19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

सप्ताहान्तमा काठमाण्डौ

कविता चन्द्र घिमिरे July 21, 2013, 4:25 am

छ दिन उठ्न झर्किने फोनको मूड फेरिन्छ

र शनिवार कल गर्छ “यार, पप्लु नखेल्ने?”

साबुनको डल्लो रगडेर

हप्तावारी मैला माड्छ बाथरुम

बिहानै मर्निङवाक हिँडेको पोईलाई बुढीमाउको उर्दी

“छोरीज्वाइँलाई खसीको मासु लेराउनु”

डेरावाल पठ्ठोको लभलेटर खस्दा प्रसन्न छ लेटरबक्स

कान्छो छोरो बिराज क्रिकेट ब्याटसँग बाहिरिन्छ आइपिएल पोजिसनमा

चूल कटाउनेको लाइन दिनेश सेलुनमा

नाट्यकर्मी गुणराजको फुलेको कपाल

कालो रँगाउन व्यस्त ठाकुरको हात ।

सप्ताहान्त चालू छ अल्छिको क्रिम दल्दिन

बुद्धिसागरको उपन्यास च्यापेको मनोजलाई

फेसबुकमा लाइक हान्ने मूड छैन मेलिनालाई

डेटीङ प्लान बिग्रेपछि के गरोस?

सिरकमा सोनमको झ्याउ दिन झकाएको छ

ड्राइभर आइतमान जाती, पुरानो बानी खराब

आफ्नो फूटबल टिमको लागि रङ्गशाला पुग्ने

र विरोधी टिममाथि फोहोर मुख चलाउने

बुढा बद्रीविक्रम नाति गौरवसँग घाम चर्दा

दोहोरिन्छ तन्नेरीमा भर्ती लागेको छ दशक पुरानो कथाको रिप्ले

सप्ताहान्तमा मन्दिर छ कुशल बहाना

ऐश्वर्या र गितेशको कूटनीतिक प्यार जुराउने

शहरलाई ट्राउट खिलाउने ककनी मुनि ओशो आश्रम गर्दैछ ध्यान

ऐले नखोजे हुन्छ डाक्टर अमात्यलाई च्याम्बरमा

साँझतिरका लोकप्रिय पानीपुच्का भैया

जहाँ झ्याउँ–झ्याउँ गर्छन् एसएलसी दिएका टोले किशोरीहरू

सन्ध्याकालिन समाचार निक्लन्छ एफएमबाट

स्वास्नीको मोतिबिन्दुको अप्रेशन गराउन माग्नु भन्दा

किड्नीे बेचेर आजै फिरेछ इमानी माइतलाल

सप्ताहान्तमा विपक्षी नेताको उपचार भ्रमण छिमेकतर्फ

सरकार बदलिने हल्ला चलेसँगै ।

सप्ताहान्तसँग एक शँकास्पद चेहेरा पनि छ

छोरीको भाँचिएकोे हात बिर्सेर

काठमाण्डौको काखी गनाउने गल्लीको गारोमा

कम्लरी गीत लेख्ने श्रवण मुकारुँग ।

कोलकाता

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।