‘सिद्धान्त रटाउने
पुस्तक होइन। सिद्धान्त बुझाउने
पुस्तक लेख्नु पर्छ, होइन र?’
हाम्रो बहस हुन्थ्यो। एकान्त कोठामा।
पूर्वीय सिद्धान्त...
पाश्चात्य सिद्धान्त... अनि.....
...................... हाम्रो सिद्धान्त।
दुर्दर्शी हेरेर भविष्य...।
स्नातकोत्तरमा
हुँदा, नसुती-नसुती
फलामको चिउरा
चबाउन खोज्ने मेरो मित्र.......
• निधारमाथिको
चिल्लो डाँडामा हेरेर
• परेलामुनिको
अँध्यारो खोपिल्टामा हेरेर
• ओँठमाथिको
बुरूकबुरूक उफ्रिँदै गरेको
फुलाङ रौँको लहरमा हेरेर
मैले भन्नै
सकिनँ !
अरस्तु बाजेको
पोइटिक्स रट्टा मार्ने तिमी नै हौ!
‘हिजको
भविष्य आज हो। एनिमेसनले धेरै उन्नति गरेको समय।
तिमीमा असर परेको छ।’
गफ दिएँ...
गम्फुसको टेबलमा
तातो मोमो खाँदै।
‘यै अक्षर
हो, हामीलाई समाजमा
लडाउने अनि उठाउने। अक्षर चिन्न पर्छ है !’
पृष्ठेवंश भएर
उभिएको संकुचित समाजको डर,
हाम्रो गिदी छाम्ने
गर्छ। ज्ञात हुन थालेदेखि नै।
रूखको पातमा
झुण्डिएको हाम्रो
भविष्य। थाहा छैन
अक्षरले विन्यसक्रममा,
लेख्छ कि लेख्दैन ! साफीय कलम जाबो।
मरिमेटेर बाउको
भुत्ते नङ्ग्रा, बारीको किप्याड ठोकिरहेको छ।
आमाको डोँठे औँला, अक्षरको यूनिकोड खोजिरहेको छ। अझै पनि
बिहान आँखा देखेदेखि,
बेलुकी नदेखेसम्म।
तर,
धारणात्मक धरातलमा
फेरो लगाउने, अक्षर र कलम अझै पनि, टुकी नै बोकेर तिम्रो शब्दको चिरफार गर्छ। इमर्जन्सी वार्डमा ड्रेसिङ हुन्छ, पात पहेंलिएपछि। त्यस दिन सिद्धान्तहरू घुम्नु गएको हुन्छ- उसको घरबाट। बाहिर, धेरै टाडा। जहाँबाट त्यसले जन्म लिएको हो। सिद्धान्त त एउटा शब्द मात्र हो, जीवनलाई सैद्धान्तिक बनाउन खोजेर कहाँ हन्छ र...। यो त परिस्थितिसँग मेल नखाने कुरा हो।
नसोच
मित्र, उसको हँसाइमा पनि
एउटा अर्थ छ ।
जसरी
तिमीले त्यस दिन,
सपना देखेर रमाएको थियौ। त्यस्तै...।
रुएको जस्तो हास्यो... ऊ
अबको शिक्षा
पैसा हो। पैसा नै शिक्षा हो। पैसा नै तिमी हौ, पैसा नै म।
गरीब र धनीको
तराजुमा तौलने वस्तु।
तिमी होसियार
बस................
..................
शिक्षा,
तिमीलाई डिप्रेसन बनाएर
जान्छ। समाजदेखि अलग गराएर जान्छ।
परिवारदेखि टाडा राखेर जान्छ। अनि पाएर सबै गुमाएपछिको तिम्रो अनुहारमा
टल्किँदै गरेको हास्नु र रूनुबीचको अभिव्यक्तिलाई प्रथमतः
म नै पागल भन्छु।
किनभने
पागललाई चिन्ने
अरू को हुन्छ र...?
............ पागल नै हुन्छ....।