14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

निर्मोही व्यासको 'बोधिवृक्षको छायामा' पढदा

कृति/समीक्षा सदानन्द अभागी January 18, 2013, 7:02 am
सदानन्द अभागी
सदानन्द अभागी

बेधिबृक्षको छायामा यो तृषित आत्माले शान्तिको प्यालामा शितलता पिउन पाउँदा कस्लाईपो आनन्द लाग्दैन होला ?निर्मोही व्यासले पिएर नै छाड्नु भयो । यस्ता बोधिवृक्षको छायालाई मायागर्ने व्यक्तित्व हुनुहुन्छ –निर्मोहीव्यास । उहाँको जन्म बारा जिल्लाको कलैया भवानीपुरमा २००९साल भदौ ४ गते कुसेऔँसीका दिन भएको थियो । निर्मोही व्यासको खास नाम वेदव्यास उपाध्याय भएता पनि साहित्यमा उहाँ निर्मोही व्यासका रूपमा सुपरिचित हुनुहुन्छ ।

उहाँको अक्षरारम्भ साढेदुईबर्षको उमेरमा आफ्नै पिता नरनाथ न्यौपानेबाट थालनी भएको थियो । कवि निलहरी शर्मा ढकाल र उनका छोरा एक देव शर्मा ढकालले तयार पारेको ‘नेपाली सचित्र ठूलो वर्णमाला’ पुस्तकमा रहेका छन्दोबद्ध कविता पितामाताबाट प्रतिदिन बसिबियाँलोको रूपमा लयदार स्वरमा बाॅचिएका महाभारत भीष्मपर्वका अनुगुञ्जन, देवकोटाको मुनामदन काव्यको आस्वादन नै साहित्य सिर्जनाका प्रेरणा बनेको ठान्ने व्यासजी औपाचारिक अध्ययनको क्रममा संस्कृत, नेपाली, हिन्दी साहित्यका थुप्रै कृतिहरको अध्ययनको साथ नेपाली विषयका आदरणीय गुरु माधवप्रसाद गौतमजीको अध्यापनशैलीबाट प्रभावित भई कविता तथा काव्य लेखनमा अभिमुख भएको पाइन्छ ।

निर्मोही व्यासका प्रकाशित कृतिहरूः–

निर्मोही व्यासले आठबर्षको उमेरमा आफ्नै घरमा पालेको गाईको बारेमा लेखन थालेका भएता पनि प्रथम प्रकाशित रचना नियात्रा सन् १९७० र पहिलो पुस्तककार कृति ‘बेहुली अन्माएको घर कवितासङ्ग्रह(२०३३) प्रकाशन गरी साहित्यिक यात्राको थालनी गर्नु भएको थियो । निर्मोही व्यासका – बेहुली अन्माएको घर (कवितासङ्ग्रह, २०३३), सरिता (काव्य, २०३६), एलबमका पानाहरू (उपन्यास, २०४३), नौ पाइला (नियात्रासङ्ग्रह,२०४६), स्वयम्भूका आँखाहरू ( कथासङ्ग्रह, २०४७),ठोरीको एलबम (नियात्रा,२०४८), झलझली आँखामा (नियात्रासङ्ग्रह,२०५१), सम्भवामि युगे युगे (संस्मरणसङ्ग्रह, २०५३), सेरोफेरो सबै मेरो (नियात्रासङ्ग्रह,२०६१), साँचेको सम्झना (संस्मरणसङ्ग्रह, २०६८) र बोधिबृक्षको छायामा ( कवितासङ्ग्रह, २०६९) गरी ११वटा प्रकाशित कृतिहरू बजारमा आइसकेका छन् । उहाँका अप्रकाशित कृतिहरू पनि धेरै छन् ।

