18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एउटा ब्युरोक्र्याटको दिनचर्या

कविता भीम ठटाल May 18, 2013, 1:05 pm

रातभरि असिना र हुरीले कति घर अनि बाली नासेको

अमिSSSSलो घुट्की निल्दै भर्खरै जिल्ला प्रशासनमा सरुवा भएको

म ब्युरोक्र्याट बिहानै ब्युँझिन्छु|

दिउँसो कार्यालयमा त्येही युवक

आफ्नो रोजगार कार्ड दशौँपल्ट रिन्यु गरिमाग्न आउँछ

अनि जाबो एउटा नोकरीसम्म नभएको त्यस युवकलाई

नैराश्य र वेरोजगारी रिन्यु गर्नुबाहेक केहि गर्न नसक्दा

तमाम कर तिरेर मेरो तलब भर्नेहरुका आशासम्म बाँच्न नसक्ने

म ब्युरोक्र्याट विचलित हुन्छु|

मसँग क्षमता छ तर ममाथि

मेरो क्षमतामाथि पनि ताण्डव गर्न सक्ने मान्छे छ

त्यसर्थ मेरो क्षमता आफ्नै नपुंशक मुस्कानसँगै

घोल बनाएर नसड्किने गरि पिउनुपर्छ|

दिनभरि जसो नै म सत्यापित गर्छु

सत्यापन गर्नुपर्ने यो अनुत्पादनमूलक काम,

कुनै विद्यार्थीको बल्ल-तल्ल उतीर्ण भएको परिणाम-पत्र

कुनै लोग्ने-स्वास्नीको पारपाचुके भएको प्रमाण-पत्र

ग्लोबल भिल्लेजमा पनि जात जातको हुनुको कागज

देशकै भएर देशवासी हुनुको दस्तावेज

कुनै कविको पात्रको आइडेन्टिटी कार्ड|

हुन त म चौडा छात्ती भएकै मान्छे हूँ,

पेट न’भाको मान्छे दुनियाँमा को छ र?

कत्तिले मबाट आफू हुनुको प्रमाण-पत्र पाउँछन्|

म आफै सोच्ने गर्छु कि अब

आफुले आफुलाई केर्नुपर्छ

अरुले आफुलाई आफू हुनुको प्रमाण दिने प्रथा फेर्नुपर्छ

हेर्नलाई नौलो आँखाले हेर्नुपर्छ

तर मैले पनि मान्छे, छात्ती र पेट टेर्नुपर्छ|

ब्युरोक्रेसी वास्तवमा केहि होइन

जसले जे पाउनुपर्छ उसलाई तेही दिने एउटा चर्यामात्र हो

आधार, अधिकार अनि आवश्यकताको क्रय-विक्रय मात्र हो

आफू अलिक छाडा होइन्छ भनेर आफुलाई नै हप्काइ-धप्काइ गर्नलाई

निर्दिष्ट एउटा प्रक्रियानुसार नियुक्त आफूजस्तैहरुको एउटा हुद्दामात्र हो|

यद्यपि असिनाले छेडेका घर अनि

हुरीले उड़ाएका मनहरु छोप्न र सेक्न मेरोमा

बुर्जुआ आश्वासनअनि लेखेको नोटमा रिगरेट गरिने नोटबाहेक

दिनलाई थप केही नै छैन|

दिनचर्या हो;

साँझ घर गएर नित् सुतिन्छ

अनि सपनामा यो भीम ठटाल

कृष्णको जस्तो रूप लिएर उसकै अघाडि उभेर उसैलाई भन्छ

तँ फगत् एक नोकर होस्

तेरोमा आवेग, संवेग र विवेक भएरै पनि निर्मिमेक तैंले

ऐन-कानूनका अनुश्छेदबाहेक अरु केहि प्रयोग गर्ने अधिकार छैन|

हात-खुट्टा अनि गति भएको तेरो शरीर र मगजले

नोट-शीटको फ्रेमदेखि बाहिर

कुनै स्वतन्त्रता पाउने छैन|

तेरो पदमा उन्नति हुन्छ तर तेरो मानमा उन्नति हुँदैन

सरकार अनि जनतालाई तेरो खाँचो पर्छ

तर तेरो खाँचो तेरो तलबले जसो तसो टार्नुपर्छ|

धनवानहरुको मात्र किपट भएको ब्युरोक्रेसीमा

तेरो खाली खुट्टे ब्याकग्राउण्ड

कुनै उल्का या उदेकको उदहारणमात्र हुन्छ|

तेरो पैसा र पहुँचको आयातन जत्ति बढ्छ

तेत्ति नै तेरो अभिव्यक्ति स्वतन्त्रता संकुचित हुन्छ|

तेरो बोलि नियन्त्रित र निर्धारित मात्र हुनुपर्छ,

तैंले जत्ति नै गरे पनि

तैंले गर्नु पर्ने भन्दा पर केहि नापेको हुँदैन|

तँ पखेटामात्र भएको उडान नभएको निरीह अनि निर्धो चल्लो होस्,

कुनै राजनैतिक आग्रह अनि कथित लगाव नहुनाले सरुवामात्र भइरहने

खेप-खेप गर्ने खेताला ब्युरोक्र्याटभन्दा बडी तँ केहि होइनस्|

त्यो कृष्णलाई म कतै विदा गरेर आफ्नो टेबलमा हेर्छु

अहो! जिन्दगी घडीमा चढेर कुद्छ,

अब आजको नोटिंग समेट्नुपर्ने भयो

साँझ होटेलमा डीनर छ, भोलि मन्त्रीको प्रोटोकोल

टाइट प्रोग्राम छ, टूर पनि छन्

अनि फाइल समेट्दै म घर फर्कन्छु

श्रापयुक्त दुनियाँका आँखाको फेदबाट

व्यङ्ग्य र अविश्वासका लश्कर हुँदै

अनि मेरो निकम्मापनलाई सधैं झ्यालबाट

टेलिस्कोपिक आँखाले हेर्ने कविका लान्छनायुक्त प्लट हुनुबाट जोगिँदै|

गेजिंग

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।