14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

‘वसन्ती’ उपन्यासको कथानकीय अन्तर विकास

कृति/समीक्षा डा. यदु नन्दन उपाध्याय July 26, 2013, 4:10 pm

क) विषय प्रवेश :

सुप्रसिद्ध उपन्यासकार डायमन शम्शेर राणा (१९७५–२०६७) आधुनिक नेपाली उपन्यास सिर्जनाका प्रतिभाशाली स्रष्टा हुन् । उनका ‘वसन्ती’ (२००६), ‘सेतो बाघ’ (२०३०) ‘प्रतिबद्ध’(२०३४) ‘सत्प्रयास’ (२०३८) र ‘अनिता’ (२०४३) उपन्यास प्रकाशित छन् । उनका उपन्यासको भावभूमि नेपालको सत्तासँग सम्बद्ध इतिहास र त्यस आडमा सिर्जित मौलिक कल्पना हो । उपर्युक्त उपन्यासहरूले उनलाई मूलतः नेपाली साहित्यका प्रभावशाली ऐतिहासिक उपन्यासकारका रूपमा परिचित गराएका छन् । ‘वसन्ती’ पनि नेपालको ऐतिहासिक कोतपर्व हुनुपूर्वको इतिहाससँग सम्बन्धित महत्त्वपूर्ण उपन्यास हो । उपन्यासकी नायिका वसन्तीका नाममा शीर्षक निर्धारण गरिएको प्रस्तुत उपन्यासमा दुई भिन्न कथावस्तुलाई एउटै कृतिमा संयोजित गरिएको छ । यसमा मुख्य रूपमा उपन्यासकारले निर्माण गरेकी मौलिक पात्र वसन्ती तथा नेपालको इतिहासको व्यक्ति गगन सिंहसँग सम्बन्धित दुखान्तीय प्रेमकथा प्रस्तुत गरिएको छ । साथै भीमसेन थापाको अवसानपछि तथा कोतपर्वपूर्वको नेपालको दरबार केन्द्रित राजनीतिक शक्ति संघर्षको विवरण पनि प्रस्तुत छ । त्यस क्रममा जङ्ग बहादुरको व्यक्तित्वलाई आदर्शीकृत गरी सकारात्मक, राष्ट्रभक्त र राजभक्तमा चित्रित गर्ने प्रयास भएको छ । यी दुईमध्ये पहिलो प्रेम प्रणय सम्बद्ध कथावस्तुले पाठकको हृदयलाई पगाल्छ,, प्रशस्त मात्रामा उत्सुकता सिर्जना गर्दछ र भावातिरेक पनि तुल्याउँछ भने दोस्रो इतिहास सम्बद्ध कथावस्तुले आङै जिरिङ्ग हुने नेपाली दरबारिया र तिनका आसेपासेका पुख्र्यौली इतिहासको सनसनीपूर्ण, भयानक एवम् वीभत्स हत्या र षड्यन्त्रसँग साक्षात्कार गराउँछ । विशेष गरी तत्कालीन दरबारी राजनीतिको चरम शक्ति संघर्ष, गुटबन्दी, ह्रिंसक योजना र बर्बरतापूर्ण काण्डले लथालिङ्ग बनेको नेपालको इतिहासलाई छर्लङ्ग पार्छ । असक्षम र अयोग्य राजा, कुटिल एवं सौतेनु शत्रुताको स्वार्थी चिन्तन गर्ने महारानी, बहुलठ्ठीपूर्ण कार्य गरेर जनतालाई सताउने युवराजको सत्ताको दाइँ रजाइँको दुखदायी परिणामको व्याथा देखाउँछ । सानो र तुच्छ स्वार्थका निम्ति शक्तिशाली पदमा नियुक्ति गर्न र बर्खास्त तथा हत्या समेत गर्न सजिलै मान्ने रानीका बदनियतपूर्ण कार्यका अगाडि कैयन नेपालीहरूले भस्मीभूत हुनु परेको कथालाई पनि व्यक्त गर्दछ । त्यस कारण ‘वसन्ती’ उपन्यास मूलतः वसन्ती र गगन सिंहको प्रेमकथामा आधारित रहे पनि नेपालकै इतिहासको सनसनीपूर्ण र अस्थिर राजनीतिक घटनालाई अभिव्यक्त गर्न पनि सक्षम बनेको छ । इतिहासलाई आडमा लिएर उपन्यासकारले कारुणिक एवम् मार्मिक दुखान्तक कथा रचेका छन् । कल्पना र मौलिक भावनाको स्वच्छन्द सिर्जना गरेका छन् । यसलाई पढेर मान्नु पर्छ जीवन र इतिहासलाई एकसाथ मार्मिक अभिव्यञ्जना दिनमा नेपाली उपन्यास साहित्य साँच्चि नै कति अघि छ,, कति बढेको छ (दिननाथ, २०५६ ः भूमिका) । प्रस्तुत लेखमा उपन्यासका प्रेम प्रणय सन्दर्भित र इतिहास सन्दर्भित घटनाक्रमको अन्तर विकास र विशेषतालाई बेग्लाबेग्लै केलाउने पयत्न गरिएको छ ।

ख) उपन्यासको प्रणयमूलक पक्ष ः

‘वसन्ती’ जम्माजम्मी २७ परिच्छेद तथा १७२ पृष्ठमा विभाजित र संयोजित उपन्यास हो । यसका अधिकांश परिच्छेद र पृष्ठहरू प्रेम प्रणयको कथावस्तुलाई प्रस्तुत गर्नमा खर्चिएका छन् । उपन्यासको थालनी पनि प्रेम प्रणयमै भएको छ तथा समाप्ति पनि त्यसकै दुखद अन्त्यमा भएको छ । त्यति मात्र नभई उपन्यासको केन्द्रीय प्रभावको सिर्जनामा इतिहासका घटनाक्रमभन्दा अझ बढी संवेदनशील प्रेम प्रसङ्गले पारेको छ । तसर्थ उपन्यासको मूल कथावस्तु प्रेम सन्दर्भमा आधारित रहेको छ । उपन्यासको सुरुमा विवाहित गाउँले किसानपुत्री मिठू र दरबारी पहिरनमा ठाँट्टिएको युवक गंगेको पुल्चोकको पाटीमा पानीबाट ओत लाग्न बसेको बेला भेट हुन्छ । तिनीहरूका बिचको प्रथम भेटमै हार्दिक प्रेम पलाउँछ, विकसित हुन्छ र झाङ्गिन्छ पनि । मिठू जाउलाखेलको किसान ज्ञान बहादुरकी एक्ली सन्तान हो । उसको विवाह दरबारको चौतरिया फत्यजङ्गको चाकरी गर्ने कुरिया गाउँको डम्बर बहादुरसित भएको हुन्छ । पाटीमा भेट भएको गंगे पनि दरबारकै कान्छी महारानी लक्ष्मीदेवीको निकटस्थ एवम् विश्वस्त व्यक्ति हो र ज्ञान बहादुरको भदा पनि हो । तिनीहरू नाताले दाजु बहिनी पर्ने तर जातीय संस्कारमा विवाह आदन–प्रदान हुन सक्ने भएपनि मिठूको विवाह भइ सकेको छ । तर पनि ती दुईका बीच प्रेमाकर्षण व्यक्त भएको छ र एक महिनासम्मको प्रणयासक्ततामा मिठूका बाबुआमाको कुनै प्रतिक्रिया र कुराकानीको प्रसङ्ग आउँदैन । निरुद्देश्य दरबारबाट निस्केको गंगे महिना दिनसम्म पुसाजुका घरमा बस्छ र विवाहित बहिनीसँगको प्रेमक्रीडामा निमग्न रहन्छ । उनीहरू दुवै एकअर्कामा मायाप्रीतिमा कस्सिदै र मस्किदै जान्छन् । गंगेले दरबारभित्रको इन्द्रसभा नाटक, सुसारेहरूको रहन सहन र चर्तिकला आदि र अन्य आकर्षक विवरण सुनाएर मिठूलाई दरबारिया जीवन शैली र वातावरणप्रति आकृष्ट पार्छ । मिठूले पनि आफ्नो किशोर लोग्ने डम्बरे र युवक गंगेलाई मनमनै दाँज्छे । डम्बरेमा भन्दा गंगेमा परिपक्वता र आकर्षण पाउँछे । यही क्रममा पत्नी मिठूलाई भेट्न डम्बरे ससुराली गाउँ जाउलाखेल आइ पुग्छ । उसले आफ्नी पत्नीलाई गंगेसित एकान्तमा छिल्लिएर कुराकानी गरेको र जिस्किएको देख्छ । डम्बरे आफ्नै नजिकै आएको थाहै नपाई तर डम्बरेले सुन्ने गरी ‘‘मारेकाटे पनि डम्बरेसित जान्नँ’’ (राणा, २०० ः १४) भनेर मिठूले गंगेसँग भन्छे । डम्बरे आफ्नी पत्नीका त्यस्ता कुरा सुनेर एकछिन अवाक् रहन्छ र आत्मग्लानिको गम्भीर आघातमा पर्छ । आफ्नै पत्नीसित परपुरुषले जिस्किँदै प्रेम क्रीडा गरि हेको आफ्नै आँखाले देखेर पनि डम्बरेले खासै प्रतिवाद गर्न सक्तैन । केवल एकदुई कुरा मिठूलाई सुनाएर थन्किन्छ । अझ आफ्नी आमाको चारधामको यात्रा गर्दा लाग्ने पैसाको जोहो गर्ने लोभ र गंगेको मिठूलाई दरबार प्रवेश गराउने योजनामा सजिलै सहमत हुन्छ । विवाहित महिलाले दरबारमा प्रवेश पाउन नसक्ने हुनाले डम्बरे एक हजार रुपियाँको लोभमा पत्नी मिठूलाई बहिनी बनाई प्रवेश गराउन राजी हुन्छ । यस प्रसङ्गले एकातिर दरबारमा कलिला केटीहरूलाई मात्र प्रवेश गर्ने अनुमति रहेको तथ्य उजागर हुन्छ भने अर्कातिर डम्बरेसितको मिठूको पतिपत्नीको सम्बन्ध विच्छेदको सन्दर्भलाई पनि सङ्केत गर्दछ । हुन पनि त्यसपछि मिठू र डम्बरेको पतिपत्नीको सम्बन्ध जोडिन सक्दैन ।

