19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अर्थ

कविता सन्तोष लामिछाने August 1, 2013, 9:38 am
सन्तोष लामिछाने
सन्तोष लामिछाने

सुनका कोपरा हुनेहरू

भोक ओढेर

निराहार लमतन्न पल्टेका केटाकेटीका

आँखामा आँखा मिलाई

सम्पन्नताको अर्थ बुझाउन सक्छौ?

ईश्वरमा विश्वास गर्छु भन्नेहरू

आँखाको बदला आँखा फुटाउदा

गोलीको बदला बम पड्काउदा

ज्यान गुमाएका निर्दोष निहत्थाको लासमाथि उभिएर

धर्मको अर्थ बुझाउन सक्छौ ?

भौतिक भोगको लागि घम्साघम्सी गर्नेहरू

एक्लोपनमा आत्मदाह गर्ने धनकुबेरहरूलाई

हस्याङफस्याङमा सधै बेचैन हुनेलाई

अनि

अरुको राम्रो देखेर डाह भई

लुटपाट हानमार गर्नेलाई

तिम्रा शैक्षिक प्रमाणपत्र च्यापेर

सन्तुष्टिको अर्थ बुझाउन सक्छौ ?

अन्तरिक्षमा रकेट पठाउनेहरू

मंगल यात्राको टिकट काट्नेहरू

यहि धर्तीमा मामुली झाडा पखालाले

लाखौँ मानिसको मृत्यु हुँदा

ति बीभत्स दृश्यको वारिपरि

बिकासको अर्थ बुझाउन सक्छौ ?

मुखमा राम राम

बगलीमा छुरा हुनेहरू

व्यवहारमा बेकाम

ठुला ठुला कुरा हुनेहरू

अन्तर्मनको ऐना हेरेर

सत्य अनि झुटको अर्थ बुझाउन सक्छौ ?

पाँचखाल, काभ्रे

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।