14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

माटोको गन्ध

कविता प्रवीण खालिङ January 25, 2013, 1:51 pm

मेरो हजुरबाको नङ्ग्रीले खोर्सिएपछि

उनको हजुरबाको विर्ता मौलिएको हो

उसरी नै मेरो बाले यही माटोमा

जीवनको पानी नउम्रने बाँझोमा

अरूले शीत ठान्ने पसिना भए

अरूले रीत ठान्न असिना सहे।

बाकै पौरखले देश हिँड्ने भयो

बाकै पसिनाले देश धान भयो

बाकै रगतले सीमाना पर्खाल भयो।

आफ्नो सन्तानको रगतको आहाल टेकेर

माटोको टिका लगाएर पौरखको बलमा

मेरो बाले अरूलाई आफ्नो भन्न खोजे

देशमा आफ्नो अधिकार रोजे।

माटोको मायाले नै उनको हातमा झण्डाको लट्ठि थामियो

झण्डीहरू मक्किन्दै गए

झण्डीहरू च्यातिन्दै गए

झण्डीहरू फेरिन्दै गए

यत्ति हो बाको माटो प्रेम र सङ्कल्पको लट्ठी ठाँडै रह्यो।

बाहरुको उपस्थिति संविधानलाई थाहा छ

बाहरूको वीरता देशलाई थाहा छ

तर जब माटोको गन्ध सुँघ्न चहान्छ

संविधान अन्धो हुन्छ, देश बहिरो हुन्छ

तरै पनि बाको विचार ढल्दैन

दबाउ र शोषणले बज्रजस्तो उनको हड्डी गल्दैन

बरू

प्रत्येक सम्झौताको घातमा

मुट्ठी कसिलो पार्छन उनी कञ्चनजंघाको फेदमा।

त्यसबेला तिक्खर भएर आउँछ माटोको गन्ध

अझ तिख्खर भएर आउँछ माटोको गन्ध।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।