14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

तिम्रो याद आइरह्यो

कविता प्रवीण खालिङ February 15, 2013, 2:29 pm

तिमी

घुम्तिदेखि उता गएपछि

सम्झना मात्रै राख्न सकें

बाटो भरि पैयुँको फुलहरूमा माया हाँसिरह्यो

सारंगीले मुटु रेटेको धुन गाइरह्यो

साँच्चै तिम्रो याद आइरह्यो।

हिमालको मुन्तिर उभिएर खाएको कसम

टिस्टा-रंगीत साक्षी अमर बगिरह्यो

नदीलाई कसले सम्झाउने वारि पारि किनार हुनुको नियती

पानी पानी भएर बग्छ मनको पिरती

साँच्चै पानी भयो हाम्रो माया

कहिले घाम कहिले छाया।

तिम्रो झ्यालबाट देख्ने कंचनजंघाले

प्रत्येक बिहान घामको हातले सिउँदो रंगाउछ

मायाले नै त हो रंगीतले टिस्टालाई दङ्गाउँछ

घुर्किहरूमा पनि एकतमासको ढुकढुकी हुन्छ

सोच त सम्झनाहरूले मन कति छुन्छ ?

नेटो काटिगएपछि

तिमीले छोडिराखेको सम्झना छाम्दैछु

यादहरूमा दिन रात गन्दैछु

बकेनाको बोटमा न्याउली रोइरह्यो

तिम्रो याद आइरह्यो।

तिम्रो याद आइरह्यो।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।