उपन्यासको कथानकीय विकासमा विवाहिता मिठूसँग गंगेको प्रेमाकार्षण नै प्रारम्भिक समस्याका रूपमा प्रस्तुत भएको छ । त्यसको विकास भने सिलसिलाबद्ध र स्वाभाविकताका साथ हुन सकेको छैन । विवाहित मिठू पहिलो पटक भेट भएको अपरिचित गंगेसँग हुरुक्क भएर प्रस्तुत भएकी छ । गंगे पनि खास उद्देश्य लिएर दरबारबाट निस्किएको देखिन्न । उसको पुसाजुका घरमा एक–एक महिनासम्मको प्रेम क्रीडाप्रतिका साथको बसाइ र परिवारको त्यस प्रेम क्रीडाप्रतिको मौनता स्वाभाविक लाग्दैन । नवविवाहित छोरीका चालचलनप्रति अभिभावकको सामान्य दृष्टि र चासो हुनु पर्ने हो त्यो पनि व्यक्त भएको छैन । अझ डम्बरेले नै सुन्ने गरी मारेकाटे पनि नजाने भनी मिठूले भनेको कुराले उपन्यासको समस्यालाई अझ सशक्त तुल्याउँछ । त्यस क्रममा डम्बरेमा आफ्नी पत्नी वसन्तीका प्रेमप्रतिको घृणा र प्रतिशोधात्मक भावना पनि जागृत हुन नपाउँदा उपन्यासको द्वन्द्व र क्रियामा शिथिलता प्रकट हुन्छ । अझ त्यहीँ गंगेका जोडबलमा पत्नीलाई बहिनी बनाई दरबार भित्र्याउन डम्बरे राजी हुनाले उसको थप कमजोरीलाई अभिव्यक्त गरेको छ । यसबाट उपन्यासमा गंगे र मिठूको प्रेममा अवरोध खडा पर्ने पक्ष कमजोर रहेको वा यहाँसम्मका घटनाले अरु नै कुनै पक्षले अवरोध खडा गर्न सक्ने सम्भावनालाई पनि सङ्केत गरेका छन् । यस क्रममा मिठूले दरबारमा प्रवेश पाउँछे र कोठामोचे दर्जाको काम थाल्छे । उसको नाम पनि फेरिन्छ र महारानी लक्ष्मीदेवीले वसन्ती नाम राखी दिन्छन् । उसको सौन्दर्यमा पनि थप चहक देखा पर्छ । दरबारको राजनीतिमा पनि ठूलो फेरबदल हुन्छ । पदोन्नति प्राप्त गरी गंगे काजी गगन सिंहमा परिणत हुन्छ । माथवर सिंह थापा प्रधानमन्त्री हुन्छ । वसन्ती र गगन सिहको प्रमे गाढा बन्दै त जान्छ तर त्यसमा महारानी बनी सकेकी लक्ष्मीदेवीसँगको गगन सिंहको अवैध सम्बन्धले व्यवधान खडा गर्दछ । महारनीको शक्तिशाली व्यक्ति र निकै घनिष्ठ सम्बन्ध भएको व्यक्ति समेत भएकाले गगन सिंहले वसन्तीलाई दरबारबाट सुटक्क भगाई आफ्नै खुवा वसन्त बागमा लगेर राख्छ । मिठू र गंगे छँदै गाढा बनेको प्रेम अब भावुक उद्वेलन र आन्तरिक हँुडलोमा अभिव्यक्त हुन थाल्छ । उपन्यासकारले वसन्ती र गगन सिंहको प्रेम सम्बन्धको व्याख्या यसरी गरेका छन्– ‘‘जस्तो कोइलीले बगैचलाई, पुतलीले बत्तीलाई, भमराले पूmललाई, च्याँखुराले चन्द्रमालाई प्रेम गर्छन्, त्यस्तै गाढा प्रेम वसन्ती र गगन सिंहका बिच परेको थियो र (राणा, २०५६ ः ३९) ।” त्यस्तै अर्को ठाउँमा भनेका छन्– ‘‘गगन सिंहले दुवै बाहु पैmलाएर प्रेम पूर्वक अँगालोभित्र च्याप्यो अनि गहिरो प्रेम व्यक्त गर्ने स्वरले ‘सुवा’ भन्यो । वसन्तीले पनि गाला गगन सिहको काँधमा राखेर प्रेमपूर्ण स्वरले ‘देवु’ भनेर माया र भक्ति व्यक्त गरी छातीमा लिसिक्क लिप्सिई (राणा, २०५९ ः ४०) ।” त्यतिखेर पहाडमा प्रेमिकालाई मायाले ‘सुवा’ भन्ने तथा प्रेमीलाई ‘दैवु’ भन्ने प्रचलन रहेको सन्दर्भै पनि उपन्यासकारले प्रस्तुत गरेका छन् । साँच्चै वसन्ती र गगन सिहको प्रेम मन गरुङ्गो बनाइ दिने, नारी हृदयलाई आहत बनाइ दिने र हृदय तन्तुलाई निमोठनामोठ पारि दिने खालको छ । गगन सिहले मनभरिको माया वसन्तीमा खन्याएको त छ तर कताकता उसको मायाामा आत्मीय समानताभन्दा पुरुष प्रधान समाजका पुरुषको दया परक प्रेमको गन्ध पनि आउँछ । उसले वसन्तीलाई सगौरव पत्नीका रूपमा स्वीकार गर्न सकेको पनि छैन । वसन्तीलाई पत्नीका रूपमा विधिपूर्वक नस्वीकार्दा गगन सिह पुरुष भएकोले खास असर पदैन तर वसन्ती स्त्री भएकीले भोग्नु पर्ने सामाजिक प्रहार र मानसिक पीडा कति गहिरो र वेदनादायी छ पाठकलाई सहजै अनुभव हुन्छ । उसको विवाहित पति डम्बरेसँग सम्बन्ध त्याग भइ सक्यो । एक हजार रुपियाँमा बेचिएजस्तै भएर ऊ दरबार पसेकी हो । त्यसरी दरबार पस्नुमा र डम्बरेसँग सम्बन्ध विच्छेद गर्नुमा उसको केटौले भावुक प्रेमको पनि दोष नरहेको होइन । तर उसले वसन्त बागमा एक दृष्टिले थुनिएर बस्नु परेको छ । गगन सिह कहिले आउला भनी प्रतीक्षा गरेर एक्लोपनको कहर काट्नु परेको छ । गगन सिह पनि वसन्तीसित एक्लिएर दरबारी कामकाजमा भुल्नु परेकोमा अत्यन्त व्याकुल बन्छ । एक रूपले हेर्दा सुन्दरी वसन्तीको भोगका निम्त मात्र तानिएर भेट्न आउने त होइन ? भनी प्रश्न गर्ने ठाउँ उपन्यासका सुरुतिरका घटनाक्रमले देखाएका छन् । माया त एउटा सामन्तले सुन्दर दासीप्रति पनि प्रशस्त मात्रामा गरेको हुन्छ तर त्यस मायामा फगत कामुकतालको गन्ध आउँछ, प्रेमको पूजा हुँदैन । यस शंकामा बल दिने काम डम्बरेले वसन्तीलाई भेटेर भनेका निम्न प्रसङ्गले अझ गरेका छन् । डम्बरे भन्छ,– ‘‘के तिमीलाई विधिपूर्वक अपनाइ सक्यो ? तिमी त्यसकी अर्धाङ्गिनी भएको कुरा सरकारमा जाहेर छ (राणा, २०५६ ः ३७) ?” हुन पनि हो एकमन दुई जिउजस्ता देखिने वसन्ती र गगन सिहका बिचका कुराकानीमा वसन्तीको बाबु थुनिएको कुरा किन खुल्न सकेन । दरबारको शक्तिशाली गगन सिहले वसन्ती भागेका कारण ज्ञान बहादुर थुनिएको कुरा थाहा नपाउने कुरा त हुन सत्तैmन पनि । यति महत्त्वपूर्ण कुरो वसन्तीबाट लुकाउँदा उसको छल प्रकट भएन र ? त्यस्तै गगन सिंह र वसन्तीको प्रेम समानतापूर्ण नरहेको हो कि भन्ने कुरो तलको भनाइले पनि पुष्टि गर्दछ । ‘‘वसन्ती आफ्नो सम्पूर्ण शरीरलाई गगन सिंहको अधिकारको वस्तु सम्झन्थी अनि त्यसमा गगन सिंह खेलेको, रमाएको, मनपरि गरेको हेर्नमा साह्रै खुशी हुन्थी । जसो गगन सिंहले भन्थ्यो उसै मान्थी । (राणा, २०५६ ः ४२) यी कथनले त वसन्ती केवल गगन सिंहकी विलासिता र उपभोगकी साधनजस्ती मात्र लाग्दिन र ? उपन्यासका पछिल्ला घटनाहरूले गगन सिंहको आत्मीय र त्यागपूर्ण प्रेमको केही हदसम्म परिचय दिएका छन् तर पनि वसन्तीको प्रेमका तुलनामा गगन सिंहको प्रेमको उचाइ उठ्न सकेको छैन । ऊ महारानीलाई मन परेका बेला आत्मीय प्रेमीजस्तो बन्दछ तर मन नपरेका बेला सबभन्दा घृणा र तिरस्कारको वस्तु सरह बन्न बाध्य हुन्छ । गगन सिंहले लक्ष्मदिेवीसँग प्रेम त गरेको छ तर उपन्यासले भन्न चाहेको छ कान्छी रानीसितको त्यो प्रेम गगन सिंहको दरबारी आवश्यकता मात्र थियो (राई, २०५०, ः १०५) । उसको हृदय वसन्तीमा केन्द्रित थियो तर त्यो कुरा रानीलाई थाहा हुनासाथ उसमाथि भयानक प्रहार थोपरिन्थ्यो । गगन सिंहलाई अर्की स्त्रीसँग प्रेम गर्ने वा वैवाहिक सम्बन्ध जोर्ने स्वतन्त्रता छैन । त्यस कुरालाई वसन्ती र गगन सिंहको निम्न संवादले प्रष्ट पार्दछ । ‘‘हजुरले मलाई यही पहाडमा मात्र लुकाइराख्ने ? के म कहिले पनि हजुरकी धर्मपत्नीका हैसियतले काठमाडौँको बिच छातीमा कुल्चन पाउन्नँ (राणा, २०५६ ः ४३) । प्रत्युत्तरमा गगन सिंह भन्छ,– ‘‘म अर्कै परिस्थितिमा फस्न पुगेको छु । विवाहका विषयमा अरुलाई जुन स्वतन्त्रता छ, त्यो मलाई छैन । हाम्रो सम्बन्ध महारानीमा जाहेर भयो भने तिमी मात्र दण्डित हुने छैनौ । हामी सबको एक चिहान हुनेछ (राणा, २०५६ ः ४४) । त्यस्तै अर्को ठाउँमा ऊ भन्छ,– ‘‘महारानीका मनमा मैले कतै घरबार नजोडोस् दरबारलाई नै घर सम्भूmँ, उहाँलाई नै ...(राणा, २०५६ ः ४५) ।”

