२०६९ साल शिवरात्रीको दिन । मध्यान्ह हुनलाग्दा महादेवस्थान, काठमाडौंबाट अगाडिपट्टिको डाँडालाई गन्तब्य बनाएर टहलिन निस्कियौँ हामी । चम्किलो दृश्य बनेर साँझबिहान आँगनमै ठाक्किन आइपुगे पनि आफ्नो अनुहार आफैले नदेखेझैँ सधैँ मनको मझेरीमा अतिरेक घोचक बनेर ठडिइरहेको छ त्यो डाँडो । आँटेताकेको पुगेर अलिक खुसी हुँदा होस् वा जागिरे जिन्दगीका बोझिला सङ्क्रमणले अङ्गप्रत्यङ्ग चस्किन थाल्दा होस् आँगनमा निस्केर टाउको कन्याउँदै धेरैचोटी हेरेँ हूँला त्यो डाँडोको लमतन्न ढाडलाई । त्यसले पनि कहिले शितल हावाका झोक्का फर्काइदिएर मेरो मनका भावनाहरू बुझेझैँ बिर्साइदिएको छ उद्वेलित मनको अमिलिएको धमिलो । कहिले भने मेराभन्दा बढी निराशाका उच्छ्वासहरू सुसेलेको सुन्छु । सधैँ लागिरहन्थ्यो, त्यो थुम्क्याइलो उचाइ चुमेर डाँडैडाँडा कुद्न पाएहुन्थ्यो । त्यसको शिरानमा पुगेर पल्लो क्षितिज नियाल्न पाएहुन्थ्यो । उद्वेगित मनका आरोहअबरोहमा दिन्दिनै थचारिनुभन्दा उचाइबाट सेरोफेरो नियाल्दै बरालिनु बढ्ता आह्लादकारी हुने पक्का थियो मेरा लागि । त्यसैले मेरा घरभेटी भेषबहादुर कार्की सर र छिमेकी विष्णु पौडेलजीसँग म पनि लागेँ त्यतैतिर ।
चुन्देवीको उकालोनेर पुग्दा चाडबाडका बेलाको स्थानीय चलनले रमाउँदै दुईजना स–साना ठिटीहरू डोरी तानेर बाटो छेक्दै जिस्किन आइपुगे । साना ठिटीहरूको अपेक्षा पूरा गर्ने कौडी पनि रहेनछ मसँग । नभएर हो वा जिस्किन खोजेर हो डोरी फुस्काएर भाग्नुभयो सहयात्रीहरू । म पनि उहाँहरूकै पिछलग्गु भएर लाचारी देखाएँ । बलै फुस्किएको डोरीसँगै बाल वयका तरेलीहरू चुँडिएझैँ मेरो मन पनि भत्किँदै थियो, सुरिलो स्वर ठोक्कियो सुस्तरी ‘झ्याउ लाग्यो मलाई त’ । डोरीले शायद केही झार्न सकेनछ । उनीहरूका ती कलिला अपूर्ण इच्छा सुनेर नरमाइलो लागे पनि झन् बढी खित्खिताएको थिएँ म । थोरै खाएपिएर सडकभन्दा बढी फैलिन चाहने रसिकहरूजस्तै अभिनयमा मच्चिन खोज्छ मेरो मन पनि कहिलेकाहीँ ।
घमाइलो पहाडी भित्ताबाट दक्षिणतिर मोहडा फर्काएर चन्द्रागिरिको काखसम्म फैलिएको काठमाडौंलाई मज्जाले हे¥यौँ हामीले । सहयात्रीहरू आँखामाथि हातको पालि हालेर तुवाँलोमा धमिलिएको आफ्नो घरबास खोजिरहनुभएको थियो । घरहरूको फैलँदो जङ्गल हेर्दै आफ्नो थातबासको अभावको तातो हुरीले निस्सासिएँछु म । सुस्केरा हाल्दै मनमनै सुसेलेको थिएँ –‘मैले कहिले भन्न पाउँला खै, म आफ्नै घरको राजा झुप्रै घर भए पनि ।’
केही दिन अघि कुरैकुरामा घरबिहीन मेरो पीडा छचल्किँदा अनलाइन हेर्दै गरेको साथीले भनेको थियो ‘उरुग्वेली राष्ट्रपति जोसे अल्वर्टो मजिका राष्ट्रपतिको भवन त्यागेर श्रीमतीको फार्महाउसमा बस्छन रे । तँ किन चिन्ता गर्छस् सधैँ घरबासको मात्र ?’
