17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

विधा साहित्येतिहास लेखनमा व्यवस्थित अध्ययन

कृति/समीक्षा प्रा डा.लक्ष्मणप्रसाद गौतम June 15, 2013, 4:33 pm
प्रा डा.लक्ष्मणप्रसाद गौतम
प्रा डा.लक्ष्मणप्रसाद गौतम

नेपाली समालोचनाको उत्तरवर्ती चरणमा सहित्येतिहास लेखनमा तीव्रता आएको छ र कविता, कथा र उपन्यास विधाको व्यवस्थित लेखन यस अवधिको प्राप्ति बनेको छ । कविता विधाको व्यवस्थित इतिहास लेखेर साहित्यिक इतिहास लेखनमा स्थापित भएका वरिष्ठ समालोचक डा.खगेन्द्रसाद लुइटेलले नेपाली उपन्यासको पनि व्यवस्थित इतिहास लेखी नेपाली उपन्यासको इतिहास (२०६९) नामक पुस्तक तयार गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित यस ग्रन्थमा नेपाली उपन्यासको अद्यावधिक सूचना र प्रतिनिधि उपन्यासकारका प्रवृत्ति र कृतित्वको विवेचना छ । सिद्धान्त खण्ड, इतिहास खण्ड, प्रवृत्ति खण्ड र परिशिष्ट खण्ड गरी चारओटा खण्डहरूका साथै तीभित्रका विभिन्न शीर्षक उपशीर्षकहरूको आयाममा वितरित यस कृतिलाई नेपाली उपन्यासको समग्र इतिवृत्तका रूपमा मान्न सकिन्छ भने उपन्यासको सैद्धान्तिक स्वरूपको स्पष्ट दृष्टिकोण र अन्य विधासँगको तुलना प्रतितुलनाले यस कृतिलाई अझ विशिष्ट तुल्याएको छ ।

यस ग्रन्थको सिद्धान्त खण्डमा उपन्यासको परिचय, परिभाषा, वर्गीकरण, संंरचक घटक र अन्य विधासँगको तुलनालाई सटीक र व्यवस्थित तरिकाले प्रस्तुत गरिएको छ । नेपाली उपन्यासको इतिहास नामक यस ग्रन्थको सबैभन्दा ठुलो र महत्त्वपूर्ण खण्ड भनेको इतिहास खण्ड हो र यस खण्डमा समग्र नेपाली उपन्यासको विकासप्रक्रिया प्रस्तुत गरिएको छ । २३० पृष्ठको आयाममा विस्तारित यस खण्डमा नेपाली उपन्यासका प्राथमिक, माध्यमिक र आधुनिक काल तथा आधुनिक काल खण्डभित्रका चरणहरूको विवेचना गरी तत्तत् धारा÷चरणका प्रतिनिधि उपन्यासकारहरूका बारेमा प्रवृत्तिगत विश्लेषण र कृतिगत विशेषताको चर्चा गरिएको छ भने सम्बद्ध चरणका अन्य उपन्यासकारहरूका औपन्यासिक कृतिसहित सूची प्रस्तुत गरिएको छ । यस खण्डमा मानक र प्रतिनिधि उपन्यासकारका रूपमा प्राथमिक कालका पाँच, माध्यमिक कालका आठ र आधुनिक कालका पञ्चानब्बे गरी जम्मा एकसय आठजना उपन्यासकारका व्यक्तित्व, कृतित्व र प्रवृत्तिहरूको विवेचना गरिएको छ भने अन्य उपन्यासकारहरूको कृतिगत विवरणलाई पनि कालक्रमिक रूपमा प्रस्तुत गरिएको छ । ऐतिहासिक अध्ययनका दृष्टिले यो खण्ड प्राप्तिपूर्ण छ ।