वसन्तीसँगको आन्तरिक प्रेककथा तथा रानीसँगको बाध्यात्मक प्रेमका द्वन्द्वमा गगन सिंह पिल्सिएको छ । ऊ वसन्तीलाई मनैभरि माया नगर्ने होइन तर महारानीको सामन्ती मानोवृत्तको कृत्रिम र असमान पे्रमले भयानक अवरोध खडा गरेको छ । उसले डम्बरेसँगको प्रतिद्वन्द्वितालाई निस्तेज र निस्क्रिय पारि सकेको थियो तर महारानीसँगको अवरोधलाई सजिलै पन्छाउन सक्तैन । महारनीले मन परेका बेला गगन सिंहलाई भोग गर्ने र नपरेको बेला दुत्कार्ने व्यवहार देखाउँछिन् । दरबारलाई घर र रानीलाई पत्नी ठानोस् भन्ने कुराले गगन सिंहको आन्तरिक सम्मान र पारिवारिक मर्यादा बढाउने होइन उसको निजी एवम् पारिवारिक जीवनमा खलल पैदा गर्ने मात्र गरेको छ । यस कारण उसको निजी जीवन पूर्ण प्रतिबन्धित र दास सरहको हुन पुगेको छ । यस्ता प्रसङ्गले तत्कालीन विलासी शासकका घृणित मनोवृत्तिको चित्रण समेत भएको छ । यस सन्दर्भमा गगन सिंह कहिलेकाहीँ वसन्तीलाई एक्लै वसन्त बाग छोडेर दरबारमा बस्नुपर्दा सारै दिक्दार अनुभव गर्छ । पहिलैदेखि औपचारिक पत्नी स्वीकार गर्न अनुरोध गरि आएकी वसन्तीले डम्बरेसँगको भेटपछि त त्यही कुरा बारम्बार दोहो¥याउँछे । गगन सिंह वसन्तीको अनुरोधलाई लत्याउन पनि सक्तैन अनि रानीको चट्टानी अबरोधलाई पन्छाउने साहस बटुल्न पनि सक्तैन । फलस्वरूप ‘‘सुन खाएर हीरै घसे पनि हामीलाई शान्ति हुँदैन यदि हाम्रो घरेलु जीवनमा स्वतन्त्रता छैन भने । यस्तो इज्जतको बन्धनमा थुनिनुभन्दा बिनाइज्जतको संसारमा मुक्त रहनु असल छ (राणा, २०५६ ः ५२) ” भन्छ र दरबारी बन्धनबाट मुक्त हुन उद्दत हुन्छ । यस प्रसङ्गले गगन सिंहको वसन्तीप्रतिको आत्मीय प्रेमको उचाइ बढाएको छ तर जङ्ग बहादुरले दरबारिया शक्ति सन्तुलन र प्रधानमन्त्री माथवर सिंह थापाको भय देखाएर गगन सिंहलाई सम्झाउने प्रयास गर्छ । उपन्यासका यस प्रकारका घटनाक्रमले प्रशस्त उत्सुकता र कौतुहल बढाएका छन् र घटनाको दु्रततर विकास र आरोहलाई पनि व्यक्त गरेका छन् ।