विभिन्न साहित्यकारको नजरमा निर्मोही व्यासः–

व्यासजीको यस कृतिमा ‘मलाई मनपर्ने कविमध्ये एक कवि’ शीर्षकमा राष्ट्रकवि माधव घिमिरेज्यू लेख्नु हुन्छ –‘ कवि निर्मोही व्यास मलाई मनपर्ने कविमध्ये एक हुन् । उनको शैलीको सरलता र भावको तरलताले तत्कालै तत्कालै हृदय स्पर्श गर्र्छ । उनी मृत्युलाई छोएजस्तै गरेर पनि अमरताका गीत गाइरहेछन् र यह क्षणभङ्गुर मानवीय मायामा पनि सचिदानन्दको आवाहन गरिरहेछन् ।’

‘बोधिवृक्षको छायामा सुस्ताउँदा’ शीर्षकमा घनश्याम कँडेल लेख्नु हुन्छ–‘निर्मोही व्यासका कविता सीमित समयका लागि उरालिने नारा नभएर स्थायी मूल्यका छन् । त्यसैले उनको कविता लेखनलाई दोस्रो प्राथमिकतामा राख्नुहुँदैन । कविता लेखनलाई पनि गद्य लेखनलाई जति नै र सम्भव भए अझ बढी समय दिनुपर्छ ।’

‘झनै निर्मोही बन्दै जवाऊ’ शीर्षकमा बूँद राना लेख्नुहुन्छ– ‘सिर्जनामा शालीनता प्रस्तुतिमा आकर्षण निर्मोहीको विशेषता नै हो । निर्मोही व्यास सिर्जनाका सार्थक अभ्यास हुन् ।...उनको सिर्जनामा भरपुर लालित्य पाइन्छ ।’

निर्मोहीका सम्मोही कविता ’शीर्षकमा भानुभक्त पोखरेल लेख्नु हुन्छ–‘निर्मोहीको प्रस्तुत कवितासङ्ग्रह स्वच्छन्दतावादी भावप्रवाहलाई परिस्कारवादी व्युत्पति–चेतनाले सङ्ल्याइएका सर्वाङ्ग सुन्दर रचनाहरूको सङ्कलन हो । बर्तमान क्षणमा प्रकाशित भइरहेका बद्धछन्दी कविता–कृतिकरूमध्ये यो एक नमुना बन्न पुगेको छ । ’

‘सम्पादकीय आलेख’ शीर्षकमा गाॆविन्दराज विनोदी लेख्नुहुन्छ –शास्त्रीय छन्दका कविता र गीतिकविताको सङ्गमका रूपमा रहेको प्रस्तुत कृति ‘सत्यम् शिवम् सुन्दरम्’ को भावनाको अमृतमय त्रिवेणी पनि हो । यस भित्र कवि व्यासको सरल निर्मल, निश्छल हृदयको झर्ना पनि छ र अमानवीय मानव जगत् भत्काउने हुङ्कारमय उर्लदो खहरे पनि छ । ’

कृति को संरचना

बोधी वृक्ष १२० पृष्ठमा रचित कवितासङ्ग्रह हो र यसमा शास्त्रीय छन्दमा रचिएका कविता , गीतिलयमा रचिएका गीति कविता र गजलसमेत गरी जम्मा ५० वटा रचना समावेश गरिएका छन् । सम्पादकीय आलेखमा बरिष्ठ साहित्यकार गोविन्दराज विनोदी लेख्नुहुन्छ – शृङ्गार, शान्त, करुण, वीर, रौद्र, बीभत्स आदि रसहरूको उच्छलन पाइने यस कृतिमा पञ्चचामर, मालिनी, शार्दुलबिक्रीडित, भुजङ्गप्रयात, सग्बिणी, तोटक मन्दाक्रान्त, उपजाती, द्रुतविलम्बित, शिखरिणी, अनुष्टुप आदि विभिन्न बार्णिक छन्दहरूको मनोरम प्रयोग पाइन्छ ।’

कविता भित्र पस्दाः–

मेरो ‘सरत्पूर्णिमा’लाई दर्शनको लागि तड्पिएका कवि ‘म प्यासी सदाको , तिमी हौ पँधेरो’ को राग अलाप्दै ‘म सत्ते ! तिमीलाई भेट्न आएँ’ भन्नुहुन्छ । कविजीले मानवमा सिर्जना, परमसत्ता, परमेश्वर महानताको बाटो छाड्दै रगतको खोलो बगाउँदै स्वार्थमा लम्पट भइ डुङ्ङ गनाएको पाउनु हुन्छ र प्रश्ववाची बन्नुहुन्छ –

