मोवाइल कार्यथलो मै छोडेर मोटरसाइकिलमा ओरालो झरें । भीडमा जतन गर्न र घुम्न असजिलो हुने महशुस गरेर मोटरसाइकिल पनि घरमा थन्क्याए । हुलमुलमा जीउ जोगाउनु, अनिकालमा बीऊ जोगाउनु भन्ने लोकोक्ती छदैँछ । जीपमा चढें, चढें त के भनौ र ? झुण्डिए । धेरै बेर झुण्डिदा हात पाटिएपछि छतमा उक्लिए । जीपको सीट मात्र भरिएको छैन, छत, पछाडि, अगाडि सुँड जस्तो भाग चारैतिर यात्रु भरिएका छन् । नियमित यात्रीहरू भन्दैछन्, ‘बाँसटारी झडेवा रहबास मोटरबाटोमा चल्ने जीपको भारि सधै यस्तै हो ।’
दमकडाबाट खहरेसम्म ओटासिल मोटरबाटोमा सुलुलु हिंडेको जीप केहीबरेमा धुलौटेबाटोमा लाग्यो । सिनित्तको बाटो नेपालमा कहाँ पो होला र खै ? उबडखाबाडले उचालिने र पछारिने कुरा सामान्यजस्तै भए । जीप घुम्दा मान्छे नै घुमिने बाटो, त्यसमाथि ह्वाक्कह्वाक्क आउने धुलोले शरीर गम्लङ्गै ढाक्यो । रुप्सेको रजैपोखरा पुग्दानपुग्दै वलिम्तै बसेका सहयात्रीहरू छोइन लायक थिएनन् । अरुलाई देख्ने आँखाले आफ्नै स्वरूप देखेन । धुलो टाँसिएर कपडा बाक्लो बनेको थियो । अनुहारभरिको पाउडर र कपाल टल्क्याउने धुलो टकटक्याउँदै ओर्लिए । कसेनी उपस्वास्थ्य चौकीका प्रमुख गोविन्द भट्टराईले देउगिरको बहखोरभज्याङ्ग दोवाटोमा पर्खिरहेका थिए । ट्राफिक नियम उल्लघंन गर्दै तीन जना राखेर मोटरसाइकिल ओलेसतिर सोझियो । बाटो फेरियो, ज्यानै फेरियो ।
वरिपरि देखिने रमणीय पहाडी श्रृंखला र झुरुप्पझुरुप्पका बस्तीले मनै लोभ्यायो । जङ्गलको बीचभागबाट देखिने विशाल माडीफाँटले प्रोफेशनल क्यामराम्यान खोजेको आभास हुन्छ । आफूलाई तस्वीरकार भन्नेले यो स्थानलाई सायदै देखेका होलान् । बस्ती सुरु भएदेखि बाटो बढारेर सफा बनाइएको थियो । सबैका घरआँगन अचम्मसँग सफासुग्घर र वारीका कान्ला तथा ढिकढाकमा लालुपाते फूलले ध्वजापताका लगाएझैँ राताम्मे बनाएको थियो । सप्तरङ्गी प्रकृतिसँगै देखिए रङ्गविरङ्गी मानिसहरू । उपस्वास्थ्यचौकी राख्ने धोकोमा ओलेसबासीको श्रम र पसिनाबाट बनेको सामुदायिक घरमा मञ्च बनेकाले दर्शकका आँखा त्यतै फर्किएका छन् । बजारिया टेन्ट र पर्दाले घेरेर मञ्च सजाइएको छ । वरपरका वोटविरुवामा धागो बाँधेर ध्वजापताका टाँगिएको छ । मञ्चको पल्लो छेउमा मोटरसाइकिल पार्किङ्गस्थल छ । अझ पल्तिर बारीमा भतेर चलाइएको छ । पाहुनालाई निःशुल्क र दर्शकलाई तीस रुपैँयामा मासुभात, बटुक अचारको अर्नी । सायद यी सबै कुरा यस ठाउँका लागि नौला थिए ।
