14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

म मैनबत्ती

कविता तुलसी प्रवास June 21, 2013, 2:25 pm

मैनबत्ती झैँ

पग्लिँदै पग्लिँदै

म झरेको बेला

तिमी मेरो छेउमा नआऊ प्रिया !

तिम्रो सुकोमल जीवन

मेरो आँसुले डाम्न सक्छ,

म यसैगरी पग्लिएर

एकदिन सकिन्छु

म सल्किउन्जेल

तिमीलाई उज्यालो दिइरहनेछु

तिमी टाढैबाट मेरो शिखा हेरिरहनू

किनकि

सौन्दर्यको मज्जा

दूरबाट हेर्नुमा छ

नजिकै जाँदा त

म कुरुप लाग्न सक्छु

मेरो हृदय पग्लिएर झरेका आँसुहरु

तिमीलाई कुरुप लाग्न सक्छन्

त्यसैले

टाढैबाट हेर मलाई

मेरो शिखालाई

अनि जलिरहेको मेरो आत्मालाई !

तिमी मेरो उज्यालोमा

मज्जाले रमाइरहूँ

म पग्लिरहन्छु

तप्प.....तप्प.....तप्प

पोखरा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।