19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नदीका रंगहरु र म

कविता सुदीप पाख्रिन June 1, 2013, 9:30 am

नदी

एक तमासले बगिरहेको नदी

आफ्नो वक्षस्थलमा

निर्विघ्न खेलिरहेको जूनलाई

घट्घट् पिउँछ

र, उक्लन्छ

फेरि माथि नै

हिम श्रृंखलाहरुलाई चुम्न

कति तिर्खाएको छ — नदी

नदी —

आदिम कालदेखि

बर्सातका बोझहरु ढोएर

कहिले गाउँघरहरुतिर हुँदै

कहिले आफ्नै सतहबाट पनि खुम्चिंदै

सागरको गन्तब्यसम्म हुइकिरहेछ

केही निरुदेश्य !

त केही उदेश्यका साथ !!

— किनाराका थुप्रै थुप्रै बैंसालु रुखहरुलाई छाडेर

— किनाराका थुप्रै थुप्रै हरिया सपनाहरुलाई बिर्सेर

कति रित्तो छ — नदी

नदी —

आफ्नो पुंसत्व देखाउदै

हिमालबाट शुरु हुन्छ

पहाडहरुबीच हुँदै

बैंसालु चराहरुसंग जिस्किंदै बुर्कुसी मार्दछ

तरुनी ताराहरुसंग इत्रिदै दौडन्छ

र तराईको समथरपनमा शान्त हुन्छ

भनिन्छ ः

प्रौढतामा सबै शान्त हुन्छ

त्यसैले

मधेस झरेपछि

बुढो नदी चूपचाप बग्छ

कति रंगीन छ — नदी

नदी —

रंगीन भएर पनि रंगहीन बग्छ

जब जब

निश्चिन्त बगिरहेको बगरबाट

उठाएर नदीलाई भरिन्छ — नहरहरुमा

पक्डेर कैद गरिन्छ — चीमहरुमा

फाँटहरुमा हरियै भएर पनि

शहरहरुमा उज्यालै भएर पनि

नदी —

आफ्नो पुंसत्व गुमाएर मौन बग्दछ — बगरै बगर

कति नपुंसक छ — नदी

रंगीन भएर पनि

नदीको आफ्नो कुनै निश्चित रंग हुन्न

नदीको आफ्नो कुनै देश हुन्न

त्यसैले

निश्चिन्त बगिदिन्छ जहाँकहीं पनि

प्रारम्भको उल्लास कायमै नरहे पनि

निस्फिक्री बगिदिन्छ जहाँकहीं पनि

शुरुवातको उमंग यथावतै नरहे पनि

मूर्त नदी

मभित्र

आफ्नो अमूर्तता खोजिरहेको छ

मूर्त म

नदीभित्र

आफ्नो अमूर्तता चियाइरहेको छ

र नदी

झण्डै झण्डै उस्तै !

झण्डै झण्डै उस्तै !!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।