16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

छानी छानी भ्रष्टलार्इ

कविता सुरेन उप्रेती April 13, 2013, 3:47 am

छानी छानी भ्रष्टलार्इ, कालो मोशो दल्दै

गाँउ टोलबाट त्यागौं ,तीनका करतुत खोल्दै

त्यस्ता सँग वोल्न बन्द ,संगत कुरै छोडौं

अर्म पर्म लेनदेन जस्ता, व्यवहारनै तोडौं

विना कुनै श्रम अनि, विना व्यवशाय

राता रात धनी बन्छ, भने महासय

विना चिठ्ठा, सम्पतिको,लाग्छ भने ओइरो

पक्कै चाला निको छैन, खनौं त्यसको खोइरो

अरूलार्इ ढाँट्ने, ठग्ने, झुटाकाम गर्ने

कालो धन थुपार्नलार्इ, जसो पनि गर्ने

नैतिकतालार्इ बिर्सिएर ,व्यभिचारी बन्दै

सोझा सिधा अल्मल्याउँछ,मै हुँ अशल भन्दै

सुकिला र राम्रा लुगा, कसरी त्यो किन्छ

कहाँबाट ल्याँउछ पैसा,सित्तै कस्ले दिन्छ

तस्करी पो गर्दै छ की ,शान केले ल्यायो

तलव भत्ता,व्यापार हो की,सब यो कहाँ पायो

आफ्नो पदको दुरूपयोग, गर्दै कमायो की

गुदपाकमा,हिलो ,धुलो,मुसा मिसायो की

नकावलगाइ,साँझ विहान वन्दुक देखायो की

डरत्राश, धम्कि दिंदै, हप्ता उठायो की

कामदारलार्इ पैसा नदी,महल ठड्यायो की

विदेश पठाइ दिन्छु भन्दै, सोझा भुल्यायो की

यो काम त, हुँदै हुन्न, भन्दै घुष खायो की

नेता,मन्त्री , नाम भाँज्दै, पैसा उठायो की

जागिर लगाइ दिन्छु मत, मन्त्री मेरो मामा

आइजिपी र सेनापती ,भेट्न जान्छिन् आमा

सचिवकी कान्छी सालि भन्दै मेरी सासू

ठगिंए की सोझा ,सिधा, बगाउँछन् आँशु

जमिन अरूको देखाएर ,पैसा कमायो की

श्यालको सिङ,खाग गैंडाको, भन्दै झुक्यायोकी

विकाश गर्ने बजेट ल्यार्इ ,कागज मिलायो की

कर्मचारी सँग मिल्दै बैंक नै डुवायो की

पेट्रोल र मट्टितेलमा, पानी मिसायो की

व्यापारको सामान भन्दै, गाँजा पठायोकी

ट्रक भित्र,सुन राखि भन्सार कटायो की

सुरक्षा दिइ तस्करलार्इ नै बाहिर पठायो की

पुलिस आफैं झोला बोकी, भन्सार तर्न सक्छ

डलर, ड्रग्स तारे पछि,हिस्सा भर्न सक्छ

त्यहि रकम सेतो बनार्इ, राजपो गर्दै छ की

दान पुण्य गर्छु भन्दै नाटक रच्दै छ की

पुल बाटो बनाउँदा, सिमेण्ट कम हाली

ओभरशेर र इन्जिनियरलार्इ ,थोरै चारो फाली

बजेट फर्श्योट गराएर, बाटो खान सक्छ

धारा ,बत्ती मात्रै राखि नाला लान सक्छ

भ्रष्टचारले देश खायो,पस्यो व्वाँशोसरी

कहिलेकाण्ड धमिजा त हाउडा ,लौडा, गरी

सुडान काण्ड,दरबार काण्ड, भण्डारी र आश्रित

पिस्कर,छिन्ताङ, सेतीबगर काण्ड अनेक त्रसित

खोर्इ खोजेको ,हत्यारालार्इ चिन्छौं भन्थे नेता

आज किन स्वर फेर्छन, खोज्दै छन् के कता

कतै आफैं नाटक रच्ने, खेलाडी त हैनन् ?

रिमोटमा काम गर्ने ,मशिन बन्या छैनन् ?

टनकपुरमा अरब ,खरब नाफा आउँछ भन्थे ।

पाँच बर्षमा देसले पुरै मुहार, फेर्छ भन्थे ।

खै त्यो ? खरब कता गयो,कस्ले निल्यो नाफा

अहिले भने नेता चुप्प, किन फेर्छन् भाका

गण्ढक,कोशी टनकपुरले हुन्छ झिलिमिलि

सम्सद बाटै पारित गरेथे रातारात मिलि

तर आज देसले किन किन्नु पर्छ इन्धन

जनतालार्इ ढाँटी ढाँटी हालेका छन् बन्धन

देसका सोझा महिलालार्इ ,जागिर दिने भन्दै

कोहि बम्बै, कोहि खाडी, विदेश लाने भन्दै

दुखपाछन् विदेशमा सुख होला भन्दा

घर फिर्न सक्या छैनन्, रातदिन गर्छन् धन्दा,

ती हुन दुष्ट मान्छेलार्इ, पशुसरी बेच्ने

कालो धन कमाउनलार्इ ,नाना नाटक रच्ने

झन ती ठूला दुष्ट हुन जो, संरक्षण दिने

खरावलार्इ जोगाएर , मोटो रकम लिने

लुट्न सक्छ पदमा पुग्दा ,मन्त्रीपद नै ओडी

कमिशनली आफन्तका, नाममा जग्गा जोडी

सात पुस्ता ससुरालिका ,सातपुस्ता घरका,

अनि पैसा थुपार्दछ,बैंकमा,विदेश भरका

विश्वभरी संजाल फिंजार्इ, नेपाली धन खोजौं

कहाँ कति नाममा कस्का, राख्या छन् त्यो बुझौ

नेता,सचिव,मन्त्री,प्रमुख ,कोहिनी छुट्नु हुन्न

नेपाली छन् भोक भोकै ,एकले लुट्न हुन्न

भ्रष्टचारी कसैकोनी आफ्नो पर्नु हुन्न

उसको जात,धर्म अनि, पार्टी हेर्नु हुन्न ।

एउटा आलु खराव भए बोरै सखाप पार्छ

पुस्तौं सम्म सन्ततीको भविष्यै विगार्छ ।

छानी छानी भ्रष्टलार्इ कालो मोशो दल्दै

गाँउ टोलबाट त्यागौं तीनका करतुत खोल्दै

त्यस्ता सँग वोल्न बन्द ,संगत कुरै छोडौं

अर्म पर्म लेनदेन जस्ता व्यवहारनै तोडौं

अटवा, क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।