17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

मान्छेको जात

कविता गोकुल भण्डारी March 2, 2013, 5:29 pm

जन्मिन्छु र आँखा खोल्छु

अनि म जात हुन्छु

पाउंछु केहि रङहरुमा

पाउंछु केहि आकारहरुमा

पाउंछु केहि संस्कारहरुमा

रमाउनलाई पुग्ने भतेर र जात्राहरुमा |

तर अटाउंदैन जिन्दगीको यात्रा जात्राहरुमा

हिंड्दै जांदा केहि फाल्छु

केहि राख्छु, केहि बटुल्छु

म हुर्किन्छु अनि सन्जात हुन्छु |

जात, सन्जात र बिजात हुँदै मेरो जात

कायापलट गरिरहन्छ विश्व रङमन्चमा

संजोग, बाध्यता र अवसरसँगका मल्ल युद्धहरुमा |

म भित्र जात रहला नरहला, बिस्तारै जातभित्र म रहन्न

दोस्रो पल्ट आँखा खोल्छु

र कर्मको खेतमा आफ्नो जात आफै रोप्छु

तर नितान्त एक्लो, अब भतेर र जात्राहरु छैनन्

रङहरु छैनन्, आकारहरु छैनन् |

म नापिन्न अब

मेरा आँखाका गोलाई र नाकका उचाईहरुले

बाबुको बिंडो र आमाका जिब्रोहरुले

मेरो छालाका श्याम श्वेत रंगहरुले

बिन्ती छ मलाई फैलन देऊ |

पहिलोपल्ट मलाई नाप,

मान्छे हुनुको तराजुमा

मैले एक्लै हिंडेका गोरेटाहरुमा

आफैले कोरेका मेरा धर्साहरुमा

त्यसपछि म मर्छु र निर्जात हुन्छु

कसैको याद र केहि संवाद हुन्छु

हाल: क्यानाडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।