जहाँ मानवता रुन्छ त्यहाँ को हाँस्न सक्तछ ॽ

जहाँ प्रलय उर्लन्छ त्यहाँ को बाँच्न सक्तछ ॽ

आजको यथार्थता पनि नेपालमामात्र नभएर संसारभरी नै यस्तै देख्न पाइएको छ । द्वन्दै द्वन्द्वले संसार भरिएको छ । यहाँ मानवता रोएको छ, शान्तिको वातावरण खलबलिएको छ/हराएको छ । आज चारैतिर आतङ्कले सताएको छ । कविको मानवता वादी चिन्त भनॆ दृढ छ, उहाँले प्रस्तुत गन॑ु भएका मानवतावादी चिन्तनले कवितासङ्ग्रहलाई उच्चाइमा पु¥याएको छ । कविले ‘कलाप्रति’ सौन्दर्यता, अमृतबाणी, मनगगनमा भुल्कने प्रीति–किरण विविध प्रभावलाई मुक्तकण्ठले प्रशंसा गर्नुहुन्छ । कविले प्रेमको दीगो, स्वच्छ र जीवन्तता चहानुहुन्छ । स्वच्छ संविधान नै हुन्छ जे हुन्छ त्यो श्रम हो अर्थात श्रमिकको सर्वस्व नै श्रमहो । ऊ आफ्नो लागि नभएर सबैको लागि पसीना बगाउँछ तर उसलाई तुच्छ जात भनिन्छ । यसमा कविजी सहमत हुनुहुन्न र प्रश्न राख्नुहुन्छ–

चल्दैन उसको पानी, पसिना खुब चल्दछ ॽ

पानीको झै पसीनाको जातभात कहाँ छ र ॽ

मानवले मानवप्रति गरिने भेदभावपूर्ण व्यवहारले गर्दा समाजमा खण्डिकरण नित्याएको हो । पसिनाको कुनै जातभात हुँदैन । कविजी भन्नुहुन्छ–

