19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छाला

कविता सुवास खनाल April 12, 2013, 7:12 pm

हेर्ने हो भने

छाला फुकाएर

देखिनेछ

अहम्को टाकुरी भएको मुटु

क्रोधको कणहरू बोक्ने रगत

प्रतिक्षण स्वार्थको स्वासप्रश्वासमा टिकेको फोक्सो

कुटिलताको बिउ लहराइरहेको मष्तिष्क बगैँचा

मरुभूमिमा दारूण उभिने क्याक्टसको

हाँगा र काँडाहरू जस्तो अस्थिपञ्जर

देखिनेछ

विचारको कोष हत्यामा संलग्न

कुनै अभ्यस्त अपराधीझैँ विद्वेषको ट्युमर

छालाभित्रै

बोकेर हिँडेको छ मान्छेले

कुनै अँध्यारो सुरुङझैँ

एकएक लालचको पेट

र छालाले नै छोपेको छ साराका सारा

जीवनको कालो रङ्ग

उभेर चौकमा

मूल्य तोक्नेहरू छन् छालाको

सेतो छाला सबैभन्दा महङ्गो

कालो छाला सबैभन्दा सस्तो

वा

कालो छाला सबैभन्दा महङ्गो

सेतो छाला सबैभन्दा सस्तो

गहुँगोरो – औसत

वा जस्तो पनि

कारण

छालाको मूल्यले मान्छेको मूल्य बोक्ने युग हो यो

छालाभित्र सुहाएको छ

सबैको आआफ्नो स्वरुप

निकाल्ने हो भने छाला

संसारको सर्वाधिक कुरुप

देखिनेछ –

यो युगको मान्छे ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।