19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

'बिग बेन र समय': सशक्त बेलायती-नेपाली कविको स्वर

कृति/समीक्षा प्रा. डा.माइकल हट January 18, 2013, 12:57 pm

रुपक श्रेष्ठको यस कविता संग्रहको पहिलो कविता 'बिग बेन र समय' देखि अन्तिम कविता 'मृत्यु सौन्दर्य' सम्मको यस संकलनमा नयाँ पुस्ताको एउटा सशक्त बेलायती-नेपाली कविको स्वर सुन्न पाइन्छ। किताबको शीर्षकको कवितामा भूपी शेरचनले रानीपोखरी छेउको घन्टाघरलाई हेरेजस्तै रुपकजीले मेरो देशको सुप्रसिद्द 'बिग बेन' भन्ने घन्टाघरलाई हेर्नुभएको रहेछ। उहाँले नेपाली आँखाहरुबाट हेर्नु भएको छ अनि कवितामा नेपाली स्वर र ध्वनिमात्र होइन भाषाको मिठास पनि छ। तर यतिमात्र होइन उहाँले आफ्नो यस कवितामा यो सानो द्वीपको लामो इतिहासका अनेक प्रतिविम्बहरुलाई समाविष्ट गर्नुभएको छ। यसले गर्दा यो एकजना विदेशी कविले लेखेको वर्णन जस्तो लाग्दैन, यो एकजना बुझ्ने मानिसको भावनात्मक प्रतिक्रिया हो, एकजना नयाँ बासिन्दाको अभिव्यक्ति।

यसबाट हामी पुराना बासिन्दाहरुले आफ्ना नयाँ छिमेकीहरूका बारेमा केही सिक्न पनि सक्छौं, अनि यसबाट नेपाली साहित्यको एउटा नयाँ धारा पनि बग्न सक्नेछ। चाहे ट्युब यात्रामा रुन लागेकी महिलाको वर्णन होस्, समुन्द्र किनारामा बसेका वृद्दाहरुको वर्णन होस्, यसमा एकजना नेपाली कविको हेराइ भेटिन्छ।

कुनै नेपलली कविले अब म नयाँ परिवेशमा नेपालीमा कविता लेख्छु भन्ने अठोट लिइसकेपछी नयाँ परिवेशबाट झिकेका विषयहरुमाथी मात्रै लेखियो भने त्यो अफसोसको कुरा हुनेछ। कारण नयाँ परिवेशले जन्मभूमीलाई हेर्ने नयाँ दृष्टिकोण दिन्छ। अनि खुशीको कुरा हो, रुपकजीले अब म बेलायती नेपाली कवि हुँ, अब म नेपाली सामाजिक अथवा राजनीतिक कुरामाथि कविता कविता लेख्दिन भन्नुभएको छैन।चाहे आफ्नो जन्मभूमीका हिमालाहरुलाई प्रेम-पत्र होस्, भूतपूर्व राजाको व्यंग्यात्मक चित्रण होस्, यहाँ सात समुन्द्रपारिबाट एउटा नौलो र स्वतन्त्र आवाजको स्फुरण भएको छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।