19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

एक पत्र परदेशी सहेलालार्इ

कविता विजय देवकोटा July 14, 2013, 2:28 pm
विजय देवकोटा
विजय देवकोटा

प्रिय सहेला,

सारा विपना खोज्न हिँडेको योद्धा

हत्या गरिएको आफ्नै सपनाको लाश बोकी मुग्लान भासिँदा

के सोच्यौ कुन्नि त्यतिखेर ?

राहदानीको ठेक्का लिएको बताउने दलालजस्तै

विपनाको भ्रम छर्नेहरुलाई तिमीले

दलाल देख्यौ कि देखेनौ ?

तिम्रा सपना मार्न विष पिलाउनेलाई

हत्यारा ठान्यौ–ठानेनौ ?

सखारै एकटंकार सूर्योदय हेरेर मुस्काउने तिमीले

आफ्नै जीवनमा सूर्य अस्ताएको घोषणा कसरी ग¥यौ ?

अरुको जीवनमा तिमीले छरेको त्यो आभा

चन्द्रमाको मधुर उज्यालो थिएन र ?

कि औँशीको रातमा चम्कने

जुनकिरीको उज्यालो थियो ?

रातो बिहानी देखाउँछु भन्दै मध्यरातमा उठाएर

कि ढाँटेका थियौ तिमीले सहेलालाई ?

पत्थरको कोइला निलेका तिमीले

अपमानको प्याला किन हुत्याएनौ ?

जसमा विद्रोहको अगुल्टो गाड्दा

भस्मयज्ञ बन्न सक्थ्यो,

र तिमीले डढाउन पाउँथ्यौ तिम्रा सपना लुट्नेलाई,

किन यज्ञबाट भाग्यौ परदेशी,

के खाडीको मरुभुमी यज्ञभन्दा कम तातो छ ?

कि तिम्रो आँशुको भाऊ

अपमानको प्यालाजत्तिकै सस्तो थियो ?

पेटको राँको निभाउन खोज्ने तिमी

त्यो राँकोमा घ्यु थपि शीतल दिन्छु भन्नेहरु

कसलाई विश्वास गर्ने खालीखुट्टेहरुले ?

एकमा लाख विकल्प देख्ने तिमी

बाटोमा थुप्रिएको पहिरोदेखि किन डरायौ ?

हजारौं बाटाहरुको नक्सा कोर्न सक्थ्यौ होला तिमीले,

किन जीवनको नापनक्सै लिलामीमा राख्यौ ?

कि सवैले लिलामी राख्नुपर्ने हो जीवनको नापनक्सा ?

भनिदेउ सहेला : जिन्दगीको हिसाबकिताबमा

उत्साहका शेषहरु बँचेखुचेका छन्–छैनन् ?

सपना राम्रा छन् अचेल,

विपना चैं अर्धचेत छ,

तिमी भन्थ्यौ–सपनालाई विपनाले जित्नुपर्छ,

तर किन विपनाभन्दा सपना जागा छन् ?

प्रिय सहेला,

अकर्मण्यतामा फसेको छु यतिखेर

जवाफ पठाइदेउ है

पन्द्रुङ–३, जराङटारी , गोरखा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।