18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

कल्पना पौडेल ‘जिज्ञासु’को ‘भावनाका भेलहरू’ गजलसङ्ग्रह हेर्दा

कृति/समीक्षा सदानन्द अभागी May 11, 2013, 3:16 pm
सदानन्द अभागी
सदानन्द अभागी

कल्पना पौडेल ‘जिज्ञासु’ पिता टिकाराम पौडेल र माता मनिकर्ण पौडेलकी सुपुत्री हुनुहुन्छ । उहाँको जन्म वि.सं.२०३२ वैशाख २९ गते वाग्लुङ्ग जिल्ला छिस्ती गा.वि.स.मा भै हाल गैडाकोट –४ नवलपरासीमा बसोबास गर्ने भए पनि कार्यक्षेत्र इजरायलमा भएको देखिन्छ । उहाँका ‘भावनाका भेलहरू’ गजलसङ्ग्रह यही२०६९साल फागुन २६ गते हाम्रो मझेरी साहित्य प्रतिष्ठान, मझेरी पत्रिकको स्वर्णाङ्क समारोहमा विमोचित भएको थियो । सोही अवसरमा मलाई प्राप्त भएको थियो । अध्ययन गर्दा केही प्रतिकृया लेख्ने जिज्ञासा जागेकोले भावनाका भेलहरूमा मेरा पनि भावानाका भेलहरू बगाइदिएको छु । कल्पना पौडेल विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखाकी कार्यकारी सदस्य हुनुहुन्छ साथै गजल लेखनमा आफ्नो सकृयता दर्शाउने सकृय गजलकार हुनुहुन्छ । उहाँका अभिव्यक्तिहरू फेसबुकमा पनि धेरै पढ्न पाइन्छन् ।

कृतिको संरचना ः–यो कृति १२२ पृष्ठको छ । प्रकाशन ऐरावती प्रकाशन अद्वैत मार्ग काठमाण्डौले गरेको र मूल्य रु १५०÷– व्यक्तिगत र संस्थागत ३००÷– राखिएको छ । ९९वटा गजलहरू यसमा समावेश गरिएका छन् । गजलसङ्ग्रहमा ४शेरदेखि ६शेरसम्मका गजलहरू रचित भए पनि ५ शेरका गजलहरूको वाहुल्यता छ ।

गजल सङ्ग्रहमा विभिन्न व्यक्ति तथा संस्थाहरूको धारणाः– कल्पना पौडेल जिज्ञासुका यस कृतिप्रति तपशीलका केही साहित्यिक अनुरागीका एकदुई हरफहरू यसप्रकार छन्– इजरायलका नेपाली राजदूतावासका राजदूत प्रल्हादकुमार प्रशाई लेख्नुहुन्छ– ‘गजलसङ्ग्रहमा प्रस्तुत कतिपय विचारहरू लेखकका निजि देखिन्छन् । यी विचारहरूप्रति सबै सहमत हुनुपर्छ भन्ने छैन ।’ प्रा.डा. श्रीधर गौतमले लेख्नुहुन्छ –‘ कल्पनाको देशभक्ति अपार छ भन्ने भावानाहरू गजलमा यत्रतत्र छन् ।’ हाम्रो मझेरीसाहित्य प्रतिष्ठानका अध्यक्ष पुष्पअधिकारी अञ्जलि लेख्नुहुन्छ– ‘मनभित्रको आँधी, बतास, कौतुहलता र अनेक छटपटी र पीडाहरूमा सिङ्गो पहाड उभ्याएकी छिन् ।’ मूख्य भूमिका लेखनमा ‘भाव र विचारको सुन्दर संयोजन भावनाका भेलहरू शीर्षक दिएर देवी नेपालले यस गजलसङ्ग्रहको चिरफार गर्नु भएको छ । देवि नेपाल लेख्नुहुन्छ ः–कल्पना विचार , संवेदना र करूरुणाकी गजलकार हुन् । उनी भित्र स्पष्ट प्रगतिवादी विचार छ ।’ एउटा आशा लाग्दो प्रतिभाको शीर्षक दिएर दलवीर सिंह बराइली “घायलले” ले यस ग जलको सम्पादन गर्नु भएको छ । उहाँले लेख्नु हुन्छ –.‘.. । जसमा आफ्नो प्यारो जन्म भूमि, घरपरिवार, आफन्त बालबच्चा चाडपर्व छाडी प्रवासमा बस्नुपर्दा पीडा भावलाई निकै मार्मिक ढङ्गले गजलमा जताततै पोखिएका छन् । मन्तव्यका केही शब्द शीर्षकमा कल्पना पौडेल “जिज्ञासु ” लेख्नुहुन्छ– ‘यो विदेशी भूमिमा आफ्नो देश र परिवार भन्दा टाढा बस्दा आफ्ना भधावना र अभिव्यक्त गर्ने माध्यम गजल बन्न पुग्यो ।’

