19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिम्रो नाममा

कविता र्इश्वरमणि अधिकारी February 24, 2013, 8:19 pm

तिम्रो नाममा

के लेख्न सक्छु र , म अरु ?

प्रेम पत्र बाहेक !

गीत लेख्छु -प्रेमपत्र बन्छ

कबिता लेख्छु -सम्मोहन बन्छ

आख्यानहरु - प्रेमाख्यान बन्छन्

प्रेमालाप बन्छन् - गजलहरू

मन किन पग्लन्छ यसरी

संधै-संधै तिम्रो समिपमा

मैन जस्तै !

अक्षरहरुलाई जब-जब म

आराधना गर्छु तिम्रो नाममा

जुन् उदाउछ -आँखामा

गुलाब मुस्कुराउछ -हृदयमा

तिम्रो मुहार एकतमासले

सुम्सुम्याउन थाल्छ अक्षर

फिका- फिका लाग्छन्

विश्वविख्यात प्रेमकथाहरू

ओपेरा जस्तै लाग्छन्

चल्तीका प्रेमगीतहरु

साह्रै-साह्रै नादान लाग्छन्

दुनियाका प्रेम जोडीहरू !

आफ्नै प्रेमको

स्मारकनेर उभिएर

जब जब म ताजमहल सम्झन्छु

खेलौनाजस्तै लाग्छ

त्यो ताजमहल मलाई !

ओ !

मेरी प्रियतमा !

हृदयको बाँसुरीले

प्रितको अनुष्ठान्

कति प्रिय हुदोरहेछ

जिन्दगीमा !

तिम्रै बाहुपासमा

लहराजस्तै बेरिएर

जब चलिरहेछ यो जिन्दगी

तिम्रो नाममा के लेख्नु छ र मैले

जब मेरो नाम पुरै तिम्लाई दिएको छु

मैले ताप्ने घाम पुरै तिम्लाई दिएको छु

सुम्पेको छु यो हृदय तिम्रैलागि

हृदयको त्यहि पानामा

अजम्बरी अक्षरले

जब केहि लेखूँ भन्छु म

तिम्रोनाममा

सत्ते ,तिम्रो कसम

जैले जहाँ लेखे पनि प्रेमपत्र बन्छ

खै , के लेख्न सक्छु र म तिम्रो नाममा

प्रेम पत्र बाहेक !

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।