अपुष्ट पोखरीमा
ढुङ्गाहरु हानेर भर्ने प्रचेष्टा
गएका दिनहरु सम्झनाका माइलपोष्टहरु हुन्छन्|
छपलक्क एउटा रोडा- त्यसबेलाका दिनहरु......
-गएका दिनका पोट्रेट यादहरुको फ्लाशब्याक|
रोडाहरु बितेका दिनका
वर्तमानको तलाऊमा फ्याँकेर पुष्ट हुनलाग्दा तलाऊ
पोखिनुपर्ने पानी|
यद्यपि के-ले हो ओवरफ्लो रोकिराखेको!
कुन एउटा ढुङ्गा पुगेन पानीले पोख्न!
कुन एउटा स्मरण पुगेन रोडामा निशान खोप्न!
त्यतिबेला कुन कुरा अधुरै छोडियो?
र शायद अपूर्ण वर्तमान?
विगतले वर्तमान निर्धारित गरेको कुन कुरा खोज्दैछु जो इतिहास बनियो|
त पो मेरा अपूर्णताहरु गणनायोग्य हुनेछन्|
नत्र फाटेको विगत
नासिलाको वर्तमान
उध्रिरहने भविष्य कसको हुँदैन र!
अपुष्ट पोखरीमा ढुङ्गाहरु हान्न छोड्नु हुँदैन|
आउने र जाने दिनहरुमा निरन्तरता सम्झनाको मात्र हुन्छ|
कतै एउटा सडक होलाकतै एउटा यात्री|
यात्रीमा एउटा यात्रा, यात्रा मा एउटा लक्ष्य|
लक्ष्यमा एउटा चाह होला, चाहमा एउटा कारण|
अपूर्णता हिंड्दा जब पूर्णताले गिल्ला गर्छ
तब पो आक्रोशमा उठ्ने हातले टिपेका रोडाहरुले
लक्ष्य हटेर यात्रामा यात्रीले जब
सडकको किनारमा भएको पोखरीमा
समस्त विगतका अनुभूतिलाई बाँधेर भविष्यको रोडा हान्छ
तब त त्यो तलाऊको पानी पक्कै पोखिन्छ|
पंचगानी, महाराष्ट्र