श्रमको अर्चनाभन्दा ठूलो के हुन्छ संस्कृति ॽ

मान्छेप्रति घृणाभन्दा अरू के हुन्छ विकृति ॽ

कविजीले मानवीय मूल्य र मान्ता दीगो भएको देख्न चाहानुहुन्छ । आज त्यस्तो अवस्था छैन जता हे¥यो उतै ह्रास पाइन्छ । यसमा कविजी अति चिन्तित हुनहुन्छ । मानले मानवलाई घृणा गर्नु भनेको ठूलो विकृतिहो । ‘नेपाल र म’मा कविले सारा कष्ट सहेर पनि नेपालप्रति समर्पित रहने धारणा राख्नुहुन्छ । उहाँका कवितामा राष्ट्रियता प्रति उच्चता छ । मान्छेको महक’ कवितामा मानवबाटै सारा सिर्जना भएको र मानव नै स्वयम् हलाहल र स्वयम् अमृत िनमाणॆकारक भएको हुँदा मावनबाटै यो धर्ती अझै रम्य होस् भन्ने धारणा पोख्नु भएको छ । संसारमा पाइने धेरै राम्रा र नराम्रा क्रियाकलापहरू बास्तवमा मानवबाटै सिर्जित हुन् । कविको धारणा कुकर्मको त्याग र सुकर्मको अबलम्बन सबैबाट हुनसकेमा संसार रम्य बन्न सक्छ भन्नुहुन्छ । ‘युवा–गीतमा कविले युवाको जवानी जुर्र्मुराएर उठेमा भोलीको बिहानी सुनौला भएर जाने धारणा राख्नु भएको छ । ‘धिक्कार’ कवितामा कविले २०४५–२०४६ सालमा भारतले नेपालप्रति लगाएको अमानवीए नाकाबन्दीको बेलामा अल इन्डिया रेडियोको नेपाली कार्यक्रममार्फत प्रसारण गरिएको नेपाली मूलका कार्यक्रम सञ्चालकप्रति लक्षित गरि धिक्कारको धारणा राखिएको छ । राष्ट्रियताले ओतप्रोत सबै कविताले मानव मनलाई र मानव मस्तिष्कलाई स्पर्श गर्छ र मानव कर्तव्यको बोध गराउँछ । ‘अठोट’ कवितामा कविले स्नेह, प्रदीप भै जलेर, स्वाभिमान, इमान, प्यार, दीन दुःखीलाई स्नेह दिएर र कंस–वंशलाई कटार दिएर यस धर्तीलाई नुतन प्रभात ल्याउने प्रण गर्नु हुन्छ । ‘अटाओस् सबै विश्व मेरो मसीमा’शीर्षकमा उनको सिर्जनामा सारा विश्वको यथार्थता नै अटाउन सकोस् भन्ने कामना गर्नु हुन्छ । ‘हाँसू, हास्नै भयो गाह्रो’ कवितामा कविले मानव जीवनमा भोग्न गरिएका पीडा–आनन्द–सङ्गम र पूर्णिमाको कोमल उज्यालो र औसीको जस्तो अन्धकारको भोगाइसँग सङ्घर्षरत रहने सुन्दर संसारको रचना बनोस् भन्ने धारणालाई पस्कनु भएको छ ।‘उठौं जुर्मुराई सबै स्वाभिमानी’ आजको नेपालमा देखिएका देश टुक्र्याउने, हत्या, हिंसा, लुट, अन्याय, अत्याचार ,धोका, झूट, आदि विविध अमानवीय, अराष्ट्रिय कर्मसँग हामी सबै जुटेर स्वाधिनताको सुरक्षको लागि अघिबढ्नको लागि अहवान गर्नु भएको छ । ‘सयपत्री फूल्यो फेरि’ यस कवितामा कविले स्नेह–सद्भाव–शान्तिको प्यासी आँतलाई असत्य, अशान्ति, अमङ्गल, मान्छेबाटै मान्छे लत्याइएको र जिउने हक खोसीएको आदिमा कविले प्रश्न राख्नुहुन्छ –

कसरी म परूँ मख्ख हेरी प्रकृतिको छवि ?

प्रताडित जहाँ हुन्छन् श्रमका–सीपका रवि

‘यहाँ प्यारको रोज राज्यभभिषेक’ कवितामा कविले प्रकृतिका/सृष्टिका सबै चिजहरू उनै छन् अर्थात संसारिक कर्म सबै क्रमबद्ध चलिरहेका छन् त्यसो हुँदा–

अहा ! इन्द्रिनीका यिनै सप्तरङ्ग

उमार्दछन् सयौं भावनाका तरङ्ग

मनैमाझ उर्लन्छ हर्षातिरेक

यहाँ प्यारको रोज राज्याभिषेक

‘परिचयहीन’कवितामा कविले आज नेपाली जनताले भोगेको जातिय विभेदलाई पस्कनु भएको छ । बर्माबाट, आसामबाट, भूटानबाट घृणासाथ नेपाली खेदिएकोमा बिदेशी भूमिको बास हुनाको विसङ्गति मानिएला तर–

शरणार्थी भई बाँचूँ कसरी म स्वदेशमै ?

सपना कसरी सोचूँ भुङ्ग्रामा पिल्सिई सधैं ?

