19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

दावानल

कविता सुधीर छेत्री July 14, 2013, 2:09 pm

दन्दनी दावानलमा

जलिरहेछ माटो।

सॉंपले दंश बिछ्याएर नीलो हावामा

खैरे मरूभूमि अनुवाद गर्नचाहन्छ

अनि

बस्तीबाट निस्केका पराक्रमी रॉंकोहरू

उज्यालोको वान्ता गर्दै

धृतराष्ट्रलाई छायॉंको उपहार पस्किरहेछ।

समयको कीलामा

विद्रोहका गोरुहरू फन्फनी घुम्छन्

अनि दाइँबाट उछिट्टिएका

रोमान्टिक धानका खोस्टाहरू

कपोलकल्पित सपनाको ड्याङ्मा

चाकालचुकुल खेलिरहन्छन्।

भ्रान्तिका हुत्तीहारा खेतीवालहरू

मृगतृष्णाका बिरूवा बोकेर

कलिला ढुङ्गामा

अहिल्यालाई ढकढकाइरहेछन्।

यो आन्दोलनको आगो भीषण छ,

यसले आगो चपाउँछ

अनि फुप्रो ओकल्छ।

डढेर भष्म हुनेछन्

जुकाहरू र इन्द्रजाल बुन्ने वीषका थैलीहरू।

आफ्नै ध्वनिको बुमर्यारङ् खा नसकेका

काफरे वाल्पेपरहरू

आफ्नो बनावटको तन्त्रमा

अभिनयको मन्त्र फुक्न जान्दछ।

सन्त्रासको डल्ला पटेका बनाएर

पड्काउँदै

यो गाउँभरि तेरो शान्ति

चिथ्रा-चिथ्रा भएर फुट्यो,

अब यथास्थितिलाई संस्कारको देउता मानेर

त्यहीं धूप बालेर बस् मूर्ख।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।