18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नेपाली साहित्यिक गतिविधिको सङ्क्षिप्त विवेचना

विचार सदानन्द अभागी August 1, 2013, 5:48 pm
सदानन्द अभागी
सदानन्द अभागी

साहित्य समाजको दपर्ण हो । जुन देशको साहित्यले अग्रस्थान लिन्छ त्यस देशको विकासको गति पनि तीव्र हुन्छ तर नेपालको परिस्थितिमा साहित्यलाई एउटा अनुत्पादक क्षेत्रको रूपमा हेरिन्छ र साहित्यकारलाई उत्पादन योग्य काम नपाए र साहित्यमा लागेको ठानिन्छ । सरकारको नजरमा पनि साहित्य र साहित्यकारहरू पर्न सकेका छैनन् । जति उपेक्षितरूपमा हेरिए पनि साहित्यकारहरूले साहित्य सिर्जना गर्न भने छाडेका छैनन् । साहित्यकारहरूको लेखनकार्य तीव्रगतिमा अघि बढेको पाइन्छ । आज पुस्तकहरूको प्रकाशन पनि बढिरहेको देखिन्छ । राजधानीका लेखकहरूलाई आफ्नो पहिचान बनाउन जति सजिलो देखिन्छ त्यति सजिलो रूपमा आफ्नो पहिचान गराउन मोफसलका साहित्यकारलाई छैन । मोफसलका साहित्यकारलाई राजधानीमा बसेर लेख्ने साहित्यकारलाई जस्तो राष्ट्रियस्तरका पत्रपत्रिकामा प्रकाशन गर्ने सहजता, विविध सुविधा तथा वातावरण मिल्न नसक्नाले पनि प्रतिभावान लेखकहरू पनि आज ओझेलमा पर्नुपरेको छ । हुनत आज आमसंचारको माध्यमले गर्दा संसार एउटै घर आगनजस्तो रूपमा पाउन सकिने अवस्थामा पुगेको छ तर नेपालका अधिकांश जनतालाई यस्तो सहजिकरणका उपायहरू प्रयोगमा ल्याउने सौभाग्य प्राप्त हुन सकेको छैन । त्यसो हुँदा नेपालका कुना काप्चामा बसेर लेख्ने लेखकको लागि भने रुखमा बेल पाक्दा कागलाई हर्ष न विष्माद भने जस्तै छ । नेपाली साहित्यको विस्तार आज नेपालमा मात्र सीमित छैन । जहाँ नेपाली पुगेका छन् त्यहाँ नेपाली साहित्यले जरो गाडि सकेको छ । साहित्यिक संस्थाहरू खुलेका छन् । कृतिहरू प्रकाशन भएका छन् । आज फेसबुक साहित्यले पनि नेपाली साहित्य जगतमा नयाँ आयम थपेको छ । फेसबुक साहित्यमा गजलको लेखन बढ्दो क्रममा छ । यहाँ हामीले कथा कविता, समालोचना, चित्रहरू, उखानटुक्काहरू आदि विविधताले भरिएका लेख रचनाहरू पढ्न पाउँछौं । तत्कानलै राम्रो नराम्रो टिप्पणी गर्न पाउँछौं । सिर्जना र स्रष्टालाई उत्पेरित गर्न सक्दछौं । त्यसो हुँदा फेसबुक साहित्यलाई हामिले नेपाली साहित्यबाट अलग्याउन सकिदैन । यसमा सुधारका पक्षहरू धेरै छन् तर पनि फेस बुक साहित्यले ठूलोस्थान ओगटेको छ । यसबारेमा पनि सोधकर्ताहरूबाट अध्ययनको खाँचो भएको छ ।

आजको साहित्य लेखनमा देखिएका अवसर तथा चुनौतिहरू पनि कमि छैनन् । आजको समाज पविर्तनको बाटोतिर लम्केको छ । समाजमा भएका सारा गतिविधि नै साहित्य लेखनमा अङ्गालिन्छन् । नेपाल जस्तो देशको हिमाल, पहाड, भित्रीमधेश मधेश जस्तो प्राकृतिक सम्पदाले भरिएको देश, बहुजातीय, बहुभाषीय, बहुधार्मिक, बहुसांंस्कृतिकको पूmलमालाले सजिएको वातावरणमा लेखनका विषयहरूको कुनै कमि देखिदैन । लेखनका अवसरको लागि राज्यको दृष्टि सबैमा पर्नु आवश्यक छ । किनकी चर्चित केही लेखक बाहेक नेपाली साहित्यकारले लेखेर जीविको पार्जन गर्न सक्ने अवस्था छैन । सर्बप्रथम भोको पेटमा रुमलिएका लेखकको राष्ट्र, राष्ट्रियता, समाज, सामाजिक सुधारतिर आफ्नो आफ्नो लेखन शक्ति केन्द्रित गर्नुको साटो पेट भर्नै समस्याको हलतिर लाग्नु स्वभाविक हो । त्यसो हुँदा सरकारले स्वच्छ प्रतिस्पर्धामा स्रष्टा अघि बढ्न सक्ने वातावरणको सिर्जना गर्नु आवश्यक छ । आज साहित्यको संरक्षण र संवर्धनको लागि स्थापना भएको प्रज्ञाप्रतिष्ठान पनि दलीय राजनीतिबाट मुक्त देखिदैन । जुन दलको सरकार छ त्यही दलमा कार्यकर्ता रहेका लेखकहरूले स्थान पाउने गरेको देखिन्छ । प्रज्ञाप्रतिष्ठान सबै लेखकको आस्था र आदरताको केन्द्र विन्दुको रूपमा देखिनु आवश्यक छ ।