‘मेरो त श्रीमतीको पनि त्यस्तो कुनै फार्महाउस छैन नि यार ।’ मैले आफ्नो अवस्था जाहेर गरेको थिएँ ।
‘आधा उमेर गइसक्यो के चिन्ता गरिरहेको ? घर भए पनि छोडेरै जाने हो !’ साथीले डिलैमा पु¥याएको थियो मलाई ।
‘उमेर बित्न थालेर त चिन्ता भएको हो नि मूर्ख ।’ दरबारजस्तो घर हुने उसले के बुझ्थ्यो र मेरो कुरा । मैले व्यर्थ आफ्नो चिन्ता बिसाएको थिएँ उसँग ।
मेरो मनमा घरबासकै तर्कवितर्कको आँधि चलिरहे पनि अरबिन्द आश्रमको खोजी भइरहेको थियो सहयात्रीहरूबाट ।
केही दिन अघि कार्की सर र म पनि घुम्दै पुगेको अरबिन्द आश्रम देखियो थानकोटमाथिको भित्तामा । गुल्मीमा जन्मेका रामचन्द्र भुसाल घरबाट भागेर भारत पुगी विभिन्न ठाउँमा भौतारिँदै जाँदा पण्डिचेरीको अरबिन्द आश्रम देखेर प्रभावित हुनुभएको थियो रे । बीस वर्षपछि स्वदेश फर्केर त्यस्तै आश्रम सञ्चालन गरी अभावग्रस्त परिवारका बालबालिकाहरूलाई बसोबास, खानपिन, शिक्षा, स्वास्थ्यलगायतका व्यवस्थासहित अर्गानिक तरकारी खेती, गाईपालन, दुग्धजन्य कुटिर उद्योग एवं अतिथि गृहसमेत सञ्चालन गरिरहनुभएको छ । उपल्लो मुस्ताङ जाँदा हाइअल्टिच्युडले धन्नै नमरेको संस्मरण सुनाउनुभएको थियो उहाँले भेटका अवसरमा । पाँच हजार मिटरको उचाइमा दिनभर हिँडेपछि हाइ लागेर शरीर शिथिल र चिसो भएर पल्टिँदा आधारातमा कतैबाट आइपुगेका केटाहरूले लसुन र चाउचाउको झोल खुवाएपछि विस्तारै ठिक हुँदै गएको थियो रे उहाँलाई । सम्झेर आश्रमको आँगन अस्ती भर्खरै चाखेको स्वादमा हराएको थिएँ म पनि –अर्गानिक तरकारी, सुख्खा रोटी र दूधमा पकाएको गहुँको दलिया ।
पारिपारि हेरेर थाकेपछि चिलाउने र सल्लाका सुकेका पातहरूले पुरिएको डोरेटोमा जोगिँदै उकालिएर मूल बाटोमा पुगेका थियौँ । कार्की सरले भिरालो र लर्कने बाटोको सहारा खोज्दा घँघाइलाको काँडेदार लठ्ठी फेला पार्नुभएको थियो । उकालिँदै जाँदा वरपिपलको चौताराबाट देखिएका थिए –नैकापको डाँडो, स्वयम्भुको थुम्को, उपत्यकाका नाकनाक झरेका डाँडाका फेदमा ओठओठ मिलेझैँ फैलिएका फाँटहरू र अलिमाथि नागार्जुनको जङ्गली डाँडो । गुम्बाका ताज पहिरेका डाँडाका सुन्दरता सङ्गाल्दै थिए तृषित आँखाहरूले, अनि सल्लाको सुगन्धित शितल बतास पान गर्दै थिए शरीरका रोमिल स्पर्शहरूले । तर उचाइमा पुगे पनि उँधै गति उँधै मति भइरहने बैगुनी मनका ध्वाँसे तरङ्गहरूले भने रमाउने मनमा तगारा हाल्दै भावनाका धाँजाभित्र हुलेर मर्माहत पार्न खोज्दै थिए मलाई । घरमा बच्चा रोयो कि ?, प्रियालाई घरको कामले सतायो कि ?, उनीहरूलाई कुनै समस्या पो भयो कि ? ‘धिक्कार छ मेरो चञ्चले र शङ्कालु मनलाई’ मैले उकालोतर्फ हेरेर मनमनै भनेको थिएँ ।