‘यसै मृत्तिकामा सधै. रम्न पाउँ ’ कवितामा कविको धारणा प्रष्ट छ कि स्वर्गको बास, नर्कको त्रास, पुनर्जन्म आदि भन्दा पनि स्वयम्मा यो सृष्टि पूर्ण छ त्यसो हुँदा यसै मृतिकाम सधैं रम्न पाउँनु र यसैमा यो जिन्दगी चढाउनु पर्छ भन्ने । ‘ए मेरी चितौन’ कवितामा कविले चितवनको प्रेमले ओतप्रोत कविजी विदाइमा कहिले फर्कने प्रश्नमा यात्री यात्रामा हुन्छ यदि बाडुली लागेमा यो फर्कने छ भन्नॆ धारणा राख्नु भएको छ । ‘सुकुमारी जून’ले लुकी लुकी कविको मन छुन आएकी हँुदा कलेजीमा जुनी जुनी सजाउन र दुबै मिलेर पिरतीको पुल रच्नको लागि खुलेर आउने धारणा राख्नुहुन्छ । ‘मेरी कविता’ मा कवि सत्यम् शिवम् र सुन्दरम्को पुजारी भएको र कविता दिव्यआभा फिँजारी झुल्केकी हुनाले प्रीतिको छहारी पाइरहने अभिलाषा प्रकट गर्नुहुन्छ । ‘तिम्रो मोहनीमा’ यो कवितामा कविले प्रेममा तिमीमा नै जुनी जुनी हराउँ म भन्ने धारणा राख्नु हुन्छ । जीत खोज्दा सधैं हार, सकिएन, प्रभू, बिन्ती, प्यार रोज्दा पीर पाएँ विश्वासको सगरमाथा, यी गजलहरू समावेश गरिएको पाइन्छ । यी गजलहरूले समसामयिक यथार्थताको, स्वार्थको, राजनीति खिचातानी, पीर आदि विविध पक्षलाई समेट्ने प्रयास भएको देखिन्छ । ‘काँडा, पूmल र मान्छे ’मा कविले सहसम्बन्ध देखाउँदै यिनको प्रबृतिगत भिन्नता देखाउन चाहानु भएको छ । मानिसलाई फूलको आयुसँग दाँज्न सकिन्छ तर गुणमा भने काणमाजस्तै अधिकतम् देखिन्छ । काँडा दुच्छर हुन्छ तर पूmलको भने दिल सङ्लो हुन्छ । ‘ओतलाग्न कहाँ जाउँ ? ’ कवितामा आज आदर्शका बरपीपल ढलेका छन्, पासो थापेर चारो थप्ने दानवीर कहलाएका छन्, चमेराकाॆ ‘मामा’ शब्दआज सार्थक छ, सत्यमा लाग्नेहरु आँखाका कसिङ्गर भएका छन्, दिउसै ब्वाँसाहरूको जगजगी बढेको छ,, त्यसोहुँदा बोधिवृक्षको छायामा जीवनको दियो बलोस् या निभोस् भन्दै आएको धारणा राख्नु हुन्छ । कवितासङ्ग्रहको नामाकरण पनि बोधिवृक्षको छायामा यसै कविताबाट भएको छ । ‘म’ कवितामा शरीर सग्लो संरचनाले मानिस आफैमा स्वाबम्बी बन्न सक्छ, कसैको बैशाखी बन्न आवश्यक छैन भन्दै कविको अभिव्याक्ति पढौं–