गजलभित्र पस्दा

कल्पनाका ९९वटै गजलहरू सरसर्ती अध्ययन गर्दा गजलमा विविधता पाइन्छ । गजलहरू शिष्टरूपमा प्रस्तुत गरिएका छन् । आज देशका युवा युवती देश छाडेर विदेशिन बाध्य छन् । यस्तै बाध्यताबाट विदेशिएकी कल्पनाका गजलहरूले गरिबी, बाध्यता, विवशता, पीडा र संवेदनाका स्वरमात्र नभै देश परिवार, धर्म कर्म, सबैमा अथाह प्रेमको सुधारस छर्दै आफ्नो गजलको पृष्ठभूमिलाई, सजाएकी छन् । दलवीर सिंह बराइली घायलले सम्पादन्को क्रममा एउटा सुन्दर अभिव्यक्तिमा परिस्कृतको धारणा राख्नु भएको छ । मैले पनि उनका गजलहरूलाई विविध क्षेत्रहरूमा बर्गीकरण गरी अध्ययन गर्न सकिने ठम्याएको छु ।

प्रगतिवादी धारणा राख्ने गजलकारः– कल्पनाका गजलमा हामी प्रगतिवादी सोचमा ओतप्रोत भएको पाउँछौं । आजको राजनीतिले गर्दा देशले काँचुली फेर्न सकेको छैन । देशले धेरै क्रान्ति भोग्यो । कुनै पनि क्रान्तिले पूर्णता पाउन सकेन । देशमा धेरै रगत बग्यो धेरै जना सहिद बने । क्रान्तिकारी स्वभावकी कल्पनाले गजलमा पोखेका धारणालाई हेरौं –

उठौं अव जनता सबै रातो झण्डा बोक्दै

अमर ती सहिदलाई लालसलाम ठोक्दै(गजल (२३, पृष्ठ४४)

सहिदका सपना आज अधुरै रहे । देशले संविधान पाउन सकेन शोषकले श्वषितलाई शोषण गरेकै छन् । देशमा भएका क्रान्तिले शान्ति र प्रगति दिन सकेन । जनजागरणको आवश्यक्ता छ । सार्थक आन्दोलन चाहिएको छ कल्पनालाई यही सार्थक आन्दोलनमा कल्पनामा राष्ट्रिय चिन्तन र राष्ट्रिय स्मरण पनि जागृत भएर आएको छ –

सूर्य र चन्द्र राष्ट्रिय झण्डा झुक्दैन कहिल्यै

जलको धनी नेपाल हाम्रो टुट्दैन कहिल्यै (गजल१, पृष्ठ २२)

समाजिक क्षेत्र र गजलकार मानिस जन्मदा नाङ्गै जन्मिन्छ अनि मर्दा पनि नाङ्गै पारिन्छ । मानव मानबीचको भेदभाव त मानव बाटै सिर्जना गरिन्छ । मानिसको अहम्ता नै जसले ठूलो र सानो जातमा बर्गीकृत गर्छ । धनि र गरिबमा बर्गीकृत गर्छ । सबै शरिर मासपेशी र हाडले बनेको हुन्छ रक्तसंचारको निरन्तरताले शरीर चलेको हुन्छ सबैको रगत रातै हुन्छ । मानवले मानवलाई घृणा गर्द छ समाजमा देखिने घृणाले विकृति जन्माउँछ । कल्पनामा विकृति हैन सवल समाजको, छुवाछुत मुक्त समाजको चाहाना छ । कल्पनाले दलितमा आदरभाव पोख्छिन् –

