19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

खुसीका आँशु

कविता डा. शिव गौतम July 7, 2013, 4:03 pm

आउ

हामी

अलिकति रोऔं

दुखमा होईन खुसीमा

परेलीमा तौलँदै मोतीका सङ्ला दाना |

प्रभातको आगमनमा

आँगनको गुलाफले पातभरी

रातभरी बटुलेका ओसका बाटुला दानाहरूले

विषाद हैन जून ताराको स्वाद भरेर दृश्यभरी पस्किन्छन |

धूवाँ धमिलो

मनको अमिलो

केहि बोझ केहि अफसोच

बाँच्नुका बिझेका चोटका आहतले छोडेका खत

बग्न दिऔं, बिलाउँन दिऔं, पग्लन दिऔं यी खुसीका न्याना थोपामा |

धरती प्रकृति पनि त

फक्रिन्छ मुस्कुराहट

झरनामा, बादलमा, वर्षामा, नदीमा, तालमा, सागरमा |

आउ

हामी

अलिकति रोऔं

दु:खमा होईन खुसीमा

परेलीमा तौलँदै मोतीका सङ्ला दाना |

(इसा पूर्व सन् २०० (अनुमानित) तिर महर्षि पिङ्गलले संस्कृत वाङ्गमयमा प्रयोग मात्राको अध्ययन, शोध र अनुसन्धान गरेर त्यसलाई लिपिबद्ध गरेको कुरा भनिएको छ । पछि उनको काम माथि अरू टिका र ब्याख्या हुँदै गए । १२ औं शताब्दिमा इटालीका गणितशास्त्रीले संख्याको एयटा बिशेष शृंखला प्रचारमा ल्याए जसलाई फिबोनाच्सी संख्या भनिन्छ । तर त्यो शृंखला पिङ्गलले शुरू गरको मात्राको अध्ययनलाई केलाउने क्रममा फिबोनाच्सी भन्दा पहिले नै भारतीय छन्दशास्त्री र गणित शास्त्रीहरुले पत्ता लाई सकेका थिए । तथापी यस्को आधुनिक गणितीय प्रसिद्धिको श्रेय फिबोनाच्सीलाई नै जान्छ । त्यसैले यी दुबैलाई सम्मान गर्दै फिबोनाच्सी शृंखलालाई अधार मानेर कविताको एउटा शैली शुरू गरको हो (शब्द र अक्षर दुबैलाई समाबेश गर्न सकिएला ) र नामाकरण गरेको छु "पिङ्गल -फिबोनाच्सी' कविता । यसलाई थुप्रै प्रकारले लेख्न सकिन्छ ।)

(पिंगल-फिबोनाच्सी शैलीको कविता हालै शिव गौतमले शुरू गर्नु भएको हो -सम्पादक)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।