थाप्लोमा
एकै खित्का उज्यालो
हाँस्न नपाई
कुइरोको घुइँचोभित्र निस्सासिएर मर्छ
बिहानैको कलिलो घाम ।
मन्दिरमा
घण्टिको चर्को आवाजले
हठात च्यात्तिन्छ
इश्वरको आँखा अनि देख्छ-
दिनदिनै लामो हुँदै गैरहेको
असंख्य प्रार्थनाहरुको लाम ।
हात थापेर
थोपा थोपा जीवन माँगिरहेका
ती भिखारीहरुलाई
मानौं थाहा छ-
कि मन्दिरअघि नैं दयालु देखिन्छन्
मान्छेहरु,
मन्दिरअघि नैं मान्छेहरु
मान्छे जस्ता हुन्छन् ।
काखमा खेलिरहेको अवोध बुद्धको
छात्ती फुटाउन
हुत्तिएर आउँछ चिसो हावाको जुलुस ।
उसैको
स्वास निचोरेर निस्किएको
छिपछिप रगतले
तिर्खा मेट्छ यो शहर ।