बगें कति पानी पानी, बल्ल एउटा आकार भयो,
छुटे सयौं सपना तर, आज एउटा साकार भयो ।
बक्र-रेखा जिन्दगीको, फेद न टुप्पो भई जिउँदा,
लाग्यो संधै लागिरह्यो, यो जिन्दागी बेकार भयो ।
बादल फाट्यो, औंसी गयो, डाँडामाथि जून चियायो,
जूनसंगै धुन बज्यो, मनभित्र यो झन्कार भयो ।
खडेरीमा सुक्या' रुख, ओस भेटे त पलाइहाल्छ,
सुसुप्तमा नसम्झनु, जिउनु यहाँ के सार भयो ।
बगें कति पानी पानी, बल्ल एउटा आकार भयो,
छुटे सयौं सपना तर, आज एउटा साकार भयो ।
क्याल्गरी, क्यानडा