14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

मूल्यांकन र विश्लेषण सन्दर्भ डा. पुष्प शर्मा

व्यक्तित्व / कृतित्व महेश प्रसाईं June 29, 2013, 3:24 am

साधारण अर्थमा कृति रचनाको निर्वन्ध मूल्यांकन नै समालोचना हो । आई.ए. रिचर्डले ‘मूल्य निर्धारण’ को संज्ञा दिएका छन्, समालोचनालाई । रचनाको अवमूल्यन गर्नु पनि समालोचकीय धर्म होइन र आंशिक विवेचनाबाट यसको गरिमामाथि असर पु¥याउने कार्य पनि समालोचकीय मर्म होइन । मेथ्यु आर्नोल्डले चाहिँ रचनाको शिल्पकारितामाथि ‘तटस्थ विश्लेषण’ को कार्यरुप ठह¥याएका छन्, यसलाई । अन्ततः रचनाको गुण दोषको मूल्यांकन नै समालोचना हो । त्यसैले समालोचकले कुनै रचनाकारलाई उच्च, मध्यम वा निम्न कोटीमा राखेर हेर्ने परिपाटीलाई स्वागत गर्न सकिन्न । स्वस्थ्य दृष्टिले पर्गेल्न सकियो भने रचनाको उपयोगिता हासिल गर्न सकिन्छ । सिक्किमका नेपाली कविता मूल्यांकन र विश्लेषण डा. पुष्प शर्माको त्यही तटस्थ कार्य हो जसले सिक्किमका काव्य श्रष्टामाथि न्याय गरेको प्रतीत हुन्छ । कसैलाई अग्लो, होचो र बाउन्ने बनाउने प्रयास गरिएको छैन यहाँ । सौह्रौं शताब्दीदेखि नै सिक्किममा नेपाली भाषाको प्रचलन हुन थालेको देखिन्छ । तथापि यस बीचमा सिक्किममा नेपाली भाषाले अपेक्षाकृत गति लिन सकेको देखिंदैन । ठूलै अन्तरालबाट गुज्रिएको सिक्किमले विगत डेढसय वर्षको इतिहासमा उल्लेखनीय समृद्धि हासिल गरेको देखिन्छ । ज्ञानदिल दासको उदयदेखि ‘अपतन युग’ सम्म आइपुग्दा उल्लेखनीय चहलपहल हुन थालेको सिक्किममा समकालीन स्रष्टाहरूबाट भारतीय नेपाली कवितालाई समृद्ध तुल्याउन ऐतिहासिक भूमिका निर्वाह भएको तथ्य डा. शर्माको यो कृतिले पुष्टि गरेको छ । डा. पुष्प शर्माले इतिहासतिर फर्कने क्रममा समृद्ध सिक्किमको समृद्ध कवितालाई मूल्यांकन र पर्यवेक्षण गर्ने दिशामा आफ्नो अनुसन्धानलाई फराकिलो तुल्याउनु भएको छ । सिक्किमका नेपाली कविता मूल्यांकन र विश्लेषण गर्ने क्रममा आफूलाई ‘सैद्धान्तिक समालोचना’ का वृत्तमा मात्र राखेर सीमांकन गर्नुु भएको छैन । उहाँको कार्य ‘निर्णयात्मक आलोचना’ पद्धतिबाट अघि बढेको छ । उहाँले आफ्नो रुचि र शास्त्रीय आधारलाई एकातिर राखेर स्वविवेकलाई कुशलतापूर्वक प्रदर्शन गर्नुभएको छ । डा. पुष्प शर्माले सन् १९४० देखि सन् १९९० सम्मको कालखण्डलाई एउटा ‘मानक रेखा’ निर्माण गर्नुभएको हँुदा उहाँको प्रस्तुत कृति ऐतिहासिक समालोचनाका वृत्तमा रहेको स्वीकार्न सकिन्छ, जसले युगीन चेतना र तात्कालीन परिस्थितिहरूको भिन्नाभिन्नै विश्लेषण गरेको छ । ती कालखण्डमा लेखिएका र प्रकाशन गरिएका कृति र कृतिकारहरूमाथि नै डा. शर्माको ध्यान केन्द्रित रहेको छ । डा. पुष्प शर्माले इतिहासको दस्तावेज र युगीन जीवनको झलकलाई विश्लेषण र मूल्यांकन गरेर एउटा विशिष्ट प्रकारको निर्णय सार पेश गर्नुभएको छ, प्रस्तुत ग्रन्थ सिक्किमका नेपाली कविता मूल्यांकन र विश्लेषणबाट । प्रा. डा. भीमकान्त उपाध्यायले भूमिकामै उल्लेख गर्नुभएजस्तै डा. पुष्प शर्माले सिक्किमेली नेपाली कविताको विकास प्रक्रिया र सिक्किमको ऐतिहासिक महत्वको दस्तावेजलाई सार रुपमा प्रस्तुत गर्नुभएको छ । भारतीय नेपाली साहित्य वृत्तमा डा. शर्माको यो आधिकारिक ग्रन्थ हो । अहिलेसम्म सिक्किमका नेपाली कवितामाथि यसरी विहंगम दृष्टिबाट अध्ययन गरेर लेखिएको कुनै कृति देखा परेको छैन । ६६१ पृष्ठ नाघेको प्रस्तुत ग्रन्थबाट नेपाली साहित्यका पाठक, अध्येता र अनुसन्धानकर्ताहरू यथेष्ट लाभान्वित हुने आशा गर्न सकिन्छ । छैठौं अध्यायमा विभाजित यो ग्रन्थले सिक्किमको परिचय, नेपाली कविताको विकासक्रम परम्परा र सिक्किमेली नेपाली कविता, प्रमुख सिक्किमेली नेपाली कविता कृतिहरूको विश्लेषण, नेपाली कविताको वर्गीकरण, मूल्यांकन र निष्कर्षहरू प्रस्तुत गरेको छ । प्रस्तुत कृतिका माध्यमबाट सिक्किमेली कवितालाई तीन चरणमा विभाजन गरेर युगीन चेतनामाथि प्रकाश पार्ने प्रयास भएको छ । सिक्किमेली कविता क्षेत्रका लागि गौरवमय कार्य हो यो ।

