हावामा साह्रै उत्ताउलो भई
नॉंच्छन्
टिनएजर पातहरू।
फेन्टासीको केलिडोस्कोपमा
पुराना ब्याट्म्यानहरू तार-तार उफ्रँदै
छिचिमिरा मारिरहन्छन्।
गौतम बुद्धको अष्टममार्गबाट
प्रेरित भएका छन्
यसपल्टका फेशन-डिजाइनरहरू।
पोहोर पर्यावरण-संरक्षणको अगेनामा
भुटिएका थिए
रेम्पका सुन्दरीहरू।
पर्दै-पर्दा छ चारैतिर
घरको दैलोभित्र अनि दैलोबाहिर।
पसीना उमालेर तारेका मांशपेशीहरू
पपकर्नको स्वादलाई
जिब्रो र दॉंतले चेप्टाएर
फास्टफूड-दोकान अघिल्तिरको
बीनमा फ्यॉंक्छ।
नयॉं जामा र नट्टी-ब्वायको कसिएको लेशमा
पाइलाहरू नयॉं पर्दा टेकेर
गाडीले उछाटेको मैला पानी छेल्दै
हाइपररियलिटीको मेनरोडबाट छिर्दैछन्।
हावाले छायॉंलाई सम्भोग गर्छ
अनि गर्भवती ढुङ्गाले
प्रतिलिपिहरू फुतुफुतु ब्याउँछ।
समयको थर्मोमिटरमा
मर्क्युरी छिल्लिँदैछ।
त्यसको ताण्डवले
परिवेशको वाफलाई कनाइबस्छ।
चुइङ्गमजस्तो चपाएर
उसले शब्दलाई नयॉं नयॉं आकारमा फुलाउँछ,
उसका अनौपचारिकताहरू
प्राध्यापक खोज्दै
महाविद्यालयको गेट छिर्छ र
कुण्डले युवकहरूको भीडबाट
अपशब्दहरू बटुलेर
कविताको संरचना कोरिपठाउँछ।
के गर्छौ त!
परिवर्त्तनको आँखा फुटेको हुन्छ सँधै।
सल्याङ्-मल्याङ् भाइरसका हाउगुजीहरू
चल्मलाउँछ
विचारका डेस्कटपभरि।
कर्सरले अथार्थ जुम्रा टिपिरहन्छ।
शताब्दीले दिइराखेको छायॉंवादबाट
मधुशालाका रङ्गीन सॉंझहरू मेटिइसकेका छन्।
प्रसूतिबाट विचारका बच्चाहरू
शैशवको गैरीगाउँ माग्न आउँछन्।
एउटा पानी-फोकाजस्तो संस्कृति
चर्चराउँछ नीतिको डण्डीफोर फुटेपछि।
भिनेगरले धमिल्याउँछ
मेरो पारदर्शी पौष्टिकता।
पर्यटन पर्खेको चौतारी अब
साइँलाको पिरथीलाई रहेन।
बरी लै, ओल्ड-मोडल पिरथी ए ए।