नेपाली उपन्यासको इतिहासको तेसो खण्ड प्रवृत्ति खण्डका रूपमा रहेको छ र यसमा आधुनिक नेपाली उपन्यासका प्रमुख धारागत प्रवृत्तिहरूको विश्लेषणका साथ तत्तत् धाराका उपन्यासकारहरूको उल्लेख गरिएको छ र सम्बद्ध धाराका प्रवृत्तिहरूलाई बुँदागत रूपमा स्पष्ट पारिएको छ । धारागत चर्चाका क्रममा यथार्थवादी धाराभित्र आदर्शोन्मुख, ऐतिहासिक, सामाजिक, आलोचनात्मक, समाजवादी वा प्रगतिवादी र मनोविश्लेषणात्मक यथार्थवादी धाराको विवेचना गरिएको छ भने त्यसपछि स्वच्छन्दतावादी धाराको विवेचना गरिएको छ । प्रयोगवादी धारालाई अस्तित्ववादी–विसङ्गतिवादी र नारीवादी धाराका रूपमा विवेचना गरिएको छ । यी सबै धाराको सैद्धान्तिक परिचय र तत्तत् धारामा पर्ने नेपाली उपन्यासकारको प्रस्तुति यस खण्डको महत्वपूर्ण प्राप्ति हो । परिशिष्ट खण्डमा नेपाली उपन्यासकारहरू र तिनका कृतिको वर्णानुक्रमिक सूची प्रस्तुत गरिएको छ र यसमा एकहजार पचासभन्दा बढी उपन्यासकारहरूलाई समावेश गरिएको छ । यसप्रकार प्रस्तुत अनुसन्धान निकै व्यवस्थित र वस्तुनिष्ठ हुन पुगेको छ ।

नेपाली उपन्यासको इतिहास नामक यो अनुसन्धान ग्रन्थ नेपाली उपन्यासको अध्ययन परम्परामा पृथक् पहिचान बोकेको व्यवस्थित अनुसन्धान हुन पुगेको छ । उपन्यासकार र तिनका कृतिमाथिका पूर्वाध्ययनका टिप्पणीहरू समेतको प्रयोग, सन्दर्भग्रन्थहरूको उपयोग र वस्तुगत तथा स्पष्ट दृटिकोणका कारण यस ग्रन्थलाई नेपाली समालोचनाका क्षेत्रमा उल्लेखनीय कृतिका रूपमा लिन सकिन्छ भन्ने कुरा यसमा विवेच्य विषयले नै स्पष्ट पारेको छ । नेपाली उपन्यासका क्षेत्रको अद्यावधिक सूचना सम्प्रेषण र त्यसको विश्वसनीयताका दृष्टिले पनि यो ग्रन्थ उल्लेखनीय देखिन्छ । उपन्यासका लागि प्रयोग नभएर प्रयोगका लागि उपन्यास र प्रयोगका लागि प्रयोग गरेर उपन्यासको संरचनात्मक ढाँचालाई नै अतिक्रमण गरी लेखिएका उपन्यासको यसमा आलोचना पनि गरिएको छ भने अन्य उपन्यासकार र तिनका कृतिप्रति पनि निर्भीक दृष्टिकोण प्रस्तुत गरिएको छ । खण्डगत सामाग्रीहरूको विन्यास, स्पष्ट दृटिकोण र वस्तुगत भाषाका कारण यो ग्रन्थ व्यवस्थित अध्ययनको नमुना बनेको छ । साहित्येतिहास लेखनका विधि र पद्धतिमा आधारित भएर लेखिएकाले पनि यो ग्रन्थ विश्वसनीय बनेको छ । उपन्यास सिद्धान्त र इतिहास दुवैलाई समेटेर वस्तुनिष्ठ ढङ्गले लेखिएको यो नै नेपालीको पहिलो महŒवपूर्ण कृति हो । उपन्यासका अध्येता, पाठक र लेखकहरूका साथै उपन्यासबारे अध्ययन गर्न चाहने सबैका लागि समेत यो कृति पठनीय र सङ्ग्रहणीय छ ।

कृति ः नेपाली उपन्यासको इतिहास

विधा ः समालोचना

कृतिकार ः डा. खगेन्द्रसाद लुइटेल

संस्करण ः प्रथम २०६९

प्रकाशक ः नेपाल प्रज्ञा प्रतिष्ठान

पृष्ठसङ्ख्या ः ४५७ + २४

मूल्य ः ४३०

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।