उता डम्बरे आफ्नी पत्नी दरबारबाट भागेकी र ससुरा थुनिएकोमा चिन्तित थियो । जङ्ग बहादुरसित वसन्त बाग गएका बेला त्यहीँ वसन्ती (मिठू) लाई भेटेपछि ऊ ज्यादै दुखित र गगन सिंहप्रति आक्रोशित भएको थियो । तर पनि उसले दरबारको शक्तिशाली व्यक्ति गगन सिहका विरुद्ध जाने साहस गर्न सकेन । उसले रानी समक्ष आफ्नी पत्नी वसन्तीलाई जङ्ग बहादुरले भगाएर वसन्त बाग लगेर राखेको भनी झुठो निवेदन पेस ग¥यो । डम्बरेको यस निवेदनले उपन्यासमा थप सङ्कट र जटिलता सिर्जना गरेको छ । कथानकीय विकासमा पनि प्रशस्त हुटहुटी र तीव्रता पनि बढाएको छ । यस प्रसङ्गमा त्यहीँ उपस्थित गगन सिंह आफ्नो र वसन्तीको प्रेम प्रकरण रानी समक्ष खुल्ने र त्यसबाट भयानक अनिष्ट हुन सक्ने कुराबाट चिन्तित र हतास भएको थियो । त्यसमा तत्कालका निम्ति जङ्ग बहादुरको चलाखी र प्रत्युत्पन्नमतिले नाटकीय भूमिका खेल्यो । जङ्ग बहादुरले उल्टै रानी र गगन सिंहको गहिरो प्रेमको प्रेरणाले आपूmले वसन्तीसित प्रेम गरेको भन्ने जाली कुरो रानीसित खुसुक्क भनेर रानीलाई मक्ख पार्ने चतु¥याइँ प्रदर्शन ग¥यो । त्यही क्रममा रानीले वसन्तीलाई हेर्न चाहेको धारणा व्यक्त गरेपछि पुनः उपन्यासको कथानकमा अर्को समस्याको सिर्जना हुन्छ । गगन सिंहको आत्मीय प्रमेमा समर्पित भएकी विह्वल पे्रमिका वसन्तीलाई जङ्ग बहादुरकी पत्नीका रूपमा रानी समक्ष प्रस्तुत गर्ने कुरा सम्भव थिएन । तर पनि जङ्ग बहादुर वसन्त बागमा गएर त्यहाँको डिठ्ठा गगन सिंहको नोकर सिलाङेसित दरबारमा वसन्तीका विषयमा डम्बरेले हालेको निवेदनबारे छलफल गर्दछ । सिलाङेले उक्त प्रकरणमा आपूm पनि रानीका प्रकोपमा पर्न सक्ने र मालिक गगन सिहमाथि पनि ठूलो विपत्ति आइ पर्ने अड्कल गरेर वसन्तीको हत्या गरेरै भएपनि काजीलाई वसन्तीप्रतिको अन्धोप्रेमबाट मुक्त तुल्याउनु पर्ने धारणा व्यक्त गर्दछ । सिलाङेको सो कठोर प्रस्ताव जङ्ग बहादुलाई मन पर्दैन । उसले ‘‘कजिनीलाई मार्ने होइन उसको काजीमाथिको अन्धोप्रेमलाई हटाउनु परेको छ । हामी त्यस काममा सफल भयौँ भने उनीहरूको पनि कल्याण हुन्छ । हाम्रो पनि ज्यान बच्छ । नत्र हाम्रो गर्दनमा खुकुरी बज्रने भइसक्यो (राणा, २०५६ ः ८२) ।” भन्छ । जङ्ग बहादुरले वसन्तीलाई भेटेर दरबारमा भएको यथार्थ अवगत गराउँछ । आपूm जङ्ग बहादुरकी पत्नी भएको कुरा वसन्तीले दरबारमा रानी समक्ष व्यक्त गर्नु पर्ने भयो भन्दा ऊ मूच्र्छिन हुन्छे । त्यसो भन्नुभन्दा बरु ‘जङ्गबहादुर मलाई मारि दिनुस् । एक गोली हानेर भुतुक्कै पारि दिनुस् (राणा, २०५६ ः ८६) भन्दै बलिन्द्र धारा आँसु वर्षाउँछे । एक पटक काजीसित भेट गराइ दिने अनुरोध विह्वलताका साथ व्यक्त गर्छे । जङ्ग बहादुर अन्यमनस्क भई फर्कन बाध्य हुन्छ । वसन्तीलाई रानी समक्ष प्रस्तुत गर्ने समस्या ज्युँका त्युँ रहन्छ ।

वसन्त बागबाट जङ्ग बहादुर फर्केपछि सिलाङेले वसन्तीलाई विष खुवाएरै हत्या गर्ने षडयन्त्र रच्छ । उक्त षडयन्त्रमा गगन सिंहलाई रानीको प्रकोपबाट जोगाएर आफ्नो शक्ति र प्रभाव यथावत् उपभोग गरि रहन चाहने सिलाङे लगायतका गगन सिंहका अन्य अनुचरहरूको सहभागिता पनि रहेको थियो । रक्सीले टिल्ल परेको सिलाङे विषपानबाट मूच्र्छित वसन्तीलाई खुकुरी प्रहार गरी हत्या गर्ने योजनाका साथ कोठामा पस्छ । त्यतिखेरसम्म विषमाथि विजय प्राप्त गरी वसन्ती भागि सकेकी हुन्छे । बगैँचा वरिपरि सिलाङे, खडानन्द र अरु मिलेर खुब खोज्छन् तर वसन्ती बुढीसित त्यहाँबाट निस्कन सफल हुन्छे । अब सिलाङेका मुटुमा काजीबाट हुने प्रहारको भय मडारिन्छ । हत्या गरेर वसन्तीले आत्महत्या गरेको प्रचार गर्ने उसको योजना वसन्ती भागेपछि भताभुङ्ग भएकोमा ऊ हतास र उरन्ठेउलो भएर यताउति दगुर्छ । वसन्ती र बुढी काठमाडौँ पुग्छन् । वसन्तीले आपूmमाथि सिलाङेले गरेका अत्याचारको व्यहोरा चिठीमा लेखी काजी समक्ष बुढी मार्फत पठाउँछे अनि आपूm पशुपतिको सत्तलमा गएर दुईदिनसम्म बुढीलाई कुर्छे । बुढीको कुनै अत्तोपत्तो हुँदैन र चिठी पुगेनपुगेको खबर पनि आउँदैन । वसन्तीमाथि थप सङ्कट आइ लाग्छ । सिलाङे वसन्तीलाई खोज्दै त्यहीँ पुग्छ र गगन सिंहले गन्धर्व विवाह गरी लगाइ दिएको चिनो औँठी जबर्दस्ती खोसेर लग्छ । पशुपतिमा राजकीय लावालस्कर सहित महारानीको सवारी हुँदा गगन सिंह र जङ्ग बहादुर पनि सम्मिलित भइ आउँछन् । पशुपतिमा उभिएकी वसन्तीलाई महारनीले कलात्मक मूर्ति भनि ठान्छिन् । द्वारेले दरबारबाट भागेकी सुसारे भनी परिचय गराएपछि रानीले जङ्ग बहादुरकी पत्नीका रूपमा बुभ्mिछन् । तर रानीका उक्त बुझाइको प्रतिवाद गर्दै वसन्तीले आफ्ना बारेको सम्पूर्ण जानकारी काजी गगन सिंहलाई भएको धारणा व्यक्त गर्छे । वसन्तीका कुराबाट गगन सिंह नै वसन्तीको लोग्ने त होइन भन्ने शंका रानीका मनमा फिलिङ्गा भई बल्छ । क्रुद्ध रानीले मार्ने धम्की सहित गगन सिहंलाई यथार्थता खोल्न अह्राउँछिन् । कथानकले अत्यन्त संकटको खतरनाक मोड प्राप्त गर्छ । त्यहाँको वातावरण पनि भयानक र त्रासमय हुन्छ । रानीको उद्दण्ड र सन्काहा रिसको झोँकमा गगन सिंह पर्ने सन्नाटा व्याप्त हुन्छ । पाठकको हृदय पनि उत्तेजित र आन्दोलित हुन्छ । यही गम्भीर परिस्थितिको आकलन गरी वसन्तीले गगन सिंहमाथि आइ पर्ने अनिष्टलाई बुभ्mछे तथा आपूmले बोलेका कुरामा अड्डी लिए काजीको ज्यान जान सक्ने ठानेर कुरा फेर्छे र काजीको निर्दोषिता प्रमाणित गर्छे । वसन्तीलाई जथाभावी बोल्ने पागल सम्झी रानीले दाखचोकमा लगेर उपचार गर्ने आदेश दिन्छे । वसन्तीको पशुपतिमा उपस्थिति र रानी समक्ष मागेको न्यायका कारण उत्पन्न भएको विकराल परिस्थितिको पुनः क्षणिक टुङ्गो लाग्छ । वसन्तीको पीडा त झनै बल्झिन्छ ।

