19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बिहानैको दार्जीलिङ

कविता लेखनाथ छेत्री February 15, 2013, 8:34 pm

थाप्लोमा

एकै खित्का उज्यालो

हाँस्न नपाई

कुइरोको घुइँचोभित्र निस्सासिएर मर्छ

बिहानैको कलिलो घाम ।

मन्दिरमा

घण्टिको चर्को आवाजले

हठात च्यात्तिन्छ

इश्वरको आँखा अनि देख्छ-

दिनदिनै लामो हुँदै गैरहेको

असंख्य प्रार्थनाहरुको लाम ।

हात थापेर

थोपा थोपा जीवन माँगिरहेका

ती भिखारीहरुलाई

मानौं थाहा छ-

कि मन्दिरअघि नैं दयालु देखिन्छन्

मान्छेहरु,

मन्दिरअघि नैं मान्छेहरु

मान्छे जस्ता हुन्छन् ।

काखमा खेलिरहेको अवोध बुद्धको

छात्ती फुटाउन

हुत्तिएर आउँछ चिसो हावाको जुलुस ।

उसैको

स्वास निचोरेर निस्किएको

छिपछिप रगतले

तिर्खा मेट्छ यो शहर ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।