काटे रगत बग्छ सबैको नसाबाट

तल्लो जातको भनी गला सेर्दा मन दुख्यो

गजल ७८ पृष्ठ ९९

धन्य ईश्वर राखिदियौ दिन अनि रात यहाँ

मनुष्यले आँफै राखे ठूलो÷ सानो जात यहाँ

कल्पनाजी लेखन र सिधान्तमा त हामी सबै यस्तै भन्छौ तर व्यवहारमा भने खोई ओर्लन सकेको । जबसम्म हामी व्यवहारमा ओर्लन सक्दैनौ तव सम्म विभेद रहिरहन्छ ।

वेरोजगार र गजलसङ्ग्रह

देशमा रोजगार छैन । सारा युवायुवती विदेशीन वाध्य छन् । यसरी रोजगारीकै सीलसीलामा कल्पना पनि इजरायल पुग्नु भएको छ । इजरायलमा रहँदा कल्पनाले भोगेका पीडा, आफ्नो देश, गाउँघर, नातापाता, श्रीमान, छोराछोरीको याद र माया ममताले सताएका कुराहरू गजलमा छताछुल्ल पोखिएका छन् । यतिमात्र नभएर ऋणको भारले जनता थिचिनु, नेतृत्व वर्ग कुर्सीको लागि मरिमेटी गर्नु र देश जनता राष्ट्र राष्ट्रियताप्रति संवेदनशील हुन नसक्नु र युवायुवती रोजगारको लागि पलायन हुन विवश हुनु जस्ता अति महत्वपूर्ण विषयका सन्दर्भमा आफ्नो धारणालाई प्रस्तुत गर्न सफल देखिन्छ गजलसङ्ग्रह ।

देशका कर्णधार युवा विदेशिन बाध्य हुँदा

लाग्छ नेतृत्वको दिमाग जाम हुन पर्छ(गजल३५, पृष्ठ ५६)

धेरै बर्ष भयो जन्मभूमी नटेकेको मैले

आफ्नै सन्तानको अनुहार नदेखेको मैले( गजल ४४, पृष्ठ ६५)

युवायुवती रोजगारको लागि विदेशिनु वाध्यता हो र राष्ट्रप्रतिको चिन्तन हुनु एउटा देशप्रेमी जनताको कर्तव्य पनि हो ।

नारीवादी चिन्तन र गजलसङ्ग्रहः–संसारको आधाआकाश ढाक्ने नारीप्रतिको शोषण दमनको कारण नारीले प्राप्तगर्ने न्यूनतम स्वतन्त्रता पनिप्राप्त हुन सकेको छैन । कल्पनाले नारी अस्तित्व, नारीले उपभोग गर्न पाउने हकहीत सम्बन्धी अधिकारप्रति आवाज बुलन्द पार्नु भएको छ –

एक्काइसांै सताब्दीकी प्रगतिशील नारी हूँ

ढुङ्गे मूर्तिजस्तै फोटामा सीमित हुन्नँ (गजल८ पृष्ठ२९)

एक नारी कसैकी छोरी हुन्छन् भने कसैकी आमा अनि कसैकी पत्नी । कल्पनाजीले आफ्नो गजलमा आफ्नो स्थानलाई तीनै स्थानमा उभ्याएर यी भावनालाई पोख्नु भएको छ । सानो छँदा आमाको बुबु छामेको काखमा निदाएको र रमाएको कुरा गजलमा समावेश गरेकी छन्ः–

तिम्रो न्यानो काखमा निदाएको आमा

हातले तिम्रो बुबु छाम्दै रमाएको आमा(गजल ४९,पृष्ठ ७०)

तिनै आमा आज बृद्ध भएकी छन् कपाल फुलेको छ । शरीर गलेको छ त्यस्ती महातारीलाई देख्न पाइन्छ पाइँदैन भन्ने आशङ्काले पीरलेको छ मनलाई र लेख्नुहुन्छः–

