मलाई आजकल कविता गर्नु भनेपछि
जिरिंग जिरिंग भएर काँडा ऊम्रिन्छ|
दिनभरि प्लटहरु भेट्छु अनि छयाप्प मोबाइलमा सेभ गर्छु
तर मलाई राती यी पल्टहरुमाथि कविताको कुनै ठोस महल उठाउन थाल्दा थाल्दै
अल्छी, मान्छे र काम, सत्यापन, भेट-भ्रमण र टेलिभिजनजस्ता अनुत्पादमूलक कामको
भूइंचालोले बनिन्दै गरेको मेरा कविताका महलहरुलाई हल्लाइहाल्छ|
अनि होस् बरु, घरैमा गएर गर्छु कविता- लाग्छ|
घर पनि आफु शहरमा बसेको सिमेन्टको झरीमा चाहिं होइन
जहाँ प्रत्येक सब्जी गराइमा
आफुले गाउँ छोडेको पाप गोजीबाट कराउने गर्छ,
घामले पनि पस्न नमान्ने शहरको त्यो घरको कुरा गरेको होइन
सुकाएका लुगाको पानी चुहेर कुनै नेताको गाडीमा पर्ने डर
त्रासले वास गरेको अनि सहकालले वनवास गरेको
रहरबिनाको शहरको घरको कुरा गरेको मैले होइन|
मलाई त मेरै गाउँकै घरको झ्यालबाट
माल्दाईले कान्लामा घाँस खुर्केर काटेको हेर्दै कविता गर्न जाउँ-जाउँ लाग्छ|
मलाई आजकल गाउँ सम्झेपछि
कस्तो-कस्तो भएर आउँछ|
छातीको गहिरो दहमा भुमरी परेर लेदो र झिक्राको एउटा बिराट गोला
उक्लिँदै घाँटी च्याप्प समाउन पुग्छ
अनि मनका भेलले दिमागका रिल फ्लासब्याक घुमाउँछन्|
गाउँ कस्तो भयो होला???
प्रेयसीलाई पत्र पोस्ट गरेर पैले-पैले
पिपलको फेदमा पत्रको उत्तरको कस्तो पर्खाइ हुन्थ्यो!
ऐले गाउँका ठिटीहरु एस.एम.एस प्याक सकिंदा एक मुट्ठी डुकु सडकमा बेचेर रिचार्ज गर्दा होलान्,
मर्दा र पर्दा, व्रतबन्धनमा र बिहेमा उर्लिने गाउँ कत्ति हाइ-फाइ र हाइ-टेक भयो होला!
सीतारामको गाडीमा एक किलो माछा किन्न पठाउने काइँली ऐले
बिहे भएर कुनै बजारमा आफै माछा बेच्दै होली,
मनमायाकी छोरीलाई समातेर काँधमा बोकेको ऐले आफैले नानी पाई होली|
घाँस-दाउरा गर्दा बिसाउने डांडा पनि ऐले ट्याक्सी स्ट्याण्ड भयो होला,
गाउँ यस्तै कस्तो भएको हुनुपर्छ ऐले|
यत्ति चाहिं भन्न सक्छु कि कविहरुका कविताहरुमा गाउँ बसेको होइन
अपितु गाउँहरुमा कविहरु र तिनका कविताहरु बसेका छन्|
X X X
आफ्नो सरकारी गाडीलाई ठूलो भीडमा थन्क्याएर
एकपल्ट उइल्येइकै बसगाडीमा चडेर
यसपाला पक्कै म घर जान्छु
अनि यी प्लटहरुमा महल उठाइ छाड्नेछु|
सिक्किम (भारत)
(अप्रेल ०९, २०१३, गेजिंग )