19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

म एक्लो भएछु

कविता डा. मदनराज पौडेल July 20, 2013, 8:36 pm

जन्म लिएदेखि एक्लो हुन्न भन्दाभन्दै

मानिसको बीचमा चिनारी गर्दागर्दै

आफन्त बीचमा आफूलाई परिचित गराउँदा गराउँदै

म एक्लो भएछु

जन्मिएको थाहा नपाउँदै

आमाको मुख राम्रोसंग हेर्न नपाउँदै

आमासंग छुट्टिएको थाहै नपाई

म एक्लो भएछु

हजुरआमालाई आमा भन्दाभन्दै

भावीले टुहुरो बनाएको थाहै नपाई

आफ्ना सबै छन् भन्दाभन्दै

म एक्लो भएछु

हुर्कने क्रममा सुखद भविष्यको कल्पना गर्दागर्दै

विद्या हासिल गर्दागर्दै

असल कार्य गर्छु भन्दाभन्दै

म एक्लो भएछु

माया गर्ने आमा-बाबु नभए पनि

असल छोरा हुन्छु भन्दाभन्दै

टुहुरो पो रहेछु भन्ने सोच्दासोच्दै

म एक्लो भएछु

छोरा-छोरी हुर्काउँदा हुर्काउँदै

आफ्ना अरु कोही नभए पनि

छोरा-छोरी त छन् भन्दाभन्दै

म एक्लो भएछु

थोरै दिनको लागि एक्लो भएको छु भन्दाभन्दै

केही समयपछि एक्लो हुन्न भन्ने बिश्वास गर्दै

सबैतिरबाट बाटो टुंगिएको देख्दा

मलाई लाग्छ म एक्लो भएछु

सबैलाई आफ्नै जस्तो ठान्दाठान्दै

सबैसंग घुलमिल हुँदाहुँदै

सबैलाई आफ्नो निकट भन्ने सोच्दासोच्दै

म एक्लो भएछु

भाग्यको कुरा हो भाग्यलाई सपार्छु भन्दाभन्दै

अरुले दिएको सराप भए पनि मेटाउँछु भन्दाभन्दै

आफू एक्लो भैसकेको थाहै नपाई

म एक्लो भएछु

म एक्लो हुनामा कसैको दोष हैन भन्दाभन्दै

यसको कारण स्वयम् म नै हूँ भनेर सोच्दासोच्दै

यस अभियोगबाट अरुलाई जोगाउने क्रममा थाहै नपाई

म एक्लो भएछु

हे ईश्वर, अरु आफ्नो केही नभए पनि

कसैले मलाई नगने पनि

तिमी त संगै छौ भन्दाभन्दै

म एक्लो भएछु

अब म कसलाई कहाँ खोज्न जाउँ

म अब कसलाई आफ्नो भन्न जाउँ

ईश्वर, तिम्रो पूजा-अर्चनामा सधैं लिप्त रहँदा पनि

किन हो कुन्नी

म साँच्ची नै एक्लो भएछु

ग्यालप, न्यू मेक्सिको

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।