ट्याम्पो डाँडाका पोथ्रे गुराँस नियाल्दै कार्की सरले भन्नुभएथ्यो ‘काठमाडौंमा धेरै ठाउँ छन् वनडे ट्रेकिङ गर्ने ।’
सितापाइलाबाट उकालो लागेर गुम्बाहरूको उः त्यो डाँडैडाँडा, बुढानीलकण्ठबाट शुरू गरेर सुन्दरीजल, मातातीर्थबाट उक्लेर चन्द्रागिरिको डाँडैडाँडा, ...।’ त्यस्तै वनडे ट्रेकिङमा रमाउँदै म पनि प्रकृतिको काखमा हराउँदै थिएँ । मन रमाएपछि शरीर निथ्रुक्क भिजाउने उकालो पनि समतल मैदान लाग्दो रहेछ । त्यही मैदानी मनमा बुर्कुसी मार्दै हेरेको थिएँ –शोली घोप्ट्याएजस्ता थुम्काहरू, नागबेली बाटाहरू, टल्केको घना आवादी र वासन्ती रङले रङ्गिएका रूखपालुवाहरू ।
एउटा पिकअप गाडी युगल स्वरमा हल्ला गर्दै हामीलाई धूलो चखाएर अगाडि हुँइकियो । ढिलै भए पनि हाम्रा अजम्मरी पाइलाका स्पर्शमा होचिँदै थुम्कोले हामीलाई एउटा गुम्बामा ल्याइपु¥यायो । कम्पाउण्ड हेर्दा तारबारले घेरिएको थियो, कुनै सुरक्षा निकायको जस्तो । त्यसको गेटैनेरको ठूलो मानेले लगातार घण्टी बजाएर गुम्बामा छिरेको आभास दिलायो । ड्रिगुङ काम्युद रिचेन पालरी गोन्पा भनिने गुम्बा रहेछ त्यो । गुम्बाभित्र छिरेर बुद्धका बडेमानका मूर्तिहरू र थान्का हेर्दै रमाएका थियौँ हामी केहीबेर ।
जता पनि बैशालु केटाकेटीहरू नै देखिएका थिए । उनीहरूका रोमान्टिक चालढाल छचल्किएका थिए । कसैले लाली लत्पतिएका गुराँसको थुङ्गाहरू भाँचिरहेका थिए । कसैले आफ्नो शरीरको लाली साथीका आँखामा साँचिरहेका थिए । कसैले वनेली उचाइमा पुगेर वनभोज गरिरहेका थिए । कसैले एकान्त र स्वच्छताका चुलीमाथि उचालिएर मनमोज लुटिरहेका थिए । उचाइ उक्लन सक्ने बैँशालुहरू हिँड्ने प्रेमपथजस्तै लाग्यो मलाई त्यो डाँडाको डडेल्नुमा सर्किरहेको गोरेटो । माधव घिमिरेको कविता गुन्गुनाएर प्रेमिल स्वान्त्वना दिन खोजेको थिएँ आफैलाई मैले –
आइ कैल्यै पनि नसकिने चैत बैशाख मेरो
लाइ कैल्यै पनि नसकिने प्रीत नौलाख मेरो ।
‘मसी बनाउने मसुरे कटुस’ विष्णु सरले एउटा गाढा पात भएको रूखतिर औँला तेस्र्याउनुभयो । उहिलेउहिलेको धुलौटो कोरेर अक्षर सिक्ने र निगालाको कलम मसुरे कटुसको मसीमा चोप्दै लेख्ने चलनका बारेमा बुवाका मुखबाट सुनेको छु मैले पनि । अहिलेका डटपेन र बलपेनका सर्सरी चिप्लिने लेखनी भेट्टाए कति लेख्दा हुन् उहिलेका मान्छेहरू । यस्तै फरकलाई उन्नतिको उपमा दिएर सन्तोषको सास फेरिरहेछौँ हामी नेपाली । संस्कार र सभ्यताको गिर्दो अवस्था सम्झेर मात्र कति मर्माहत हुनु त ?
