19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डर देखाएको छ

कविता गोपाल ढकाल July 26, 2013, 8:34 pm

कसरी आउनु छेउमा ?

कसैले डर देखाएको छ, अंगालौ कसरी

नअंगालौ कसरी?

तिम्रो महिमा जन-जनमा अमिट छ।

घिनाउनु स्वभाविक हो

मान्छे हूँ,

चिम्लिएर आँखा

स्पर्श गर्नु छ

तिम्रो शीतलता छेवैबाट लिनु छ।

तिमी त्यस्ती होइनौ

तिमीलाई बनाउने त्यस्ता

मान्छे पापी, दूरगन्धी, फोरी।

कसले गाएन तिम्रो गुण

महिमा पवित्रता वर्णित

कहॉं छैन र,

टाड़िन मन कसलाई छ तिमीदेखि

भेट्न आउँछन् हजारौं

श्रद्धा र भक्ति उत्तिकै

पखाल्न अनि पखालिन

माया गर्न

अंगाल्न, हातमा राखेर चुम्न

कसले चॉंहदैन।

म पनि आए भेट्न

प्रफुल्ल मनले स्पर्श गर्न

मन लाग्यो, तर डर

देखाएको छ कसैले

स्पर्शपछि मेरोमा विकार आउँछ

प्रभाव पर्छ तिम्रो शीतत्वमा

उष्णत्व थप्ने रिपुको।

म मूर्छित हुन्छु

वेडमा सुतेर तिम्रो रक्षा,

सम्बर्धन गर्न सक्दिन

तिमीलाई बचाउँनु छ

हॉंसेको हेर्नु छ।

हो, तिमी

अरूको आँशु पुछेर

हिँडिरहन्छौ दुःख

वेदना सहेर पनि

निरन्तर मुस्कान छोड्छौ

मुस्कान भित्रको पीड़ा

म जान्दछु।

अरूको आँशु पुछेर आफ्नो

लुकाउँछौ यो पनि जान्दछु

तिम्रो कृपाको आशिर्वादको

यो लोक ऋणी छ।

दान दिन्छौ लिन जान्दैनौ,

तिमीमाथिको अन्यय हॉंसेर सहन्छौ

लत्याउँनेहरूमाथि पनि

मुसुक्क हॉंस्छौ

जेदिए पनि पचाउँछौ, अशिष्ट भन्दैनौ

तिम्रो भावना अहिंसात्मक

तर कोच्याउँछन् अव्यस्थित तरिकाले

त्यो पनि पचाउँछौ।

अनि हॉंस्दै हॉंस्दै

अविरल गतिमा हिँड़िरहन्छौ।

हेर्न सकिन मैले, माता!

के गरौं म, पुत्र हूँ तिम्रो

अङ्गाल्न मन लाग्छ

मैले बॉंच्नु छ, डर लाग्छ

म गएँ भने अन्तमा

अवशेष त यहीं आइपुग्छ

आज टाड़ाबाट हेरें तिमीलाई

आउँनु कसरी लाझ लाग्छ, सान्निध्यमा

बसेर तिम्रो अंकमा

ढलिमली गर्न मनपर्छ।

त्यो आनन्द ऐले कल्पित छ,

यथार्थमा तब हुन्छ

जब मेरो संकल्प पूर्ण हुन्छ

म आउँछु फेरि तिम्रो

अधिकार, स्वतन्त्रता, पवित्रता

शीतलता अनि सुन्दरता

जति थिए त्यति लिएर

म आउँछु तिम्रो चरणस्पर्श गर्न

भक्ति मनमा छ,

तिमी मेरो अन्तर्मनमा

बगिरहेकी छौ भगिरथको

यामकी गंगा बनेर...........।

लिङमो, दक्षिण सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।