तिम्रो नाममा
के लेख्न सक्छु र , म अरु ?
प्रेम पत्र बाहेक !
गीत लेख्छु -प्रेमपत्र बन्छ
कबिता लेख्छु -सम्मोहन बन्छ
आख्यानहरु - प्रेमाख्यान बन्छन्
प्रेमालाप बन्छन् - गजलहरू
मन किन पग्लन्छ यसरी
संधै-संधै तिम्रो समिपमा
मैन जस्तै !
अक्षरहरुलाई जब-जब म
आराधना गर्छु तिम्रो नाममा
जुन् उदाउछ -आँखामा
गुलाब मुस्कुराउछ -हृदयमा
तिम्रो मुहार एकतमासले
सुम्सुम्याउन थाल्छ अक्षर
फिका- फिका लाग्छन्
विश्वविख्यात प्रेमकथाहरू
ओपेरा जस्तै लाग्छन्
चल्तीका प्रेमगीतहरु
साह्रै-साह्रै नादान लाग्छन्
दुनियाका प्रेम जोडीहरू !
आफ्नै प्रेमको
स्मारकनेर उभिएर
जब जब म ताजमहल सम्झन्छु
खेलौनाजस्तै लाग्छ
त्यो ताजमहल मलाई !
ओ !
मेरी प्रियतमा !
हृदयको बाँसुरीले
प्रितको अनुष्ठान्
कति प्रिय हुदोरहेछ
जिन्दगीमा !
तिम्रै बाहुपासमा
लहराजस्तै बेरिएर
जब चलिरहेछ यो जिन्दगी
तिम्रो नाममा के लेख्नु छ र मैले
जब मेरो नाम पुरै तिम्लाई दिएको छु
मैले ताप्ने घाम पुरै तिम्लाई दिएको छु
सुम्पेको छु यो हृदय तिम्रैलागि
हृदयको त्यहि पानामा
अजम्बरी अक्षरले
जब केहि लेखूँ भन्छु म
तिम्रोनाममा
सत्ते ,तिम्रो कसम
जैले जहाँ लेखे पनि प्रेमपत्र बन्छ
खै , के लेख्न सक्छु र म तिम्रो नाममा
प्रेम पत्र बाहेक !