आफ्नी प्रेयसी वसन्तीको उपर्युक्त कारुणिक स्थितिबाट गगन सिंह ज्यादै दुखी हुन्छ । उसले वसन्तीले पठाएको पत्र नपाएकाले सिलाङेका बदमासीको भेद पनि पाउँदैन । दाखचोकमा वसन्तीलाई भेट्छ तर सिलाङेका बदमासीका कुरा राम्ररी सुन्न पाउँदैन । यसपूर्व नै सिलाङेले वसन्ती आपूmसित रिसाएको भनी गगन सिहलाई विश्वासमा लिइ सकेको हुन्छ । आपूmमाथि अत्याचार र ज्यादती गर्ने सिलाङेका विरुद्ध कुनै कुरा सुन्न नचाहने काजीको व्यवहारबाट वसन्ती आश्चर्य चकित हुन्छे र केही प्रतिक्रिया नजनाई वेदनामा भित्रभित्रै मुर्मुरिन बाध्य हुन्छे । वसन्तीले आफ्नो अन्तस्करणको आवाज यसरी व्यक्त गर्छे– “मलाई दरबारमा लगेर महारानीको सामुन्ने उभ्याइ बक्सनुस् अनि यसमाथि मेरो प्यार बस्यो, मैले विवाह गरेँ भनेर महारानीलाई जाहेर गरि बक्सनुस् । यसो गर्नाले कोही पनि ब्रह्म भएको मानिसले दोषी ठहराउन सत्तैmन (राणा, २०५६ ः ११८) ।” गगन सिंहसँगको रानीको अवैध सम्बन्ध र रानीको त्रूmर सामन्ती मनोवृत्ति थाहा नपाएकी निश्चल प्रेमिका वसन्तीले अरु के पो अनुरोध गरोस् । गगन सिंह पनि वसन्तीमाथि अझ बढी सास्ती थोपर्न चाहन्न । रानीको निकटस्थ र बफादार भएर पनि वसन्तीको दुर्दशा र आफ्नो विवशताबाट मुर्मुरिएर ऊ रानीलाई नै पदच्युत गर्नेसम्मको योजनमा अग्रसर हुन्छ । जङ्ग बहादुरको तीव्र असहमति र प्रतिवादका कारण उक्त विचार परित्याग गरी जङ्ग बहादुरकै सहयोगमा आपैm वसन्तीसित भारत निर्वासित हुन राजी हुन्छ । यस सन्दर्भले गगन सिंहको वसन्तीप्रतिको आत्मीय र त्यागपूर्ण प्रेमको परिचय दिन्छ भने ती दुबैको प्रेममय जीवनमा सुखद भविष्यको निकास पनि भेिटने सम्भावना झल्कन्छ । त्यसपछि पुनः सिलाङेले नयाँ षडयन्त्र रच्छ । आफ्नो मालिक गगन सिंह निर्वासित हुनासाथ दरबारबाट आफ्नो पहुँच र पकड फुत्कने र वसन्त बागको भेद खुली आपूm समेत दण्डित हुने त्रासले ऊ व्यग्र हुन्छ । उसले विदेशिन पर्खि रहेको गगन सिंहलाई वसन्तीको आन्तरिक प्रेम डम्बरेप्रति नै रहेको भन्ने भूmठो कुरो सुनाउँछ । सिलाङेले वसन्तीलाई डम्बरेले वसन्त बाग गएर भेट्ने, मनोरञ्जन गर्ने र प्रेमालिङ्गन गर्ने गरेको झुठो कुरा सुनाउँछ । उसले वसन्नतीले झुक्किएर डम्बरेसँग अंकमाल गर्दा खडानन्दले देखेको प्रमाण पेस गर्नुका साथै पशुपतिमा आफैले वसन्तीबाट खोसेको आँैठी वसन्तीले डम्बरेलाई प्रेमोपहार पठाउँदा आपूmले फेला पारेको भनी गलत कुरो लगाउँछ । पशुपतिमा पनि रानीको आक्रोशमा पारेर काजीको हत्या गराउने प्रयास वसन्तीले नै गरेकी भनी काजीलाई वसन्ती विरुद्ध एकोहो¥याउँछ । यसबाट जसका निम्ति काजीले राजकीय मर्यादा र पदत्याग गर्ने निर्णय लिएको थियो, त्यही वसन्तीले आपूmमाथि विश्वास घात गरेकी भन्ने कुरामा विश्वस्त भएको काजीले आवेश र उत्तेजनामा आएर वसन्तीको हत्या गर्ने आदेश दिन्छ । वसन्तीको आत्मीय एवं पवित्र प्रेमलाई चिन्न नसकी सिलाङेका लहैलहैमा लागेर सही र गलत छुट्टयाउन नसक्ने कमजोरी नै काजीका निम्ति घातक बन्दछ । सिलाङेले वसन्तीलाई वसन्त बाग पु¥याइ आपूm रक्सीमा लठ्ठिन्छ । माइतबाट आएर वसन्तीकैे लुगा लगाई सुतेकी आफ्नी पत्नीलाई वसन्ती ठानी निर्ममतापूर्वक खुकुरीले छप्काएर मार्छ । यता गगन सिंहले बल्ल वसन्तीको पत्र प्राप्त गर्छ । सिलाङेले आपूmलाई भ्रममा पारेको चेत वसन्तीको पत्रबाट खुल्छ । आफ्नी अनन्य प्रेमिकाको हत्या गर्ने आदेश दिइ सकेको गगन सिंह हतोत्साही र विह्वल हुँदै व्याकुलताका साथ वसन्त बाग पुग्छ र उसले पनि सिलाङेकी पत्नीको मृत शरीरलाई वसन्तीको लाश ठानी अलापविलाप गर्न थाल्छ । नारी हत्या गरेकोमा एकाएक आत्मग्लानिमा छटपटिएको सिलाङेको हत्या गरी असह्य वेदना एवं भत्किएको मनस्थितिमा गगन सिंह घर फर्कन्छ । अब गगन सिंहले आफ्नो र वसन्तीका प्रेम वियोगको मुख्य दोषी महारानीलाई मान्छ । उसको हृदयमा आक्रोश र प्रतिशोधको ज्वाला दनदनी बल्छ र महारानीका विरुद्ध विद्रोह गर्न तत्पर हुन्छ । त्यसका निम्ति जङ्ग बहादुरलाई सघाउन आह्वान गर्छ । जङ्ग बहादुले दृढ असहमति व्यक्त गर्छ । यही क्रममा मृत्ठानिएकी वसन्ती पोडिनीका रूपमा काजीलाई खोज्दै उसकै घर आइ पुग्छे । जङ्ग बहादुरले वसन्तीलाई जीवितै देखेर प्रफुल्ल हुँदै गगन सिंहलाई यो समाचार सुनाउन सिँढी चढ्दा चढ्दै काजी बसेका पूजाकोठामा गोली चलेको आवाज आउँछ । अज्ञात व्यक्तिद्वारा गगन सिंहको हत्या भएपछि वसन्तीका जीवनमा पुनः घोर पीडा र वियोगको भक्कानो फुठ्छ । रुँदै वसन्ती निस्कन्छे र सच्चा प्रेमी र प्रेमिकाको पुनर्मिलनको आशामा टाढा हराउँछे । उपन्यासको अन्त्य यहीँ हुन्छ ।

उपन्यासको प्रमख विषय बनि आएको प्रेम प्र्रणयको प्रारम्भ, विकास र अन्त्यका घटनाक्रममा थुप्रै रोचक र उत्सुकताजन्य प्रसङ्गहरूको समावेश भएको छ । डम्बरेकी विवाहित पत्नीलाई प्रेमिका बनाई दरबार भित्र्याउन गगन सिंहलाई खासै संघर्ष गर्नु नपरे पनि सामन्ती आक्रोश र सनक भएकी महारानीसँग गगन सिंहले गम्भीर अवरोध बेहोर्नु परेको छ । वसन्तीको खुला र औपचारिक पत्नी स्वीकार गर्नका निम्ति प्रस्तुत भएको आत्मीय तथा स्वाभाविक हठ तथा महारानीसँगको अवैध सम्बन्धको चेपुवामा परेका गगन सिंहको मनोद्वन्द्वले उपन्यासमा प्रशस्त उत्सुकता सिर्जना गरेको छ । वसन्तीको आत्मीय प्रेमकी प्रतिद्वन्द्वीका रूपमा प्रस्तुत भएकी महारानी नै उपन्यासका दुखान्त्यकी प्रमुख अवरोध बनेकी छिन् र उनको आक्रोश र रिसका अगाडि गगन सिंह अत्यन्त कमजोर र लाचार बनेर प्रस्तुत भएको छ । डम्बरेले वसन्तीलाई पाउन भनी निवेदन हाल्दा, पशुपतिमा वसन्तीले रानी समक्ष न्याय माग्दा र गगन सिंहले दरबारी शक्ति र पदत्याग गरी वसन्तीलाई लिएर भारत जाने निर्णय गर्दाका प्रसङ्गले पाठकको मनलाई आन्दोलित पारेका छन् र भावी भयानक घटनाको पूर्वानुमान गर्ने उत्सुकता प्रदान गरेका छन् । उपन्यासका अन्त्यतिरका घटनाक्रममा भने कथानकको स्वाभाविक अवतरण हुन सकेको छैन । हत्यारो सिलाङेमा एकाएक जागेको आत्मग्लानिको छटपटी तथा प्रेमपरक कथावस्तुको वियोगान्तकी प्रमुख खल चरित्र महारानीको उपन्यासका अन्त्यमा बिनाक्षति सकुशल उपस्थितिले ऐतिहासिक सत्यको रक्षा गरे पनि औपन्यासिक वियोगान्त कलामाथि न्याय गर्न सकेको देखिन्न ।