फुलेको केश, गलेको शरीर कहिले देखुला

चुडेर लगि कालले कतै लुकाउने रहेछ (गजल३०, पृष्ठ५१)

छोरी मात्र नभएर कल्पना आमा पनि बन्नु भएको छ । उनका ती मुटुका धड्कन कति ठूला भए होलान् भन्दै कल्पना गर्नुहुन्छ र गजल कोर्नु हुन्छः–

कत्रा भए होलान् मेरा मुटुका ती धडकनरू

महिनौ भयो बरै सन्देशपत्र नभेटेको

एउटी नारी र एक पुरुष बीचको दाम्पत्य जीवन पनि तबमात्र सुखदायी हुन्छ जब दुबै भित्रको प्रेमले एक अर्कामा स्थायित्व दिन सक्छ । उनी टाढा छिन् तर दिल त श्रीमानप्रति नै समर्पित छ । उनी निश्छलछिन् र श्रीमानको तस्विरलाई दिलमा सजाएर राखेकि छिन् । श्रीमानलाई पनि ढुक्कभएर बस्न र शंका नगर्न अनुरोध गर्दछिन्–

दिलभित्र तिम्रो तस्विर रसाएर राखेकी छु

सपनाको महलभित्र बसाएर राखेकी छु (गजल२०, पृष्ठ ४१)

गजलसङ्ग्रह , शान्ति र संविधानप्रतिकोधारणा

देशमा संविधान छैन, शान्ति छैन, देश द्वन्द्वको मारमा परेको छ, विकास रोकिएको छ, परिवर्तनको अनुभूति जनताले पाउन सकेका छैनन् ।संविधान बन्नै पर्ने, अन्याय र अत्याचार बाट देशले निकास पाउनै पर्ने धारणा गजलकारको छ –

संविधान नबनेर दुःख पाइयो नेपालीले

सामन्तवादबाट भयो त्रास बरै(गजल५९, पृष्ठ ८०)

एकदिन हाम्रो देशमा शान्ति आउनै पर्छ

अन्याय र अत्याचारले निकास पाउनै पर्छ(गजल ४५, पृष्ठ ८०)

गजलमा विविधता

गजलको पूर्ववत धारणालाई केलाउँदा यो एउटा शृङ्गार रससँग सम्बन्ध राख्ने प्रेमिकासँगको वार्तालापसँग जोडिएको विधा हो तर आज आएर गजलले पूर्ववत मान्यतालाई तोडेको छ र यसले विषयगत विविधतालाई जोडेको छ । भावनाका भेलहरूमा पनि यी मान्यतालाई आत्मसाथ गरेको पाइन्छ । यीगजलहरूमा विविधता छ । यहाँ प्रेममा शिष्टता छ ।गरिबीमा दयाभाव,आशा, निराशा पीडा व्यथा, आर्थिक राजनीतिक विकृति,विसङ्गति, विवशता जातीय तथा बर्गीय विभेद, आमको माया, देशप्रतिको माया छोराछोरीप्रतिको दायित्व, पतिप्रतिको माया र विदेशिन पर्दाको मार्मिक पीडालाई मार्मिकरूपमा समेट्दै अघि बढेको छ गजलसङ्ग्रह ।

अतः गजलसङ्ग्रहमा भाषा सरल छ । भावना बगेको छ ।गजलका संरचनामा आवश्यक तत्वहरूलाई समेट्ने प्रयास भएको छ र पमिार्जनको पनि त्यत्तिकै खाँचो छ । गजलले विविधतालाई ओगटेको छ । यो एउटा विदेशी भूमिमा बसेर नेपाली साहित्यलाई गजलमय बनाउन प्रयासरत कार्य प्रसंशनीय छ अरु विदेशमा बसेर साहित्यमा चाख लिने साहित्यकारलाई एउटा अनुकरणीय मार्गदर्शन भएको छ । त्यसो हुँदा कल्पनाजीलाई पुनः गजलकृति पढ्न पाउने अभिलाषा राख्दै धन्यवाद छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।