19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सपनाको फिरौती

कविता विजय देवकोटा April 12, 2013, 7:09 pm
विजय देवकोटा
विजय देवकोटा

ए नयाँ ख्वामित !

म संग्रामे दर्जी !

बिर्सीस्यो होला,

मुक्तिको लालचा देखाउँदै

मेरो कहर फुटाएर यहाँले

स्यानेलाई सहीद बनाईसेथ्यो

मेरो जीवनको अन्तिम आफन्त

मेरी स्वर्गीय दर्जीनीको अन्तिम निशानी

बलीबेदीमा जर्बजस्ती होमेर

यहाँले सजिलै भनिसेथ्यो ः दर्जी कमरेड !

तिम्रो स्याने तिम्रै सपनाको खातिरदारी बन्यो ।

नयाँ ख्वामित !

कम्ता मुटु खुम्चिएको थिएन त्यो रात

कम्ता हात काँपेको थिएन त्यो प्रहर

ख्वामितको कृपाले सहीद भएको मेरो स्याने

ती पुराना ख्वामितका जंगेहरुलाई

भुत बनेर तर्साउन पुग्यो रे

त्यसैले, आए तिनै र

मेरा बुढ्यौली करङमा लात्ती बर्साएर

महाराजको जय भने

भुल्भुली रगत छादेर मैले

झन्डै परमधामको यात्रा थालेथें

नयाँ ख्वामित !

त्यतिखेर मैले हँजुरलाई

बेहोसीमा पनि नजिक देखिन ।

के दिईन मैले यहाँलाई

भएभरको एउटै सम्पती

मेरो बाबुको नासो

त्यो फलामको कल बन्दुक बनाउन दिएथें,

मेरी दर्जीनीका पुराना फरियाभित्र

मेरा स्यानेका थोत्रा कमीजहरु खापेर

यहाँका निम्ति डसना बनाएथें,

मेरो खोरको बुँचो काटेर

ख्वामितका भक्तहरुलाई दशैं ख्वाएथें,

मेरो झुपडीको जग भत्काएर

ख्वामितका सत्संगी जोगिने गुफा बनाएथें ।

नयाँ ख्वामित !

मेरो पुरानो कलले छाड्ने धागोजस्तै

मसिना आशाका त्यान्द्राहरुमा अडिएर

आजसम्म जसोतसो मन बुझाउँदै थिएँ,

कहिले मेरो स्यानले गुमाएको जोवनको ब्याज सम्झँदै

कहिले ख्वामित र यहाँका सत्संगीहरुको

मिठापाने बात केलाउँदै

जसोतसो मन थामेथें ।

तर ख्वामित !

हिजोको त्यो अलच्छिना विहान

बलेनीको खाँबो समाएर बलेसी झर्दै गर्दा

मेरो खुट्टो काँप्यो

त्यो भन्दा बढी मन काँप्यो ख्वामित !

त्यो नयाँघरे हडपप्रसाद सामन्ती

मेरो आँगनमा उभिएर

हँजुरको किर्ती सुनाउँदैथ्यो

ख्वामित ! हो रहेछ ः

हँजुरको किर्ती सारै फैलिएछ

त्यो किर्तीसामु मेरो स्यानेको बलिदान

कुकिर्ती भएछ

हडपप्रसादको भन्दा भव्य

हँजुरको बंगलाभित्र मेरो के राज चल्थ्यो र

त्यसैले फर्किएँ बाहिरबाटै

र यो सडकमा लम्पसार परेर

ख्वामितलाई म हात फैलाउँदैछु ः

ख्वामित ! अब धेरै कुरा नगरी

हँजुरले हिजो लिनुभएको

मेरो सपनाको फिरौती

मलाई नै फिर्ता गर्नुस् ।

पन्द्रुङ ३, जराङटारी गोरखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।