ग) उपन्यासको ऐतिहासिक पक्ष ः

‘वसन्ती’ उपन्यासमा पे्रम प्रणयको दुखान्तीय प्रसङ्गका साथै भीमसेन थापाको अवसानपछि कोतपर्व पूर्वसम्मको दरबारिया शक्ति संघर्षको यथार्थ इतिहास पनि प्रकट भएको छ । तत्कालीन राजा श्री ५ राजेन्द्र विक्रम शाहका जेठी महारानी साम्राज्य लक्ष्मीदेवी तथा कान्छी महारानी लक्ष्मीदेवीका बिच चलेको सत्ता संघर्ष र सौतेलो शत्रुतालाई उपन्यासमा राम्ररी प्रस्तुत गरिएको छ । राजाको राज्य सञ्चालनप्रतिको अकर्मण्यता, असक्षमता र कर्तव्य विमुखताका कारण कहिले जेठी रानी र कहिले कान्छी रानीका नियन्त्रणमा सत्ताको बागडोर केन्द्रित हुन पुगेको छ । त्यसै कारण साम्राज्य लक्ष्मीले पाण्डेपक्षलाई र लक्ष्मीदेवीले थापा पक्षलाई आडमा लिएर एकअर्काको शक्ति क्षय गर्न भयानक षडयन्त्र, जघन्य हत्या र वीभत्स परिणाम निम्त्याएका छन् । नेपालको यही कटुतम र अस्थिर इतिहासको प्रसङ्गलाई यस उपन्यासमा प्रस्तुत गरिएको छ । यसमा भीमसेन थापाको मुद्दा षड्यन्त्रपूर्ण तरिकाले उल्टाई आत्महत्या गर्न विवश पारेको प्रसङ्ग संवादका माध्यमबाट प्रकट भएको छ । थापाको हत्यामा साम्राज्य लक्ष्मीले पाण्डेपक्षलाई उकासेको देखिन्छ भने कान्छी रानीले माथवर सिंह थापाको सर्त अनुसार थापामाथि भएको अन्यायपूर्ण मुद्दा उल्ट्याएर कुलराज पाण्डे, करविर पाण्डे आदि र अन्यको जघन्य हत्या गर्न लगाएको देखिन्छ । आफ्ना मानिसहरूमाथि भएको घोर आक्रमण र आफ्नो बेइज्जतीलाई खप्न नसकी रणजङ्ग पाण्डेको पनि मृत्यु भएको छ । पाण्डे पक्षका थुपै्र मानिसहरू काटिएका, अपाङ्ग बनाइका र देश निकाला समेत गरिएका छन् । सुन्दाखेरि नै आड जिरिङ्ग हुने ती घटनाहरू दरबारभित्रका अस्वस्थ र घृणित प्रतिस्पर्थाका परिणम हुन् । साम्राज्य लक्ष्मीले जीवित राजालाई राजगद्दी त्याग गर्न दबाब दिने र अन्य खालका घुर्की पनि लगाउने गरेकी थिइन् । उनको हेटाँैडामा मृत्यु भएपछि युवराज सुरेन्द्रका बहुलठ्ठीपूर्ण कार्य, लक्ष्मीदेवीको सत्ता सञ्चालनमा चासो र राजाको कार्यहीनता र असक्षमताका कारण ६७५ जना भारदार तथा नागरिकको एउटा बैठकको आयोजना हुन्छ । मुख्यमन्त्री फत्यजङ्ग शाहका अध्यक्षता गठित सो बैठकले दिएका निराकरणका सुझाव अनुसार राजाले रानीमाथि असीमित अधिकार प्रदान गरेको घोषणा ‘‘म प्रतिज्ञा गर्छु स्वयं म पनि उनको राय नलिई कुनै काम गर्ने छैन (राणा, २०५६ ः १८) ।” भनी गरेको देखिन्छ ।

राजाको उपर्युक्त घोषणाबाट लक्ष्मीदेवीमा असीमित अधिकार केन्द्रित भयो र उनकै मनोमानीको राज पनि थालियो । उनका कामको केन्द्रविन्दु राजगद्दी उत्तराधिकारबाट साम्राज्य लक्ष्मीपुत्र र प्रथम उत्तराधिकारी सुरेन्द्रलाई कसरी हटाउने तथा आफ्नो पुत्र रणेन्द्रलाई कसरी दिलाउने भन्ने कार्यमा केन्द्रित हुन पुग्यो । त्यसका निम्ति रानीले आफ्नै थापा पक्षको जेठोबोठो माथवर सिंह थापालाई भारतबाट काठमाडौँ बोलाइन् । माथवरले भीमसेन थापामाथिको राजद्रोहको मुद्दा उल्टाई थापा परिवारमाथि लागेको कलङ्क नमेटाई राजकीय पद नस्वीकार्ने सर्त राख्दा पनि त्यस सर्तलाई मनेरै रानीले फत्यजङ्गका सट्टामा थापालाई प्रथानमन्त्रीमा नियुक्त गरिन् । उल्लिखित कुलराज, करविर आदि पाण्डेपक्षका व्यक्तिहरू यही थापाका सर्त अनुसार मुद्दा उल्ट्याएपछि कार्यबाहीमा परेका हुन् । यस प्रकारको नेपालीहरूको हत्या र प्रतिशोध केवल शक्ति हत्याउने तुच्छ स्वार्थका निम्ति भएको सन्दर्भले नेपाली इतिहासको अत्यन्त नकारात्मक पाटो प्रस्तुत भएको छ र त्यसलाई यस उपन्यासले केलाएको छ । थापा प्रधानमन्त्री भएपछि पनि रानीको चहना पुरा हुन सत्तैmन । थापाले पनि रणेन्द्रलाई युवारज बनाउने रानीको योजनालाई त्यस्तो निच काम आपूmबाट हुन नसक्ने भन्ने दृढ प्रतिवाद गर्छ । राज्यको असीमित अधिकार प्राप्त गरी अन्धी भएकी रानी माथवर सिंहदेखि पनि क्रुद्ध हुन्छिन् र पुनः अर्को विकल्पमा फत्यजङ्गलाई उपयोग गर्ने योजना बनाउँछिन् । त्यसका निम्ति आफ्नो अन्तरङ्ग सहयोगी गगन सिंहलाई माथवरको हत्या गराउने जिम्मा दिन्छिन् । यसै पृष्ठभूमिमा जङ्ग बहादुरको भूमिका सक्रिय हुन्छ । माथवर र जङ्ग बहादुर मामा भाञ्जा हुन् र एक पटक जङ्ग बहादुरले आफ्ना मामा प्रधानमन्त्री भएकाले देवी बहादुरलाई बचाउन आग्रह गर्छ तर माथवरले ठाडै अस्वीकार गरेको हुन्छ । अझ उसले ‘‘महारानीको हुकुम भएमा तिमीले मलाई र मैले तिमीलाई पनि मार्नु पर्छ (राणा, २०५६ ः २०) ।” भनेर कडा वचन लगाएको हुन्छ । त्यस कुराबाट अत्यन्त खिन्न र निराश भएको जङ्ग बहादुरमा मामाप्रति घृणा र शत्रुता बढको थियो । यही कुरा वसन्त बागमा गएर जङ्ग बहादुरले गगन सिंहसँग गरेपछि रानीले चाहे अनुसार माथवरको हत्या गराउने कार्यमा जङ्ग बहादुर उपयुक्त व्यक्ति हुने ठहर गगन सिंहले ग¥यो । दूरदर्शी र चतुर जङ्ग बहादुरलाई पनि दरबारमा आफ्नो पकड बढाउनु थियो । त्यसका निम्ति यही अवसर उपयुक्त हुने ठान्यो ।

