बसेको छु गजधम्म
पलेटी कसेर म
वेगवान समयको ढाँडमाथि बेपर्बाह
अचम्म !
यो भित्तो हिंडिरहेको छ
भौतारिएका छन झण्डै झण्डै
निरुद्देश्य नै भएर यी हिम्मती औंलाहरु
समयसापेक्ष यो
चेप्टो नेप्टो हुँदै गएको फेशनेबल पृथ्वीमाथि
यसमा पनि अँट्न नसकेर
अनन्त व्रह्माण्डको अनन्ततामाथि
यता
कहिल्यै नतिर्खाएको तिर्खा छ आँतमा
कहिल्यै नभोकाएको भोक छ मनमा
नियालीरहेका छन्
सिङ्गो विश्वलार्इ केवल एक मुठ्ठी भित्र
पलक मार्नै बिर्सेर यी जिज्ञासु आँखाहरु
मानौं कि
नभेटि नहुने कुनै अनमोल बस्तु हराएको होस्
केही कुरा बिर्से झैं गरेर
लठेब्रो एरो
हरेक क्लिकमा रोक्किन्छ
दुःख पाउछन् केही शब्दहरूले
एक दुर्दम अनुभूति, हरेक ‘कर्सर’ अघि उदाङ्गिन्छ
एक प्यास जीवनको
शब्द−पाइलै पिच्छे मेटिन्छ
कुनै ठूलै प्राप्तीको एक दौड हो यो — मैले मानें
भन्नोस् कुनै महत् गन्तव्य
अनौंठो इतिहास रच्दै
आमूल क्रान्तिको सङ्केतमा
कोलम कोलममा
स्टेटस स्टेटसमा
इन बक्स भरि भरि
स्क्रिन भरि भरि
हर तस्वीरहरूमा
इन्क्लाब मच्चाउदै
कसैले नहिंडेको यात्रामा निक्लेको छ यो भित्तो
यहीं भित्तो हो
जहाँ पुङ न पुच्छरका घरेलु ब्वाँसोहरु
बेसरम खुल्ला बजारमा निक्लेर
खोक्ने गर्दछन्
यो यही भित्तो हो
जहाँ हक्की चोरहरू
बेसरम दिनदहाडै जेब खोतल्ने गर्दछन्
र यो यहीं भित्तो हो
जहाँ मानसिक सन्तुलन गुमाएका विरामीहरू
बेसरम नै मनोविज्ञानका भाषण छाँट्ने गर्छन्
आफ्नो टाउको भन्दा ठूला ठूला
दर्शनका प्रवर्तक भइटोपल्ने गर्दछन्
यस अघि ‘उनी’ को पनि त कुनै अस्तित्व थिएन ...
रमिता हेरिरहेको छु म ट्वाल्ल
यहीं कतै विलुप्त छ मेरो अस्तित्व
हिंडिरहेको छ, बस हिंडिरहेको छ यो भित्तो
अचल छु, चलायमान छ यो भित्तो
अचाक्ली सुस्ताएको छु, बोलिरहेछ यो भित्तो
कसैले ब्यक्त गर्न नसकेको कुरो बोल्न ?
कसैले खोल्न नसकेको मुख खोल्न ?
हरे हरे !
म खिइरहेको छु, उ बाक्लिरहेछ
म खुम्चिइरहेछु, उ तन्किरहेछ
म मौन छु उ चिच्याइरहेछ
म पनि के कम ?
मूक छु तर बोलिरहेको छु
आँशुहीन छु तर पनि रित्तिरहेको छु
सन्नाटा पाउछन् मेरा वरपरकाहरू
जहाँ खित्का छोडिरहेको हुन्छु
साँच्ची, गर्दन काटिरहेको छु म समयको
म मृत समयमाथि साँढे
गजधम्म बसेर पटक पटक उङ्न थालेको छु यसरी
समय मलार्इ छोडेर हिंडिरहेको छ अनवरत
अनवरत
अनवरत
र अनवरत
तर पनि, यहींबीच कहीं कतै
एक सार्थक जीवनवृत्तिको आभाष छ
मनमा कहीं कतै एक नजानिंदो आनन्दानुभूतिको बास छ ।