19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

हृदयको बालक

कविता तुलसी दिवस August 1, 2013, 9:31 am

समयको गोरो अनुहारमा

रातले जब अँध्यारो हाँडीको मोसो पोत्छ,

आकाशको नीलो ढक्कीमा

जब फूल उठेका ताराहरु सजिन्छन्

मेरा थाकेका इन्द्रियहरु

आफूलाई हराउँछन् -

हराएको तेज खोजेर;

तर मेरो हृदयमा सुँकसुँकाउँदै

निदाएको बालक बिम्झन्छ-

एक्लो एकलकाँटे सिरेटोले छोएर ।

बगरको ढुङ्गा झैँ

चिसो भुइँमा नाङ्गै

आफूलाई लडाएको पाएर एक्लै

उसको हात-खुट्टा अनुहार

अङ्ग-प्रत्यङ्ग बोल्छ-

म चिसो हिउँ भइसकेँ

म नीलो यूँ भइसकेँ

मलाई मुटुको मकलमा सेकाएको हातले

मायाको चिल्लो लाइदेऊ !

कलङ्कको कालो टीका मेट् न

टुकुचाको पुलमा अफालिएको बालकको झैँ

मेरो पनि नाभि काटिएको छैन,

कसैको पनि म हुन सक्छु

ए, स्वर्ग जानबाट बञ्चित अपुता हो !

म तिम्रै छोरा हुँ - बाँच्न जन्मेको मान्छे ।

मलाई स्नेहको थाङनामा बेरेर

मेरो निराशाको सर्दी हुर्काइदेऊ !

मलाई आनन्दको छाया होइन

जीवनको माया देऊ !

जानी-नजानी सकी-नसकी

अनायासै उसको आवाज फुट्छ - "मा !"

आँसु अनि अरस्तू भएर बोल्छ-

मानिस सामाजिक प्राणी हो

मलाई समाज चाहिन्छ ।

आत्मामा आकाश-वाणी हुन्छ -

हृदयको अँध्यारो मेट्न

हृदयकै उज्यालो चाहिन्छ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।