धर्मङ्कटको आँधी
चलेको छ अचानक र प्रेत बालुवा
बौरिएर उठेको छ
शहर पस्न
मान्छे डस्न
धुलाम्मे यो मरूभुमिको चेहरामाथि
फेरि एउटा प्रलयङ्कर भुमरी उठेको छ
आत्तिएका छन् सपनाहरू एकाएक
भोलिका रोडम्याप
र लक्ष्यका महत्त्वकाङ्क्षी खाकाहरू
लुकामारी शुरू भएको छ पराजयसँग फेरि
यो रणसङ्ग्रामको मरूभुमि छेउ
झनै नाङ्गिंदै गएको यो नाङ्गो मरूभुमिमाथि
आफ्नो झनै वीभत्स नाङ्गो रुप !
तर यी दुर्दम जिजीविषाहरू
सुर्इंकुच्चा ठोक्न तैयार छैनन्
त्यसै मर्न पनि तैयार छैनन्
आशाका घाम जून कतै अलप हुँदै गएका छन्
यो अन्धकारमा दुहाइका स्वरहरू निमिट्यान्न पार्न
पर्वत चार पाउ टेकेर उठ्न लागेको छ
यो मरूभुमिको देशमा अजीवको पहाड उठेर
पहिरो लड्न तैयार छ
गज्जबै भएको छ यो अजबको मरूभुमिको छेउ
प्रवास च्यापेर काखी, लडिरहेका योद्धाहरू छेउ
न्याँनो पारिवारिक सुखलार्इ
तिलाञ्जली दिएर
बनबास भोगिरहेका बनबासीहरू छेउ
तर पनि दुर्दम जिजीबिषाहरू
चार पैसामा अस्तित्व गुमाउन तैयार छैनन्
दूर लक्ष्यदेखि
हुतिहाराको सक्कल खोस्न तैयार छैनन्
फेरि एक ‘लादेन’ को मृत्युदण्ड माँग्ला यो मरूभुमिले
फेरि एक श्रमिक शहिद बन्ला यहाँ
फेरि एक श्रमिक टुहुरो बन्ला
या फेरि एक श्रमिक विधूर बन्ला, विधुवा बन्ला
यहीं मरूभुमिमा
म उद्घोष गर्दछु
यो मरूभूमिको छेउ मरूभुमि झै उदाङ्गिएर
म चिच्याउँदैछु यो प्रवासको नर्कछेउ नाङ्गिएर
मानब बधशालाछेउ उभिएरः
प्लास्टिकका हृदय भएका रोबोटहरू हो
प्लास्टिककै आँखा भएका अमानवहरू हो
कान खोलेर सुन
चाहे तिम्रो नुनिलो समुद्र जतिको
आँशु नै किन नबगोस
तिम्रो अभिमानको त्यो समुद्रले
बगाउँन सक्ने छैन
भत्काउँन सक्ने छैन
कुनै पनि जिजीविषा
भुत्रो हल्लाउँन सक्ने छैन
कसै कोहीको मुढे बलले या अभिमानले
किनभने, हामी घरबास छोडेर यो प्रवासमा
सुनामी भन्दा तिक्खर, साइक्लोन भन्दा खतरनाक
जीजिबिषा लिएर
मर्न हैन जिउँन आएका हौं
हट्न हैन डट्न आएका हौं
साँच्चै लड्न आएका हौं हर पल पलसँग
हरेक काँडे दिनहरूसँग
प्रवाससँग
मरूभूमिछेउ कतै
यी दुर्दम जिजीविषाहरू
बिनसित्ति आत्तिएर रून तैयार छैनन्
बिनसित्ति आत्मसमर्पण गरेर हार्न पनि तैयार छैनन् ।
दम्माम केएसए