माथवर सिंह थापा निकै शक्तिशाली बनि सकेकाले उसलाई हटाउन राजा रानीका साथै सुरेन्द्रको पनि मिलोमतो भयो । राजभक्त र बफादार माथवरले उत्तराधिकार सम्बन्धी नियम मिचेर रणेन्द्रलाई युवराज बनाउन नमानेकाले रानी चिढिएकी थिइन् । रानीको त्यही महत्वकांक्षालाई बुझेर उसले राजासँग पदत्याग गर्न आग्रह गरेको थियो । ऊ राजाले पदत्याग गरेपछि सुरेन्द्रलाई राजा बनाउन चाहन्थ्यो । तर यस कुराबाट राजा पनि झस्के र चिढिए । सुरेन्द्रले थापापक्ष आफ्नी आमाका सधैँ विरोधी रहेकाले माथवरले पनि आफ्ना हितमा काम नगर्ने ठाने । यसरी माथवरका हत्यामा सबैको आन्तरिक सहमति बन्यो । महारानीलाई शूल भएको भनी भूmठो खबर थापा समक्ष पु¥याएर बोलाइयो । रानीले आफ्नो स्वेच्छाचारी आदेश जङ्ग बहादुरलाई यसरी दिइन् ।

जङ्गे ! ... माथवर सिंहले मलाई ठूलो धोका दियो । मेरो छोराको त्यति काम (सुरेन्द्रलाई पदच्युत गरी रणेन्द्रलाई युवराजधिकार घोषित गर्ने) मिलाइ देला भन्ने आशाले त्यसलाई हिन्दुस्तानबाट झिकाएर प्रधानमन्त्री बनाएँ । सम्पूर्ण पाण्डे खलकको नाश गरियो, अहिले मेरा कुराको वास्तै गर्दैन । ... लौ त्यो बदमासलाई मारेर हाम्रो नुनको सोझो गर (राणा, २०५६ ः ८२) ।

त्यही क्रममा जङ्ग बहादुरले चलाएको गोलीले थापाको हत्या भयो । जङ्ग बहादुर जर्नेल बनाइयो । फत्यजङ्ग पुनः प्रधानमन्त्रीमा नियुक्त भयो । गगन सिंह प्रधान सेनापति र अन्य अधिकारले सुसज्जित भयो । रानीको निरङ्कुश चाहना बढेको बढ्यै नै थियो । पाण्डे गुटको नाश पहिलै भइ सकेको थियो । माथवरको हत्यापछि थापापक्ष पनि कमजोर भयो । अर्को भारदारी गुट गुरु प्रसाद शाहका नेतृत्वमा विकसित भइ रहेको थियो । राजगद्दीप्रति बफादार रहे पनि रानीसँग मत नमिल्ने र रानीको विश्वास पात्र गगन सिंहप्रति पनि त्यस गुटको आक्रोश थियो । यस्तो अवस्थामा दरबारभित्रको शक्ति संघर्षले भयानक अनिष्ट र सङ्कटको सङ्केत गरि रहेकै परिप्रेक्ष्यमा एकाएक गगन सिंहको हत्या हुन पुग्यो । जङ्ग बहादुरले यस अनिष्टको कल्पना पहिल्यै गरि सकेको थियो । बाह्र वर्षे इनारमा हाम फालेर धाइते भई ओछ्यानमा परेका बेला उसले अपशकुन देखेको सन्दर्भ उपन्यासमा आएको छ । साथै उपन्यासकारले पनि “प्रत्यक्ष खुसामद गरे तापनि प्रत्येक भारदार गगन सिंहको अभ्युदय देखेर जलेको थियो । विशेष गरेर चौतरिया खलक उसको घातक विरोधी भएको थियो (राणा, २०५६ ः .१३९) ।” भनेका छन् । जङ्ग बहादुर स्वयं गगन सिंहको हत्याका बेला उसकै घरमा रहेको र मृत्मानिएकी वसन्तीलाई जीवित देखेर अत्यन्त खुशी हुँदै गगन सिंहलाई खबर सुनाउन भ¥याङ चढ्दै गरेका बेला गोली चलेको सुनेको थियो । रानीलाई त्यस हत्याकाण्डको खबर भएपछि उत्पन्न भएको आक्रोश र प्रतिशोधले नेपालको ऐतिहासिक कोतपर्व हुन पुगेको सङ्केत उपन्यासले गरेको छ ।

उपन्यासको उक्त ऐतिहासिक प्रसङ्गमा राज्यको स्वाभाविक रोलक्रमलाई मिचेर सुरेन्द्रका सट्टा रणेन्द्रलाई युवराज घोषित गर्ने स्वार्थमा लक्ष्मीदेवीको महत्वाकाङ्क्षा जाग्नु मुख्य समस्या बनेको छ । राज्यको अकर्मण्यता र निरीहताले त्यसमा थप बल प्रदान गरेको छ । रानीको उक्त आकाङ्क्षाका विरुद्ध जानेहरू उनको आक्रोशका निसाना बनेका छन् । पाण्डेहरू त्यसै सनकमा काटिए, माथवर सिंहको हत्या त्यसै कारणले भयो । रानीकै पक्षको भएपनि दरबारी शक्ति संघर्षको अन्तिम सिकार गगन सिंह बनेको तथ्य उपन्यासले प्रस्तुत गरेको छ र जङ्ग बहादुरको दूरदर्शिता र चातुर्य पनि उपन्यासमा अभिव्यक्त भएको छ । साथै राज परिवारको निरङ्कुश र सर्वसत्तावादी शासनको घृणित स्वरूपलाई तत्कालीन समयकै सापेक्षतामा प्रस्तुत गरी इतिहास सम्बद्ध थुप्रै सूचनाहरू यस उपन्यासले प्रदान गरेको छ । यसो भएर पनि उपन्यासकारको बढी ध्यान वसन्ती र गगन सिंहको प्रेम प्रसङ्गको सविस्तार चित्रण र समाख्यानमा रमाएको देखिन्छ । उपन्यासकारले इतिहासका महत्त्वपूर्ण प्रसङ्गलाई पनि जङ्ग बहादुर डम्बरे, वसन्ती आदि चरित्रका संवादका माध्यमबाट संक्षेपमा प्रस्तुत गरेका छन् । यसरी वसन्ती र गगन सिंहको प्रेमकथामा सहायक कथावस्तु बनेर आएको इतिहास सम्बद्ध प्रसङ्गले तत्कालीन राज परिवारका स्वार्थी खेल र तिनका दुःखदायी परिणामको कलात्मक प्रस्तुति गरेको छ र विगतबाट पाठ सिक्न वर्तमानलाई सन्देश पनि दिएको छ ।

घ) निष्कर्ष ः

उपन्यासकार डायमन शम्शेर राणाको ‘वसन्ती’ उपन्यास वसन्ती र गगन सिंहको वियोग, वंशजको राज उत्तराधिकारको सुरक्षामा कैयन नेपालीहरूको हत्या र लक्ष्मीदेवीको आक्रोश तथा जङ्ग बहादुरको बुद्धिमत्तापूर्ण एवं सन्तुलित व्यक्तित्वको उदयको सन्दर्भ प्रस्तुत गरी समाप्त भएको छ । गगन सिंह र वसन्तीको जीवन्त प्रेमले कृतिलाई औपन्यासिक रचनामा उठाएको छ । लक्ष्मीदेवी र जङ्ग बहादुरका प्रसङ्गले कृतिलाई ऐतिहासिक तुल्याएको छ । गगन सिंह र लक्ष्मीदेवीको अवैध सम्बन्ध पनि ऐतिहासिक सन्दर्भ नै हो तर त्यसमा सत्यता र विश्वसनीयता भर्नका लागि उपन्यासकारले बेग्लै कथावस्तुको रचना गरेका छन् । गगन सिंह ऐतिहासिक चरित्र नै भएपनि वसन्ती र वसन्तीको प्रेमकथासँग सम्बन्धित अन्य घटना तथा चरित्रहरू उपन्यासकारका मौलिक सिर्जना हुन् । यसरी विषयले औपन्यासिक विधा प्राप्त गर्दा मौलिक विषयको प्रस्तुति मुख्य तथा ऐतिहासिक विषयको प्रस्तुति गौण बन्न पुगेको छ । प्रेम प्रणयको विवेचना र वर्णनको मौका मिल्नासाथ त्यतै रमाउन खोज्ने प्रवृत्ति राणाका अन्य उपन्यासमा पनि पाइन्छ भने ‘वसन्ती’ उपन्यासमा पनि त्यही प्रवृत्ति प्रकट हुन अस्वाभाविक होइन । यसै तथ्यलाई मनन गरेर समालोचक कृष्णचन्द्र सिंह प्रधानले भनेको ‘‘उपन्यासकार डायमन शम्शेर इतिहासमा जन्मेर उपन्यासमा सास फेर्छन् (प्रधान, २०४३ ः १३१)” टिप्पणी अत्यन्त सटिक र सार्थक लाग्छ ।

