19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

निरुदेश्य गन्तब्य

कविता मंजु निरौला May 12, 2013, 8:24 am

कता म पुगें कहाँ आएँ म

गन्तब्य के हो अन्जान भएँ म

कुमार्ग सुमार्ग के हो अन्योलमा छ मनस्थिति

चक्रव्यूहको चक्कर भित्र मरेतुल्य भएँ म

आकाशको तारापुन्जलाई समात्न खोजें

सागरलाई अन्जुली भित्र समेट्न खोजें

आकाशगंगाको डोरेटोमा पथिक हुनखोज्दा

त्रिशंकु भै लटकिएर अलपत्र परें

हिमाली देशको मनुवा भनी गर्व गर्ने गर्थें

सगरको उचाईको कसम खान खोज्थें

शान्तिको अगुवा मेरो देश भन्ने गर्थें

यही भावनामा ओतप्रोत भई नेपाली बन्न पुग्थें

कसरी पो हराएँ कहाँ पो अलमलिएँ

आप्रबासीको हुलैहूलमा स्वयमलाई एक्लो पाएँ

सुरताल बिनाको जिन्दगी खै के जिन्दगी

यो मेल्टिंग पटमा आफूलाई धातु झैं पग्लिएको पाएँ

लिंकन मेमोरियलको छत्रछायाँमा पुग्छु

शीतल हावामा कावा खाँदै वाशिंगटन मन्युमेंटलाई हेर्छु

मानवता हराएको देशबाट आएको मान्छे म

सुप्रीमकोर्ट र क्यापिटोल भित्र न्यायमूर्ति खोज्छु

हड्सन नदीको किनारमा गोता खान पुग्छु

के हो मेरो पहिचान भनी स्ट्याचु अफ लिबर्टी लाई सोध्दछु

कहाँ म जाउँ कहाँ आफूलाई पाउँ

यो डायस्पोराको थोत्रे बिल्ला कति पो लगाउँ

देश मेरो फर्कुं मैले छोडदाको देश त्यो छैन

त्यहाँका रुखहरुमा शान्ति र अमनचैनको चरी बस्दैन

गिद्ध नै गिद्धले भरिएको त्यहाँको परिवेशभित्र

निरीह भएर बस्न यो मनले दिंदैन

मेरिल्याण्ड, अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।