डुवर्स् १
सिंचुला सन्धि[1]को ताबीज हातमा बाँधेर
लिजमा साटिएको आफ्नो परिचय खोज्दै
घरि बक्साफोर्ट[2]
घरि राजाभातखावा[3] डुलिरहन्छ ।
सुनकोसको बगरैबगर
तिस्ताकों फाँटभरि / तोर्सा[4]को गड़तीरमा
सहोदर र आफन्तको पाइलाको डोब खोजिबस्छ ।
थर र गोत्रबिना
नामहीन नामसँग
बाँच्नुको ब्यंग्य भोगिरहेछ ऊ / र
चिन्हारीको प्रमाण-पत्र खोजिबस्छ
घरि कालेबुङमा
घरि फुन्सोलिंगमा ।
2
छात्तीमा एउटा गहिरो घाव
र मनमा एउटा संताप बोकेर
चिन्हारी खोज्दै बाँच्नुको नियति भोगिरहेछ ।
मानेको पातमा अड़ेकों शीतको थोपाजस्तों सपना साँचेर
अनिद्राका रातहरू काटिबस्छ ऊ।
के भयो कोनि
हिजोआज
उसको स्वर र सूरमा आफ्नो गीत छैन
उसको बाटोमा गति छैन
उसको पाइलाको आफ्नो डोब छैन ।
असंख्य ऐतिहासिक तक्माहरू
छातिमा झुण्ड्याएर
नलराजाको किल्लामा सशस्त्र उभिएको छ अतीतमोहमा
कही सुनकोसको प्रवाहमा खुँड़ा पखालिएको
स्वप्नमा आत्मलीन् छ ।
·
3
डुवर्स-2
चियाको मुनामा
कति खोजिसक्यो उसले सुखका सपनाहरू
तोर्साको लहरलाई
कति सोधिसक्यो भाग्यका खबरहरू ।
किन आउदैन मुम्बईबाट फर्किएर हाम्री सोमरी
कहा हराई हाम्री मंगली दिल्लीको जंगलमा
शोकमग्न ऊ चहारिरहन्छ
जलढाकाको बगरमा ।
लकआउटको चटयांगले त्रस्त ऊ
खाने थालमा हच्कन्छ
साहेबको गिद्धे आँखाले
छोरीको नाङ्गो आङको एक्सरे लिएर
रातको सपना तताउँदा
निरही ऊ ईश्वर फलाक्छ –
‘हे ईश्वर ! गरीबको बैसलाई दुँवाली थुनेर
के ढदिया भर्छौ ?’
जान्दैन ऊ
ईश्वर मालिकको अधिनमा छ ।
[1]॰ ११ नोवेम्बर १८६५ मा ब्रिटिश भारत र भूटान राजा बीच भएको सन्धि ।
[2] ॰ कामतापुरका प्रथम शासक संगलदीपले सत्रौ शताब्दिको मध्यमा निर्माण गरेको किल्ला, जस्लाई १९३० पछि अंग्रेज़हरुले बंदी गृहको रुपमा प्रयोग गरे, सुबासचन्द्र बोसलाई पनि यहाँ राखिएको थियो ।
[3]॰ भूटान शासनबाट मुक्त भएपछि कूचबिहार का महाराजा ढोईराजेन्द्रले भोजन गरेकोस्थान ,कूचबिहारका महाराजासँग भूटानका राजाले मैत्रीपूर्ण भोजन लिएको स्थान ।
[4]॰ नदी ।