मेरी प्रेमिका –
मलाई न आकासका जून तारा झार्न भन्छिन्
न वल्लो भूगोलदेखि पल्लो भूगोल सार्न भन्छिन्
जैलेदखि प्रेम गरेँ –
अटुट छ हाम्रो सम्बन्ध
कसम त हामी ले पनि खाएका छौँ
बन्धनको बार त हामीले पनि लाएका छौँ
घाम–पानी, हावा–हुरीका सयौँ चोट हामीले पनि सहेका छौँ
र पनि
तिक्तता छैन हाम्रो सम्बन्धमा
सदा हामी एक भएका छौँ ।
मेरी प्रेमिकालाई प्रेम मन पर्छ
तर पे्रम दिवसमा उपहार, कोसेली ,सौगात
वा गिफ्टको फर्मायसी सरप्राइजको
कुनै डिमाण्ड छैन
मेरी प्रेमिकालाई डेटिङको डेट
मोबाइलको एसएमएस, कागजी फूल ,
चिल्ला ग्रेटिङ कार्ड र इन्टरनेटको भेटप्रति कुनै अनुराग छैन
सदाबहार–उनी मलाई प्रेम गर्छिन्
सदाबहार–म उनलाई प्रेम गर्छु ।
हामी आजन्म एकाकार भई बाँच्ने
साँच्चै मार्मिक कसम खाएका छौँ
त्यसैले त एक पल पनि छुट्टिनु परेको छैन
अहिलेसम्म प्रेमिकाबाट ।
यस्तो खबर सुनेर नगर्नू –
हामीबीच तगारो तेस्र्याउने प्रयास कसैले
नबुन्नू योजना–
हामीबीच सम्बन्ध बिच्छेदको ।
हेर्दै जानू–
यो कुनै भावनाको
कथा, गीत , गजल, कविता वा रङ्गीन चित्र होइन
हेर्दै जानू–
यो सर्कस, नाटक वा चलचित्र होइन
आओस्–सात सगरमाथा उचाइको चुनौती
म कसम तोड्न सक्तिनँ
यात्रा मोड्न सक्तिनँ
म प्रेममुक्त हुन सक्तिनँ
बरू परे – आगो निल्न तयार छु
समुद्र सुकाउन तयार छु
हामीले हाम्रो प्रेमको विशाल आकार पार्नुछ
हामीले हाम्रो प्रेमको सपना साकार पार्नुछ
यो हो प्रेम–ञ
पवित्र प्रेम
दिलभित्र छ
दायाँबायाँ छ
यात्रामा छ
स्वासमा छ
मुटुमा छ
धुकधुकीमा छ
रगतमा छ
जगत्मा छ
मेटेर मेटिन्न हाम्रो नङ–मासुको गहिरो नातो
म नेपाली प्रेमी
मेरी प्रेमिका ‘ नेपाली माटो ’ ।
भैरहवा, रूपन्देही