तेर्सैतेर्सो डाँडैडाँडामा गुराँसको यौवन नियाल्दै हिँडिरह्यौँ । तेर्पाएँमा रमायो मन । शितल छ, खुला छ अनि छ हिँड्न सहज । बास्ना छर्दै डुलेको सल्लाको मरमरले निकै आनन्दित भइयो ।
झ्यानुको हरिया पात टिपेर फेरि विष्णुजी बोल्नुभयो ‘काइदाको ग्रिन टी बन्छ यसको’ । झ्यानुका पात चपाउँदै हिँडेका थियौँ हामी फेरि । नैकापभञ्ज्याङ गाविस काटेर रामकोट गाविसको सिमानामा छिरेछौँ थाहै नपाई । फराकिलो चौरको पाटीका शब्दहरूको सङ्केत हो यो । त्यो चौरमा रमाएर सुस्ताएका थियौँ केहीबेर । थुम्काको विन्ध्यवासिनी मन्दिर पार भएपछि आइपुग्यो एउटा बस्ती । एउटा घरमा पसेर पानी खायौँ हामीले । सुविधाभोगी भएर उक्लेनौँ त्यो थुम्को । पानी खाँदा सोधेर मात्र मन्दिरको नाम थाहा भएको थियो ।
खहरे जाने बाटो छोडियो । डोरी तानिरहेका दुईजना तरूनीलाई जिल्याइयो । जङ्गलमा धेरैबेरपछि भेटिएको सिकार छुटेझैँ उनीहरूले पश्चाताप्को भावमा हेर्दै थिए फर्कीफर्की । जवानी फक्रन लागेको उनीहरूको गालपारा कायातिर नजर गएछ अनायासै । लाज मानेर खुम्चिएको उनीहरूको हातबाट फुत्केर डोरी भुइँभर भयो, नजर पनि भुइँतिरै फर्किए । त्यो देखेर क्षणिक आत्मरतिमा रमाएँछु म पनि ।
‘हामी पनि चन्द्रागिरिको काखमा छौँ, ऐतिहासिक ठाउँ भएकाले बन्ला नि कुनै दिन !’ कार्की सरले वाणभञ्ज्याङबाट छिरेर काठमाडौंतिर हुर्रिएको बाटोतिर हेरेर भन्नुभयो । अनि कार्की सरको पछि लागेर तिनपाने सोमरस पाइने तामाङ दिदीको पसलभित्र छि¥यौँ विष्णुजी र म पनि । स्टीलका गिलासमा खान हुँदैन भन्दाभन्दै उहाँहरूलाई स्टीलकै गिलासमा आइपुग्यो तीनपाने । मलाई चिया आयो । चियाको सुर्कोसँगै काठमाडौंको छिमेकी गाउँमा बसेर व्यापार र घर गृहस्थी गरिरहेकी दिदीको निर्वाहमुखी जीवनशैली पढेर अचम्मित भइरहेको थिएँ म पनि । खरको थुप्रो, प्लास्टिक टाँसेको सिलिङ, माटाको भुइँ, खिच्रिमिच्रीको दराज, ग्याँस चुल्हामा पाकिरहेको चाउचाउ र चिया । दिदीको दिनचर्याका प्रशाधन थिए ती । जसका सहाराले दिदीले कति जनाको मुखमा माड पु¥याउँछिन्, सोधिन केबल आश्चर्य प्रकट गरेँ मनमनै । चटनी वा सितनबिनाको दुईचार घुट्कोले मन अघाएर होला, रौस्याहा चिजबाट पनि छुट्टिएर छिटै अगाडि बढ्नुभयो उहाँहरू ।
