आँधीसँगै कोमल मनहरू उडे
आँसुको कुरूक्षेत्रमा ।
यतिखेर
हिउँको सिरानीमा सुतेका झरनाहरूले
लफ्रक्कै भिजेका छन् पर्वतहरू
नदीको छहारीमा लुकेका छन्
वसन्नतका आह्लादित बगरहरू
यहाँ आँधीबाटै गल्तीहरू भएका छन्
सम्बन्धको घुमाउरो बाटो
डुल्दै हिँडेका चेतनाहरूलाई
थुनेर कारूणिक पिँजरामा
सभ्यताका अस्पष्ट छायाँहरूमाथि
तैरँदै गरेका सङ्घर्षहरूलाई
फ्याँकेर हृदयको भुमरीमा............. ।
लाग्छ, यसै घडी
तानाशाह भएको छ आँधी
उसले अझै गर्न बाँकी क्रूरताहरू तोड्न
म भने
खेतको कान्लामुन्तिर
चन्द्रमाले चम्केका हाँगाहरूमा
खोज्दैछु.... आँधीका आँसुहरू
एकनाससित
अरूले नदेख्ने उज्यालो भएर....... ।