बस्तीतिर
महाकाली बौलायो भन्छन्
पहाड स्खलित भो भन्छन्
यता रातभर मेरो नीद स्खलित छ
पसेको छ मुटुभित्र धमिलो पानी
बिटुलिएको छ पुर्खाको रगत
र देखिरहेछु - खराब सपनाहरु |
आजैको रात
नपत्याउँदो झरी झेल्दै'थ्यो कान्तिपुर
स्वाभिमान कुहिएको दुर्गन्धे पानीले
चुर्लुम्म डुबेको थिएँ घाँटी-घाँटीसम्म
पसारेर आफ्ना लुरे पाखुरा
गर्दैथिएँ अनुनय आफ्नो हत्केला पढिदिन
र निसास्सिंदै सोधेथें आफैंसँग
आफ्नो भविष्यको नालीबेली |
सुनाइएँ -
जब रुझिन्छ दक्षिणी वायुको दर्कनेले
डुब्नेछ कोटिच्यूत कान्तिपुर
काँचुली फेरेर नागदह
कहलिनेछ मानव-मत्स्यदह
अनि हामी बन्नेछौं - रंगीन मर्मेड |
पानीपुरी बेच्न हिंडेको भैयाले
थोत्रो जर्किनमा पानी उबाउँदै गर्दा
पोखरीमा देख्नेछ रंगीन मर्मेडहरु
फ्याँक्नेछ दुईचार पानीपुरी
जाल, बल्छी, भुख र पासो
झोस्नेछ महाकालीको करेन्ट
खुर्कनेछ हाम्रा रंगीन कत्ला
बनाउनेछ चटनी
र मिसिनेछौँ एक प्लेट चिउरासँग |
पानीपुरी भैया
फर्केला जन्मघर, गुहार्ला सिमेभूमे
सुनाउला मत्स्य-मानवको कथा
केही छाक मर्मेडको लालसामा
गर्ला मुखियाको भक्ति-अनुष्ठान
सुनेर उसको आर्तनाद
आउनेछ उत्तरआधुनिक बोधिसत्व
अत्याधुनिक ड्रिल मशिन बोकेर
छेड्नेछ पहाड अनि चुरे पर्वतका छाती
जोड्नेछ साइफन र बगाउनेछ दक्षिणतिर
वीर पुर्खाका भुरा मर्मेड
राता, निला, सेता, हरिया अनि पहेंला मर्मेड |
बस्तीतिर
महाकाली बौलायो भन्छन्
पहाड स्खलित भो भन्छन्
यता रातभर मेरो नीद स्खलित छ
पसेको छ मुटुभित्र धमिलो पानी
बिटुलिएको छ पुर्खाको रगत
र देखिरहेछु - खराब सपनाहरु |
सामाखुशी, काठमाडौँ