जन्म लिएदेखि एक्लो हुन्न भन्दाभन्दै
मानिसको बीचमा चिनारी गर्दागर्दै
आफन्त बीचमा आफूलाई परिचित गराउँदा गराउँदै
म एक्लो भएछु
जन्मिएको थाहा नपाउँदै
आमाको मुख राम्रोसंग हेर्न नपाउँदै
आमासंग छुट्टिएको थाहै नपाई
म एक्लो भएछु
हजुरआमालाई आमा भन्दाभन्दै
भावीले टुहुरो बनाएको थाहै नपाई
आफ्ना सबै छन् भन्दाभन्दै
म एक्लो भएछु
हुर्कने क्रममा सुखद भविष्यको कल्पना गर्दागर्दै
विद्या हासिल गर्दागर्दै
असल कार्य गर्छु भन्दाभन्दै
म एक्लो भएछु
माया गर्ने आमा-बाबु नभए पनि
असल छोरा हुन्छु भन्दाभन्दै
टुहुरो पो रहेछु भन्ने सोच्दासोच्दै
म एक्लो भएछु
छोरा-छोरी हुर्काउँदा हुर्काउँदै
आफ्ना अरु कोही नभए पनि
छोरा-छोरी त छन् भन्दाभन्दै
म एक्लो भएछु
थोरै दिनको लागि एक्लो भएको छु भन्दाभन्दै
केही समयपछि एक्लो हुन्न भन्ने बिश्वास गर्दै
सबैतिरबाट बाटो टुंगिएको देख्दा
मलाई लाग्छ म एक्लो भएछु
सबैलाई आफ्नै जस्तो ठान्दाठान्दै
सबैसंग घुलमिल हुँदाहुँदै
सबैलाई आफ्नो निकट भन्ने सोच्दासोच्दै
म एक्लो भएछु
भाग्यको कुरा हो भाग्यलाई सपार्छु भन्दाभन्दै
अरुले दिएको सराप भए पनि मेटाउँछु भन्दाभन्दै
आफू एक्लो भैसकेको थाहै नपाई
म एक्लो भएछु
म एक्लो हुनामा कसैको दोष हैन भन्दाभन्दै
यसको कारण स्वयम् म नै हूँ भनेर सोच्दासोच्दै
यस अभियोगबाट अरुलाई जोगाउने क्रममा थाहै नपाई
म एक्लो भएछु
हे ईश्वर, अरु आफ्नो केही नभए पनि
कसैले मलाई नगने पनि
तिमी त संगै छौ भन्दाभन्दै
म एक्लो भएछु
अब म कसलाई कहाँ खोज्न जाउँ
म अब कसलाई आफ्नो भन्न जाउँ
ईश्वर, तिम्रो पूजा-अर्चनामा सधैं लिप्त रहँदा पनि
किन हो कुन्नी
म साँच्ची नै एक्लो भएछु
ग्यालप, न्यू मेक्सिको