परिचय
मौन आकाशकी गजलकार हुनुहुन्छ राधिका कुँइकेल (खनाल) । राधिका कुँइकेलको जन्म २०३३ साल अश्विन १६ गते समुद्रटार –४, नुवाकोटमा, पिता शिवप्रसाद कुँइकेल र माता दमयन्ती कुँइकेलकी सुपुत्रीको रूपमा भएको थियो । उहाँका श्रीमान, पिता शर्मानाथ खनाल र माता इन्द्रकुमारी खनालका सुपुत्र, उत्तमराज खनाल हुनुहुन्छ । राधिका राजघाट स्वास्थ केन्द्र गौशाला, काठमाण्डौमा कार्यरत हुनुहुन्छ । साहित्यिक अवद्धता हाम्रो मझेरी साहित्य प्रतिष्ठान, चितवनमा विशिष्ट सदस्यमा छ भने संलग्नतालाई हेर्दा टे«ड युनियन काँग्रेशको अध्यक्ष, नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि, विभिन्न गैरसरकारी संघ–संस्थाको सदस्य हुनुहुन्छ । प्रकाशित कृति मौन आकाश गजलसङ्ग्रहको साथै फेसबुक र विभिन्न पत्रपत्रिकामा गजल प्रकाशन भएको अध्ययन गर्न पाइन्छ । उहाँ भारत, चाइना, थाइल्याण्ड र सिङ्गापुरको वैदेशिक भ्रमण गरिसक्नु भएको छ । राधिका कुँइकेल एउटी गजलकार मात्र नभएर समाजक्षेत्र र राजनीतिक क्षेत्रमा समर्पित भएर लाग्ने नारी पनि हुनुहुन्छ । यस गजल सङ्ग्रहमा साहित्यिकमात्र नभएर सामाजिक क्षेत्र र राजनीतिक क्षेत्रको पनि प्रभाव परेको देखिन्छ ।
गजलकृतिको संरचना ः–
मौन आकाशको प्रकाशन उत्तम खनालले गर्नु भएको छ । गजलसङ्ग्रह १५१ पृष्ठको छ । गजलमात्र १०९वटा छन् । यस गजलसङ्ग्रहमा धेरै गजलकारहरूको अभिव्यक्ति र शुभकामनाका सन्देशहरू पढ्न पाइन्छन् । यस कृतिले नेपाली काँगे्रस केन्द्रिय सदस्य अजुन नरसिंह केसी, नेपाल ट्रेड युनियन काँग्रेस– स्वतन्त्रका अध्यक्ष लक्ष्मण वस्नेत, नेपाल निजामती कर्मचारी संघका अध्यक्ष शोभाकर रेग्मी, बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, बरिष्ठ गजलकार खगेन्द्र गिरी कोपिला, र राजेन्द्र खडकाले शुभकामना दिएका छन् भने स्नेहाशीर्वाद दिनेमा बरिष्ठ गजलकार धनराजगिरी हुनुहुन्छ । बरिष्ठ गजलकार ऋषिप्रसाद लामिछाने गोर्खे साइँलोले मौन आकाशमा पुष्प वृष्टि गर्दै हुनुहुन्छ भने ऋचा लुँइटेलले राधिकालाई मौन आकाशको गजल यात्रामा भेट्नु हुन्छ । यस गजलसङ्ग्रहको भूमिका लेख्नु भएको छ– हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलि । पुष्पजीले यस गजलसङ्ग्रहको विवरणात्मक विश्लेषण गर्नु भएको छ । राधिकाको यो पहिलो कृति हो तर यसले विवरणात्मक भन्दा कलात्मक, भावनात्मक भन्दा यथार्थ परक धाराणालाई बोकेको छ । गजलकारको र मेरो बीचमा साक्षत्कार त हुन सकेको छैन तर पनि हाम्रो मझेरी साहित्य प्रतिठानले आफ्नो रजत महोत्सवमा विमोचन कार्यक्रमम ाआमन्त्रणमा सहभागी हुने मौका पाएको थिएँ । उक्त अवसरमा यो कृति हात परेकोले पढें, गजलका शेरहरूले मनलाई छोयो दुई चार शब्द कोर्न मनलाग्यो र विवेचनाको रूपमा आफ्ना धारणा पोखेको छु ।
मानव जीवन संघर्षले भरिएको छ । संघर्षशील जीवनमा मानवले लगनशीलता र सिर्जनशीलतालाई साथमा बोकेर धैर्यता र क्षमतालाई अभ्यासरत गराएर अघि बढ्छ भने त्यस्तो व्यक्तिले सहजै आफ्नो यात्रामा सफलता हाँसिल गर्न सक्छ । राधिकाका गजलले यस्तै सन्देश दिन्छन् । गजलका शेरहरू व्यवहारिक छन् । यथार्थ जीवनका घटनामा आधारित, समसामयिक, देश जनताले भोगेका घटनाक्रमलाई राधिकाले टपक्कै टिपेर गजलका शेरहरूमा लपक्कै टाँसेको देखिन्छ । ।
