19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

देश र किरा

कविता बासुदेव पुलामी February 15, 2013, 8:23 pm

देशको मानचित्र जस्तै छ

उसको नाङ्गो करङसितको छात्ती।

सर्व शिक्षा अभियानको

घोटालाले पिल्सिएको छ उसको जीवनको साउँअक्षरहरू

त्यसैले उसले कहिले जानेन

अ वर्णमालाबाट अधिकार

र आ वर्णमालाबाट आरक्षण बोल्नु।

स्कुल, ऱ्याम्स, सुग्घर लुगाफाटा र घेघेरानीहरू

उहिल्यै नै फ्याक्ट्री र कारखानाहरूले चोरेर लगिदिएको हो

जीवनमा कहिल्यै नफर्काउने गरी।

भोक, तिर्खा र पसिनाले लेख्छ उसले

देशको स्वादिलो तलतल

त्यसै स्वादमा जिब्रो पढकाएर खान्छ देशले खैनी उसकै रगतको अलिकति चुना दलेर।

ढुङा, रोडा र बालुवामाथि

घस्रिरहेको त्यो नाङ्गो सिगानेकिरा लाग्छ देशलाई त्यसको रूप

तर त्यो रूपबाट देखिने देशको प्रतिबिम्बलाई हेर्ने राष्ट्रपतिकोमा चस्मा छैन।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।