ओलेसबासीले झाम्रे तथा सोरठी लघुमहोत्सव आयोजना गरेका थिए । सबै गाउँले केटाकेटी, बृद्धबृद्धा, युवायुवती डाँडामा जम्मा भएकाले जल्पादेवि मन्दिर परिसर ओलेसपोखरा भरिभराउ भएको छ । जातिय पोशाकमा झपक्क सजिएर नाच्न तयार भएका कलाकार देख्दा बेग्लै अनुभूति हुने रहेछ । कार्यक्रम सुरु भयो, मगर लवज त्यसमाथि मगरी भाषामा उद्घोषक बोल्दा टाढाटाढाबाट महोत्सव हेर्न पुगेका दर्शकलाई केही खिन्नता भयो । जातियताको नारा दिनले जातिजाति बीचको मेल र सह–संस्कृति बुझेका छैनन् । आफ्ना बाबुबाजे दबाउनेको नातिपनातिलाई राज्यबाटै विभेद गर्नु सकारात्मक विभेद हो भनेर फिंजाइएको प्रचार भने एकतावद्ध समाजको विपक्षमा छ । हेर्दाहेर्दे मादल र मजुराको तालमा ताल मिलाउनेहरू प्रशस्तै देखिए । झाम्रे, सोरठी र कडुवा पाल्पाली मगर संस्कृतिको महत्वपूर्ण अंग हो । सोरठीमा महिलाका कपडा पुरुषले लगाएर मारुनी बनेका थिए, पु¥सुङ्गे र मादलेको ताल बिछट्टकै थियो । गीत र नृत्यको चाल छिटो र ढिलो दुबै थियो । मादले जोशीलो पाराले नाच्दै थिए । गायक मण्डलीमा आठदश जना भए तापनि रौरा एक्लैले सबैको स्वरलाई उछिन्थे । कडुवा नाचमा युवतीहरू घुमीघुमी र ठाउँ साटीसाटी नाच्दै थिए । रात परेपछि परिचय विना प्रस्तुत गरिएका झाम्रेको आकर्षण बेग्लै थियो । भेटघाट, घरबार, चिनाजानी र मायाप्रेमका कुरा गीतका गेडी बनाइने भएकाले पनि झाम्रेमा मगर समुदायको अपनत्व छ । घिरिम्तै बसेर सुख–दुःख र श्रृङगारिक गीत गाउने र दिल खोलेर नाच्ने भएकाले झाम्रे सरस बनिरहेको छ । केटालाई तानितानि सँगै नचाउने र पिठ्यु जोडेर नाचिने भएकाले यो नाच लोकप्रिय छ । सांस्कृतिक विशेषता झल्काउने ओलेसे यी नाच केवल मनोरञ्जनका साधन मात्र थिएनन्, सिंङ्गो समाजको संस्कार र सभ्यता थिए ।
कडुवा नाच हेर्न कति पटक गल्धा, मित्याल र सिलुवा पुगियो । रुप्से, मस्याम, कोलडाँडाको सोरठी धेरै पटक हेरियो । कसेनी, चिर्तुङ्गधारा–गोर्सत, मदनपोखरा–माझामा झाम्रेको मादल सुनेर पटकपटक दौडियो । तर गीत र नाचले कहिल्यै धित मरेन । कुनै कुरा खाएर मिच्छिएझैँ सांस्कृतिक कार्यक्रमको रहर कहिल्यै पूरा हुने भएन । सांस्कृतिक कार्यक्रम वा नाचगानमा सहभागि हुनका उद्देश्य एक मात्र छैन । हेर्नु, देख्नु, घुम्नु र सिक्नु सबैसबै उद्देश्य बन्दछन् । बस्ती, पहाड, कुनाकन्दरा घुम्ने मान्छे धेरै हुन्छन् । कोही सोखले घुम्छन्, कोही काम विशेषले । घुम्दा, डुल्दा परिवेश र वातावरणले मान्छेलाई आकर्षित गर्दछ । नेपालको राजनीतिक नक्साभित्र हिमाली र उच्च पहाडी जीवनका कथा धेरै प्रकाशित भएका छन् । पहाडी र मध्यपहाडी जनजीवनका पीडा, दुःख र कष्टकर भोगाई कमै बाहिर आएका छन् । जीवन केवल दुई छाक खान र एक सरो लाउन मात्रै हैन, कम्तिमा इज्यत र प्रतिष्ठासहित बाँच्नु पनि त हो । थोरै मात्र संवेदना भएका राज्ययन्त्रले मानिसको जीवनयापनमा सुधार ल्याउन पहल गर्नु पर्ने हो, तर खै अनुभूति कहिले गर्न पाउने हुन् ? ओलेसबासीको नपाको दुःख पाएर गरेको महोत्सव त्यस्तै जीवन सुधार र समृद्धीका लागि थियो । बल्लतल्त मोटरबाटो पुगेको गाउँमा बिजुलीवत्ती, स्वच्छ खानेपानी, स्वास्थ्य, शिक्षाको आवश्यकता परिपूर्ति गर्नु नै मुख्य लक्ष्य थियो ।