राज्यको बर्तमान यथार्थता र गजलकार ः– आज देशमा मानवले मानवप्रति गर्ने मानवीय व्यवहारमा ह्रास छ । एउटा व्यक्तिले अर्को व्यक्तिमा गरिने विस्वासमा संकट छ । मानव मूल्य र मान्यता, देशको संस्कृति र सभ्यता, मानव अस्तित्व र मानवको गन्तव्यको मार्ग आज कता कता संकटमा परेको भान हुन्छ । हरेक क्षेत्र नियाल्दा तहसनहस भएको पाइन्छ । जनताले टुलु टुलु हेर्न शिवाय अरु के नै गर्न सकछन् र ? । यस्तो जटिल परिस्थितिमा गजलकारको कलम भने तिखारिएर आएको छ –
दन्किएको राप सही बाँचीरा’छन् जनता
दुनियाको ताप सही बाँचिराछन् जनता
गजल –३० पृष्ठ ३०
तहस नहस छ देश कानुनविहीन छ राष्ट्र पनि
त्यही कथाको सेरोफेरो सङ्गठित छ मौन आकाश
गजल १, पृष्ठ १
आज राष्ट्र र राष्ट्रियताको नाराभित्र स्वार्थ लुकेको छ । नारीका वेदना, पीडा र गरिबीले सत्तिएको समाज, जताततै हत्या र हिंसाले गर्दा त्रसिद समाज आदिको विवरणले भरिएको मौन आकाशमा नारीवादको स्थान उच्च छ । मानवीय संवेदना, सामाजिक परिवेश, प्रेममा शिष्टता र स्पष्टता, समाजका हरेक क्षेत्रमा सम्लग्न व्यक्तित्वहरूको कर्तव्यको बोधलाई पनि समेट्ने प्रयास भएको पाइन्छ गजलसङ्ग्रहमा ।
प्रकृति र पुरुष मिली बनेको सृष्टिबीच
किन महिलाको मात्रै निराश भो जिन्दगी
गजल ४९, पृष्ठ ४९
पितृसत्ता हावी भयो युगौयुगसम्म
सही कार्य गरे नि उपहास भो जिन्दगी
गजल ४९, पृष्ठ ४९
प्रेमप्रणय र गजलकारः–गजलकारले गजलसङ्ग्रहमा प्रेमलाई पिलाउने चिज होइन भनेकी छन् । बास्तवमा प्रेम अन्तरआत्माबाट बीजाङ्कुरण हुने चिज हो । यो आफसेआफ हुन्छ । प्रेममा हाँसो हुन् छ, रोदन हुन्छ, जीवनको ओराली र उकालीसँग निरन्तरताको दिगोपन हुनुपर्दछ , प्रेम अनन्त र अमिट हुुनुपर्दछ ।
आफै हुन्छ माया प्रीति पिलाउने चिज होइन
बालुवामा पानी राख्दा विलाउने चिज होइन
गजल २०, पृष्ठ २०
हलचल हुन्छ मुटु आगो बल्छ मनभरि
कपडाझै शरीर छोप्न यी लाउने चिज होइन
गजल २०, पृष्ठ २०
देश, संविधान र गजलकारः–
आज देशमा भनिन्छ विदेशी हस्तक्षेप बढी रहेको छ । देशका सीमास्तम्भहरू ढलिरहेकाछन्, मौन देखिन्छन् साशकहरू, भन्छन् कोही सगरमाथाको उच्चाई बढीरहेछ अनि कोही भन्छन् उच्चाइ घटी रहेछ बास्तवमा देश आज लुट्टिइरहेछ र गजलकारको मनमा असह्य पीडाको ज्वारभाटा चलिरहेछ र प्रश्न निस्किन्छ–
कस्को निर्देशनमा चलिरहेछ यो देश
आतङ्कको आगोमा बलिरहेछ यो देश
बर्गीय आन्दोलनलाई थाती राखि
जातीय आन्दोलनले जलिरहेछ यो देश
कागजी होइन अन्तर मनमा विधान हुनुप¥यो
काम माम दिएर हुन्न आत्मसम्मान हुनुप¥यो
बास्तवमा माथि पोखिएका भावनाहरू हरेक नेपालीका भावना र प्रत्येक नेपालीका चाहना र माग हुन् जुन निरुत्तर छन् ।
राधिका कुँइकेलका यी गजलहरूमा देश बोलीरहेछ, गरिबको चित्कार गुञ्जीएको छ राष्ट्र राष्ट्रियताका भावनाले भरिएको छ, समावेशी आवा निस्किएका छन्, गजलको नियमलाई अङ्गालिएको छ, नारीवादी चिन्तनलाई उचालिएको छ, बर्तमान सामजिक यथार्थको कसौटमिा उभिएर गजलकारले नारीहस्ताक्षरमा एउटा रहरलाग्दो गजलसङ्ग्रहलाई प्रदान गर्नु भएको छ जो स्वयम्मा प्रशंसनीय, अनुकरणीय र पठनीय छ त्यसको लागि गजलकारलाई मुरी मुरी धन्यवाद छ ।अर्को गजलसङ्ग्रहछिटो पढ्न पाइयोस् त्यसको लागि स्वागत छ ।
धन्यवाद
२०७० बैशाख ७ गते, कावासोती, साँढ