नेपाली समालोचनाका क्षेत्रमा ख्याति आर्जन गर्नु भएकी डा. शर्माले आफ्नो लगन, मेहनत र इमान्दारिताको परिचय पेश गर्नु भएको छ, प्रस्तुत समीक्ष्य कृतिबाट । यस किसिमको समालोचकीय कार्यलाई प्रसिद्ध समालोचकहरूले ‘आराध्यको पूजा’ पनि भन्ने गरेको पाइन्छ । यो ‘आराध्य पूजा’ द्वारा स्रष्टा र साधकका कृतित्वमाथि नौलो बहस जारी गर्न सरल भएको छ । स्रष्टा–साधकप्रति छिद्रान्वेषण नगरी निर्णायक एवं गौरवपूर्ण भूमिका निर्वाह गर्ने यो कार्य–व्यापारलाई महत्व दिनु डा. शर्माको प्रमुख अभीष्ट हो । स्रष्टा र रचनाकारितामाथि समालोचकीय धारणाको औचित्यलाई लिएर अनातोले फ्रान्सले दिएको उदाहरण यहाँ मननीय छ । उनले एकपल्ट के भनेका थिए भने ‘यदि मैले शेक्सपियर र मिल्टनका बारेमा बोल्नु नै पर्छ भने म तपाइँहरूका समक्ष शेक्सपियर र मिल्टनका सम्बन्धमा आफ्नो धारणा राख्न चाहन्छु ।’

अहिले डा. पुष्प शर्माले अनातोले फ्रान्सले राखेको मूल्य र मान्यतालाई अगाडि सारेर हिँडेको बोध हुन्छ । स्रष्टाका बारेमा केही भन्ने भन्दा पनि तिनका कृत्यहरूका विषयमा धारणा र मान्यता बनाउनु चाहिँ समालोचकीय धर्म हो । त्यो धर्म निर्वाह भएको छ, यहाँ । यसरी डा. शर्माको अथक लगनबाट तयार पारिएको यो कृति सिक्किमका नेपाली कविताको विकासमाथि विश्लेषण र मूल्यांकन गर्ने सन्दर्भमा कोसेढुंगा सावित हुनसक्छ । त्यसैले पद्मश्री सानु लामाले यसलाई ‘विचारपूर्ण’ उत्कृष्ट र विशिष्ट कृति’ ठह¥याउनुलाई अतिशयोक्ति मान्न सकिन्न । उहाँले भनेजस्तै नेपाली साहित्यको ‘सफा गगनमा नीलो रङ पोत्ने’ जस्तो कार्य हो यो, जुन रङबाट साहित्यका रसभोक्ताहरू सुखद चक्षुक्रीडा गरिरहन पाउँछन् ।

चक्षुक्षुधालाई शान्त पार्ने शक्ति नील गगनकै बनौटमा छ । डा.शर्माले हामी सबैलाई त्यही नील गगनमा विचरण गराउन पुग्नु भएको छ, अहिले ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।