19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नदी उत्सव

कविता रमेश श्रेष्ठ July 14, 2013, 1:35 pm

नदीहरू

स्तनले कविताहरू कोर्छन्

र, हृदयको बाँझो खनेर

क्षितिजले धरती टेकेर निदाएका

गीतहरू सुनाउँछन्

उक्लेर पहाडको निधारमा

पसिनाले जङ्गल भिजेको

कथाहरु लेख्छन्

उदास झुप्राहरूबाट

अभाव पखाल्न उठेका

खेतका हातहरू

चप्प समातेर

दरिलो बनाउने आँट बाँड्छन्

र, गर्भमा हुर्किरहेका

थुप्रै बालक नदीहरूका

ढुकढुकीहरू सुनाउँछन्

सडकभरि दृष्टि बिछ्याएर

इन्द्रेणी सन्तानहरुका शिरमाथि

आकाशको छानो कस्छन्

र, आफ्नो खुम्चिएको

निधारका धर्साहरू उप्काएर

जीवनमा हिँडनुपर्ने

लामा-लामा बाटाहरू देखाउँछन्

मूलहरूका भुलभुले आँखाहरू पुछेर

निरन्तरता र दृढताको

जीवन डोरीहरू बाट्न सिकाउँछन्

कहाँ भेटिएला नदीहरूलाई ?

झरनाको जस्तै लामो कपाल

सागरको जस्तै गहिरो आँखा

हिमालको जस्तै सुन्दर मुस्कान

जहाँ उभिइरहन्छ एउटा

गर्भिणी बिहान

त्यहीँ खोज्नु नदीहरूलाई

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।