हालै बनाएको सिँढीदार उकालो चढेर इन्द्रदह पुग्यौँ हामी । ठूल्ठूला रूखहरूको छहारीमा एउटा पोखरी, केही मन्दिरहरू र शितल चौर भएर भेटियो इन्द्रदह । पोखरीमा पानी भने रहेनछ । बर्खा पानी उम्रने खोपिल्टामा थुप्रिएका पतकर र सुकेको हिलो मात्र देखिन्थ्यो । छायाँले बिर्सादियो पानीको कमी । मनभित्र भेटिएको उत्प्रेरित हरियालीभन्दा बढ्ता गाढा छायाँ भेटिएको थियो त्यहाँ ।
मैले पुराना रूखका बटारिएका हाँगाबिँगालाई प्रकृतिको कालिगढी मानेँ । रूखका धोद्रो लागेर बनेका प्वालहरूलाई मेरै शरीरका जनेन्द्रीय जस्ता ठानेँ । भाँचिएका, कोरिएका मूर्ति र मन्दिरका टुँडाललाई आफ्नै शरीरका खिइएका अङ्गप्रत्यङ्ग जस्ता मानेर सुम्सुम्याएँ । सिर्सिरे हावामा आफ्ना रसिक भावनाका पङ्खसँगै उडेर पारिपारिका डाँडैडाँडा उफ्रेको थिएँ म । आफ्नोपन भेटिएपछि माया त्यसै पलाउँदो रहेछ जहाँ पनि ।
इन्द्रदहभन्दा माथिको थुम्कातिर उक्लियौँ हामी । दिनभरको हिँडाइले थकित भएर होला, विष्णुजी भन्दै हुनुहुन्थ्यो ‘लौरी विनायकको उकालो जस्तै भयो’ । गोसाईकुण्ड जाने इच्छासमेत प्रकट हुँदै थियो सहयात्रीको ।
अठ्ठाइस घर मगर छौँ भन्ने एकजना मगरदाई भेटिए । बाख्रालाई घाँसपात गरिरहेका एकजना बूढाबा भेटिए । रातोमाटाको बारीमा मल बोकिरहेका र कोदालाले खनिरहेका महिलाहरू भेटिए । जिर्णोद्धार भइरहेको मनकामना मन्दिर भेटियो । फेरि भेटियो तारबार गरिएको कालुपाण्डेको समाधिस्थल । कीर्तिपुरको लडाईंमा सख्त घाइते भएर मर्ने निश्चित भएपछि कालु पाण्डेले नुवाकोट देखिने ठाउँमा समाधिस्थ गरिदिन इच्छा व्यक्त गरेका थिए रे । उनको समाधिस्थलबाट पारिपारि नुवाकोटका गाउँबस्ती खोजेका थियौँ हामीले पनि, उनको मातृभूमिप्रतिको अपार मायालाई सम्मान गर्दै ।
फर्कँदा इन्द्रदहभन्दा अलितल्तिरको पसलमा फेरि चिया खाइयो । बहिनीको छोराको रखवारी गर्दै चिया र खिच्रीमिच्रीको पसल गरिरहेकी तामाङ्नी केटीलाई जिस्क्याउँदै तिनपाने तन्काउनुभयो कार्की सर र विष्णुजीले । भनेजस्तो केटा पाए प्रेम वा टाप जुनसुकै विवाह गर्ने भन्दै थिई त्यो केटी । त्यसो भनिरहँदा उसको गोरो अनुहारमा हेर्न लायक रक्तिम उज्यालो खुलेको थियो । मैले कालो चियाको चुस्की लिँदै थिएँ तर तिनपानेको भन्दा बढी मात लागेझैँ भयो । त्यो अविवाहित केटीको मृदुल अपेक्षा र जवानी देखेर लागेको होला मात । थाहा पाएँ, हेरेर र सुनेर मात्र पनि लाग्दो रहेछ मात कहिलेकाहीँ ।
ओर्लँदा बाटाभर सम्झिरहेँ इन्द्रदह माथिको कालु पाण्डेको समाधिस्थलको थुम्को । अनि त्यो भन्दा बढी सम्झिरहेँ यौवनको गह्रुङ्गो बैँशालु भारी उचालेर सपनाको राजकुमार पर्खिबसेकी नवयौवनालाई ! !