प्रस्तुत उपन्यासका विषयको स्रोत इतिहास हो तर त्यसकै तिथिमिति र घटना प्रस्तुतिमा उपन्यासकारको ध्यान केन्द्रित हुन्न । उनी औपन्यासिक निर्वाहका लागि कतिपय ऐतिहासिक तथ्यको साङ्गोपाङ्गता र क्रमबद्धता बेहोर्दैनन् (राणा, २०५६ ः १३१) । त्यसैले उनले इतिहासमा ६० वर्षभन्दा माथिको मानिएको व्यक्ति (यादव, २०४२ ः २००) गगन सिंहलाई उपन्यासमा युवकका रूपमा प्रस्तुत गरेका छन् । इतिहासमा नभएका थुपै्र चरित्रको सिर्जना गरी कथावस्तुको विकास गराएका छन् । त्यति मात्र होइन यसमा जङ्ग बहादुरको महत्त्वाकाङ्क्षा पूर्तिका लागि गरिएका षडयन्त्र र दाउपेचको चित्रण पाइने (लुइटेल, २०६९ ः १३२) भनिए पनि त्यस्तो स्थिति देखिन्न । नेपाली समाजले जङ्ग बहादुरलाई मान्ने गरेको हठी शासकभन्दा फरक नम्र सन्तुलित र राज्यको हुकुम मानेर गरिएका गलत कार्यमा पनि संवेदनशील र दुखित हुने चरित्रका रूपमा प्रस्तुत गरिएको छ । उसले आफ्नो राजनीतिक भविष्यका लागि आफ्नै मामा माथवर सिंहको हत्या गरेको छ तर त्यसो गर्नु परेकोमा दुःख मनाउ पनि गरेको छ । उपन्यासकारले जङ्ग बहादुलाई त्यसरी प्रस्तुत गरेर आफ्नो मौलिक विषय प्रतिपादनको प्रवृत्तिलाई प्रस्तुत गरेका छन् । उपन्यासकारले वसन्ती र गगन सिंहको प्रेमकथालाई प्रशस्त महत्त्व दिएर प्रस्तुत गरेका छन् भने ऐतिहासिक प्रसङ्गलाई प्रायः पात्रहरूका संवादका माध्यमबाट संक्षेपमा प्रस्तुत गरेका छन् । पाण्डेहरूको हत्याको प्रसङ्ग, डम्बरे र जङ्ग बहादुरका संवादबाट तथा माथवर सिंह थापाको हत्याको प्रसङ्ग जङ्ग बहादुर, वसन्ती जस्ता चरित्रका संवादका माध्यमबाट प्रस्तुत गरेका छन् । नेपाली इतिहासमा र प्रस्तुत उपन्यासमा पनि अत्यन्त महत्त्व राख्ने त्यस्ता प्रसङ्गलाई बढी महत्त्व दिएर विस्तृत दृश्यात्मक पद्धतिमा प्रस्तुत नगर्नुले पनि उपन्यासकारको अभिरुचि इतिहासप्रति भन्दा उपन्यासका वसन्ती गगन सिंह प्रेमकथाप्रति बढी केन्द्रित भएको प्रस्ट हुन्छ । यस तथ्यलाई उपन्यासको नामकरणले पनि प्रष्ट्याएको छ । यस प्रकार ऐतिहासिक तथ्य र कल्पनाको समानान्तर रेखामा उपन्यासका दुई कथावस्तुको विकास भएको देखाइएको (प्रधान, २०४५ ः २१०) भएपनि काल्पनिक, मौलिक विषयको प्रभुत्व देखा परेको छ । यी दुवै कथावस्तु एकअर्कासँग मिली अन्योन्याश्रयमा अघि बढेका छन् । डम्बरेले हालेका निवेदनमा चित्त बुभ्mदो न्याय नदिई जङ्ग बहादुरप्रति पक्षपात दर्शाउने रानीको व्यवहारले तत्कालीन न्यायिक प्रक्रियाको त्रुटिलाई सङ्केत गर्दछ । गगन सिंहसँग वसन्तीको सामान्य चर्चा हुनासाथ जाग्ने गरेको सनक र उग्र रूपले रानीको स्वेच्छाचारी राजलाई व्यक्त गरेको छ । पाण्डेहरू र थापाको हत्याका निम्ति रानीले दिएको आदेश बर्बरतापूर्ण र घृणित स्वार्थमा मात्र केन्द्रित रहेकाले राज परम्पराको एैतिहासिक गरिमाको बखान गर्ने पाठकलाई इतिहासको तथ्यबोध गर्न अभिप्रेरित गराएको छ ।

उपन्यासमा प्रारम्भिक घटनाको विकास त्यति सूक्ष्म र सघन रूपले हुन सकेको छैन । मध्यभागमा वसन्ती र गगन सिंहको अन्तरङ्ग प्रेममा महारानीको आवेगजन्य अवरोधले पर्याप्त उत्सुकता र कौतूहल बढाएको छ । महारानीका निम्ति गोप्य रहेको वसन्ती र गगन सिंहको प्रेमको पर्दा उघ्रिने र वीभत्स परिणाम घटित हुने हुटहुटीले पाठकको भावना सन्न परि रहन्छ । यस क्रममा वसन्तीप्रति सिलाङेले गरेको अत्याचार र दुव्र्यवहार पनि उल्लेख्य छ । त्यस्तै रानीको मनोमानीपूर्ण शासन र स्वार्थी आदेशका परिणामले पनि पाठकमा जिज्ञासा र कौतुकता प्रकट भइ रहन्छ । अन्त्यमा औपन्यासिक कलात्मकता केही खस्केको भएपनि ऐतिहासिक यथार्थको सुरक्षा भएको छ । त्यस्तै तत्कालीन ऐतिहासिक वातावरणको जीवन्त प्रस्तुतिमा पनि केही कमी पाइन्छ । काव्यात्मक एवं अलङ्कृत भाषाशैलीले औपन्यासिक सौन्दर्यको अभिवृद्धिमा प्रभावकारी भूमिका खेलेको छ । यसरी प्रेम प्रसङ्ग तथा ऐतिहासिक सूचनाको अन्योन्याश्रित विषय विन्यासमा प्रस्तु गरिएको ‘वसन्ती’ उपन्यासको कथानकीय अन्तर विकास रोचक, आकर्षक र उत्सुकताजन्य छ ।

सन्दर्भ ग्रन्थ सूची:-

चापागाईँ, नरेन्द्र (सम्पा.), पूर्वाञ्चल समालोचना, विराटनगर ः पूर्वाञ्चल साहित्य प्रकाशन ।

दिनानाथ शरण (२०५६), ‘भूमिका’ वसन्ती, तेह्रौँ संस्करण, काठमाडौँ ः साझा प्रकाशन,

प्रधान, कृष्णचन्द्र सिंह (२०४३), नेपाली उपन्यास र उपन्यासकार,, दोस्रो संस्करण, काठमाडाँैं ः साझा प्रकाशन ।

प्रधान, प्रताप चन्द्र (२०४०), नेपाली उपन्यास परम्परा र पृष्ठभूमि, दार्जिलिङ ः दिपा प्रकाशन ।

बराल, ऋषिराज (२०५६), उपन्यासको सान्दर्यशास्त्र, काठमाडौँ ः साझा प्रकाशन ।

बराल, कृष्णहरि र नेत्र एटम (२०५६), उपन्यास सिद्धान्त र नेपाली उपन्यास, काठमाडौँ ः साझा प्रकाशन ।

भट्टराई, घटराज (२०४०), प्रतिभै प्रतिभा र नेपाली साहित्य, काठमाडौँ ः नेपाल रिसर्च एसोसिएट्स् ।

यादव, पीताम्बर लाल (२०४२), नेपालको राजनैतिक इतिहास, दोस्रो संस्करण, सप्तरी ः महथी यादव ।

राई, इन्द्र बहादुर (२०५०), नेपाली उपन्यासका आधारहरू, काठमाडौँ ः साझा प्रकाशन ।

राणा, डायमन शम्शेर (२०५६), वसन्ती, तेह्रौँ संस्करण, काठमाडौंः साझा प्रकाशन ।

सुवेदी, राजेन्द्र (२०५३), नेपाली उपन्यास परम्परा र प्रवृत्ति, वाराणसी ः भूमिका प्रकाशन । व्सन्ती

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।