योजनामा ओलेस नदेखेका जनताले राजनीतिज्ञ र विकासे कार्यकर्तालाई गाउँले जीवन देखाउन चाहेका थिए । निर्वाचनका बेला चर्का भाषण दिने उमेदवार र नेतालाई उनीहरूले आफ्ना असुविधा, अप्ठेरा सुनाउदै थिए । सुनाउने र देखाउने शैली कति ठीक थियो त्यसको समीक्षा नगरौँ । भोट दिएका नेताको नाम धेरै पटक र एक नेतालाई मात्र बोल्न दिनु ठूलो कमजोरी नै थियो । यद्यपी सफलतामा आश गर्नु र विफलतामा साथीसँगी बोलाएर सुनाउनु उनीहरूको सकारात्मक कदम थियो । फाइदाबेफाइदा, नाफानोक्सान के कति भयो आयोजकलाई नै थाहा होला, सामाजिक सांस्कृतिक शन्देशले भने ओलेस गाउँले सिंङ्गो कसेनीलाई स्थापित गरेको छ ।
ओलेसबासीका माग धेरै छन्, चाहना पनि त्यस्तै । हामी पनि घुम्न त मज्जैले घुमियो, गर्न केही सकिएन जस्तो लाग्छ । गाउँलाई समृद्ध बनाउन यस्ता संस्कृति र सभ्यता चाहिन्छ । यी शैलीलाई शुद्धिकरण गर्ने संकल्प चाहिन्छ । जनतामा पर्यटनमूखी व्यवहार र उद्यमशीलता चाहिन्छ । कृषिमा आधुनिकीकरण गर्ने अठोटको चाहिन्छ छ । विकास र अग्रगामी पहलका लागि साहश र दृढताको खाँचो छ । पाल्पा र ओलेसजस्ता गाउँको घुमाइले विविध विषयमा ज्ञान दिएका छन् । अध्ययनको अतिरिक्त वस्तुको अवलोकन र परिवेशको अध्ययन जरुरी हुन्छ । त्यो दुबै डुल्दा घुम्दा नै सिकिन्छ । घुमाइ डुलाई नै एक किसिमको विश्वविद्यालय हो । घुम्नु भनेको देश चिन्नु, सभ्यता, इतिहास, भूगोल र संस्कृति बुझ्नु हो । घुमाईले गाउँ चिन्न र नेपाल बुझ्न सकिएन भने त्यसको केही अर्थ रहन्न । नेपाललाई समृद्ध बनाउन संस्कृति र सभ्यता चाहिन्छ ।
ज्ञानबहादुर सारु ओलेस चिनाउँछन् । कौडेलेक, ओलेसे आलु, अलैँची, लिफ्ट खानेपानी, सोरठी, झाम्रे मात्र होइन तपाईंहरुले कच्चि मोटरबाटो भनेर हेला गरेको सराई ओलेस मोटरबाटोलाई नेपालसँग जोडेका छन् । उनै ज्ञानबहादुरको त्यही दिन निधन भएको रहेछ । कुनै दिन कौडेलेकको जडिबुटी, डाँफे, त्रित्रा, कालिज संझाउनेलाई दुःखका साथ संझन प¥यो । ओलेस, शिकारकोट र कसेनी देखाउनेलाई त्यहीँ कसेनीमा श्रद्धाका साथ चिनाउन प¥यो । उनले एउटा पार्टीको झण्डा र विचार बोकेर त अवश्य हिंडे तर भोट, नोट र खोटको राजनीति गरेनन् । निःशन्देह आस्था राखे, त्यो आस्थाका कारण कहिल्यै विकेक गुमाएनन् । जति बुझे, त्यति सेवा गरे । उनका दृष्ट्रिमा जनता सधै मालिक भए, राजनीतिज्ञ सेवक । त्यसैले गाउँका असल सेवक हुन् ज्ञानबहादुर । ज्ञानबहादुर बिनाको ओलेसको बास र कौडेको हिँडाई खल्लो भयो ।