स्वावलम्बी म, प्यारो छ मलाई स्वाबलम्बन

स्वाभिमानी म, प्यारो छ स्वाभिमान चिरन्तन

‘दुई अनुभूति’ कवितामा कविले आस्था र निष्ठा भएको ठाउँमा प्रतिष्ठा हुन्छ यसैमा प्रीति गाँसेर सिर्जन स्वप्न साँचेर जिउने अभिलाषको साथै उत्साहा मनका गरामा रोपी यस जिन्दगीको अनमोल हार जो खोजेर बारंबार पाइदैन त्यसो हुँदा बसुन्धरामा उल्लास छर्ने धारणा राख्नुहुन्छ । ‘कहाँ छेकेर छेकिन्छ हत्केलाले दिवाकर ?’ कवितामा कविले गरेको कर्ममा कसैले गर्न खोजेको अवरोधले अवरोध पु¥याउन सक्दैन किनकी हत्केलाले सूर्यलाई रोकेर रोक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गनु॑ भएको छ । ‘ एकै ढिक्का भई जुटौं ,’ यो कवितामा कविले जनआन्दोलन सफल पार्नको लागि एक जुट भएर सबै गंगालालहरू ब्यूँतनु पर्ने, कालो जङ्गली राज्यलाई फालेर मानिसको जीवन जिउनको लागि अघि बढ्नुपर्ने धारणा राख्नु’ भएको छ । ‘हत्यारा हो ! तिमीलाई थुक्ने छ इतिहासले’ कवितामा कविले सत्यलाई असत्यले उज्यालोलाई रातले छेक्न सक्दैन । मागेर हक पाइदैन त्यो खोसेर लिन सक्नुपर्छ भन्ने यथार्थता नेपालीले बुझेका छन् र शहीदको रगत कहिलै खेर जाँदेन त्यसो हुँदा यस समयमा गरिएका कुकृत्य, हत्या हिंसालाई इतिहासले थुक्ने छ भन्ने धारणा राख्नु भएको छ । ‘तिम्रो जन्म बनोस्– ‘स्वर्ण अध्याय’ इतिहासको’ यो कविता जनआन्दोलन सफल भए पछि जनताले ल्याएको यो परिबर्तनलाई पोखिएका उद्गारहरू हुन् । यस कवितामा यो परिबर्तनबाट आजका सुनौला सपनाहरू भोलीका गर्विला रविको रूपमा देख्न पाउने अभिलाषाहरूको कामना गरिएको छ ।‘ बस इष्टहरू सम्झी’ कवितामा कविले शहीद सहित सबैको बलिदानबाट ल्याइएको परिवर्तनमा पुराना थान्कालागे पनि नयाँको धूर्तता झन बढी देखिएको, आतङ्क, अशान्ति, लुटपाट बढ्दोरूपमा र संविधान निर्माण गर्नेकाम छाडी, कुकृतमा लागेकोले बढारिने बेला आएको छ इष्ट सम्झेर बस भन्ने धारणा पोखिएको छ । यस कवितामा कविले देश निर्माण गछॆु’ भन्नेहरूले आप्नो कर्तव्यलाई भुलेको र स्वार्थमा डुबेकोमा जनताको भावनालाई समावेशगरी रोष प्रकट गर्नु भएको छ । हेटौँडामा विताउँ कि बाँकी पजिन्दगानी’ यस कवितामा हेटौँडाको पकृतिक छविको बर्णन सहित कविले बाँकी जिन्दगानी बिताउने धारणा मीठो शैलीमा पोख्नु भएको छ ।‘ देऊ भेट सधैं सुटुक्क ’,यो कविता कविले धर्मपत्नी कल्पनाको शोकमा सृजित गर्नु भएको र बडो मार्मिक रूपमा तीन सुशील सन्तती,आकाश–निलु–शरद् दिएर दिवंगत भएकी पत्नीसँगको बैबाहिक जीवनको याद र बिछोडको मार्मिक भावमा पोख्दै आपूmलाई पनि सँगै लैजाने आग्रह गर्नु हुन्छ । ‘अधमरो दिल’ यस कवितामा कविले शोकमग्न भावनालाई वेदनापूर्णरूपमा सम्झन सजिलो भए पनि बिर्सन त गाह्रो हुने र यस्तोमा जिन्दगी नै बोझहुने अति मार्मिक धारणा पस्कनु भएको छ । ‘नहुँदा उनी ’ यो पनि अलमस्तबाट निरस्तमा परिणत भएको अति मार्मिक कविता हो । ‘स्वयंवरको माला’ यस कवितामा पनि कविले कल्पनासँगको जीवनगाथालाई जोडनु भएको देखिन्छ । यो पनि मार्मिक वेदनाले भरिएको छ, कविता । ‘महाकवि देवकोटासित’ महाकवि देवकोटाको प्रति आफ्नो आकर्षण र आदर भावका शब्दद्वारा कविजीको जयन्तीको सम्झनामा लेखिएको कविता । ‘रिसाएकी राधासँग कृष्ण’ यस कवितामा कविले कृष्णजीले रिसाएकी राधालाई उनका सबै गुणलाई केलाउँदै भन्नुहुन्छ–

प्रिया ! सबै कुरा छ छूट प्रीति–संविधानमा

यही नै त रीति प्रीतिको , यही त हो नी जीवन

‘मलाई तिमीले ’ यसमा कविले वेदनाले भरिएको समयमा हात, साथ, मात एकोमा कविले धारणा राख्नुहुन्छ–

