15 वर्ष देखी निरन्तर
समकालीन साहित्य

राम्रो मान्छे

कविता शिव प्रकाश July 26, 2013, 3:50 pm

ऊ राम्रो हैन,

असाध्यै राम्रो छ,

राम्रो मान्छेले जे ’नि गर्छ

र, जे ’नि गर्ने मान्छे नै राम्रो हुन्छ ।

ऊ हिजो ’नि, जे ’नि गर्थ्यो

आज ’नि, जे ’नि गर्छ

खासै फरक छैन हिजो र आजमा

फरक मात्र एउटै छ–

हिजो ऊ सियो भएर जे ’नि गर्थ्यो

आज ऊ फाली भएर जे ’नि गरिरहेछ ।

जे ’नि गर्ने राम्रो मान्छे–

सन्मुख हुँदा ’नि, जे ’नि गर्छ

विमुख हुँदा ’नि, जे ’नि गर्छ ।

ती नराम्राहरुलाई के थाह

कति गाह्रो छ राम्रो हुन ?

कति ठूलो शक्तिm र साहस चहिन्छ ?

कति षड जोडिएको यन्त्र चलाउने

शिल्प र सामर्थ्य चाहिन्छ ?

पुग्दैन त्यतिले मात्र,

चाहिन्छ ठूलो त्याग र वलिदान पनि

बनाउनु पर्छ– निष्ठा र नैतिकतालाई

लाज्जा र स्वभिमानलाई हाँसीहाँसी शहीद ।

हो, जे ’नि गर्नु पर्छ राम्रो हुन

त्यसैले राम्रो मान्छे–

जे ’नि गर्नाका लागि जे ’नि गर्छ !

बुझेको छ राम्रो मान्छेले –

अहिले मान्छेलाई असल हैन, राम्रो चाहिएको छ ।

(अशृङ्गार कविता अभियान....)

हालः बोस्टन, अमेरिका ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।