तिमी छौ सँगै चन्द्रमैचन्द्रमा छ

जहाँ याद तिम्रो, त्यहाँ पूर्णिमा छ

यहा ! क्या उज्यालो भयो जिन्दगी नै

दियौ रात मीठो मलाई तिमीले

‘ कल्पनालाई चिठी’ कविजीले कल्पना एक महिना माइतमा रहँदामा उनको प्रेममा तड्पिएर जीवन साथी दाम्पत्य जीवन, बर्षा ऋतुको आगमन प्रीतिको तरङ्ग, आदि भावपूर्ण शब्दले भरिएको छ चिठी । ‘बज्छ बीणा त्यहीं’, यो कविता पनि प्रीतिमा नै आधारित छ । प्रीति हो सृष्टिको सार, प्रीतिमानै अडेको सारा जगत भन्दै कविजी भन्नुहुन्छ –

पाइला प्रीतिका रोकिदैनन् कहीँ ।

छिन् जहाँ रागिनी बज्छ बीणा त्यहीँ

‘ मनको डालीमा ’प्रेममा आधारित गीतिलयको कविता हो ।कवि भन्नुहुन्छ –

आरती तिम्रो सजाइ राख्छु दिलको थालिमा

पिरती–पूmल झपक्कै फुल्यो मनको डालीमा

‘तिमी चाँदनीमा नुहाएर आयौ’ यो कविजीको बहुचर्चित गीति कविता हो । यस कवितामा पनि प्रेम प्रणयले गहिरो स्थान ओगटेको छ । यहाँ कविजीले पोखेका केही हरफ हेरौं–

तिमी चाँदनीमा नुहाएर आयौ

तिमी फूलमा मगमगाएर आयौ

सजाएर घुम्टो सितरा भरेको

सितारै भई झिल्मिलाएर आयौ

तिमी चाँदनीमा नुहाएर आयौ

‘आगनमा आज मेरा प्रियतम आए’ यस कवितामा प्रियतमाले प्रियतमलाई आप्mना भावना, धारणा, आफ्नो आगनमा आएर सुनाउन पाएकोमा खुसीको सीमा छैन भन्ने धारण पोखिएको छ । यो यस कवितासङ्ग्रहको अन्तिम कविता हो ।

यस कवितासङ्ग्रहको बारेमा माथी लेखिएका साहित्यकारको अभिव्यक्तिहरू बाटै कवि र कविता प्रतिको धारणा प्रष्टरूपमा आइसकेको छ । कवितासङ्ग्रह भित्रका कविताको साधारण मर्म र भाव त माथी मैले केलाउने प्रयत्न गरेको छु तापनि यसमा समावेश गरिएका कविताहरू अति सारगर्भित मार्मिक भावपूर्णा छन् । यस कविता सङ्ग्रहमा के छ भन्नुभन्दा पनि यसमा के छैन भन्न सकिन्छ । राष्ट्रप्रेमको सन्देश बाहक, अमरप्रेमले तथा दीगो प्रेमको प्रवाह, कर्तव्यबोधी धारणले भरिएका विविध भावनाले छरिएका, विकृति विसङ्गति र र भ्रष्टचारप्रति तीक्ष्णव्याङ्गले भरिएका, विद्रोह, जनआन्दोलनलै ल्याएको परिर्वतन र त्यसमा जननेताले चाहेको परिर्वतनको प्रतिफलमा नेताहरूको स्वार्थपूर्ण कर्मले गर्दा उपलब्धीहीन अवस्था, देशले भोग्न परेको हत्याहिंसा अराजकता विश्वशान्तिको कामना आदिले भरिएका छन् कविताका उद्गारहरू । कवितामा भाषाप्रयोगको सरलता, अर्थालङ्कार, छन्द, लय, रस, अनुप्रास, यमक, आदिले सुसंयोजनपूर्ण प्रयोग भएकोले कवितासङ्ग्रह, स्तरीय, पठनीय, अनुकरणीय भएको मेरो ठम्याई छ । अतः यस्ता गहन कृतिका कृतिकारलाई धन्यवाद दिंदै विदा चाहान्छु ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।