देशमा आज हरेक क्षेज्ञमा गुटबन्दी छ । यो गुटबन्दीको रोग नेपाली साहित्यमा पनि सरिसकेको छ । गुटमात्रमा सीमित नभएर राजनीतिक पक्ष र विष्क्षले पनि जरो गाडेको छ । साहित्य र राजनीति राष्ट्र, राष्ट्रियताको संरक्षण, सम्बर्धन, विकास, निर्माण र समाजमा परिवर्तन गर्ने मूल जरो हुन् । राजनीतिले पक्ष र विपक्षको अवधारणा बोकेको हुन्छ भने साहित्यले विकृति र विसङ्गतिसँग लड्दै सवल समाज सुसंस्कृतिको, राष्ट्र, राष्ट्रियताको दीगोविकासको अवधारणा बोक्दै अग्रगामी मार्ग अवलम्वन गरेको हुन्छ । लेखकको दायित्व समाजमा देखिएका विकृतिलाई न्यून पार्नु र अनुशासनलाई कायम राख्दै सुमार्गमा डो¥याउँदै सवल समाजको सिर्जना गर्नु हो । साहित्य के को लागि लेख्ने भन्ने कुरामा सर्ब प्रथम लेखक नै प्रष्ट छैन भने त्यस लेखकले समाजको आवश्यक्ताको पहिचान गर्न सक्दैन । जवसम्म समाजको समस्याको पहिचान हुँदैन तवसम्म समाधानको मार्ग पहिलाउन सकिदैन । स्वस्थ साहित्य र परिवर्तनको मार्ग पहिल्याउन सकिदैन । साहित्यमा निरन्तरताको खाँचो हुन्छ तर एक दुई किताव निकाल्ने र आपूmलाई बरिष्ठ साहित्यकारको अब्बल दर्जामा पु¥याउने प्रयत्न गर्नको लागि सञ्चारका साधनको व्यापक प्रयोग, धनको लगानी, गुट–उपगुटमा सहभागी भइ आफ्ना पक्षधरहरूको समर्थन र अरुको लेखनमा विरोध गर्ने प्रवृति पनि साहित्यिक लेखनको लागि घातक हुन्छ र यस्तो कुकृत्यबाट हामी सचेत रहनु पर्दछ ा कतिपय अग्रजहरूको आपूmमात्र साहित्यको सिर्जना गर्न सक्ने आपूmलाई विशिष्ट व्यक्तित्वको रूपमा ठान्ने आभाष पनि पाइएको छ र यस्ता साहित्यकारबाट नवसर्जकहरूले के नै पाउन सक्छन् र ? यस्ता साहित्यकारको अहम् भावनाले कतिको मन जित्न सक्ला र आदर सम्मान पाउला ? यी रहे साहित्य सिर्जनाका विविध पक्षहरू ।

अव नवलपरासीको साहित्यको बारेमा एउटा सानो धारणा यहाँ राखन चाहान्छु । २०१९ सालमा गरिएको नेपाल अधिराज्यको १४ अञ्चल ७५ जिल्लाको वर्गीकरणमा, पुरानो पाल्ही जिल्ला, हालको नवलपरासी जिल्लाको नामाकरण भएको देखिन्छ । यो जिल्ला जसरी पहाड, भित्रीमधेश र मधेश गरी तीन भागमा बर्गीकृत भयो र आफ्नो प्राकृतिक सौन्दर्यताले सिङ्गा¥यो त्यसरी नै यस जिल्लामा बहुभाषा, बहुधर्म, बहुसंस्कृतिक, वहुपरम्परा तथा बहुमानवीय धारणा र भावनाले र विविधता नै विविधताले भरिएको जिल्ला हो यो । यस जिल्लाको साहित्यिक गतिविधिको अध्ययन गर्दा थारुजातिको लोक सुसेलीबाट सुरु भएको देखिन्छ । बसाइ सराइको क्रममा यहाँ विभिन्न जिल्लाबाट मानिसहरू आएर यहाँ आफ्नो भाषा, संस्कृतिक लोक सुसेली बोकेर आए र यस जिल्लालाई विविधतामा सजाए । बरालको आँसुजस्ता गहन राष्ट्रीय भावनाले भरिएका कृतिदेखि यस जिल्लाले महाकाव्य, खण्डकाव्य, लघुकाव्य, कथासङ्ग्रह, उपन्यास, नाटक, गजल, गद्यसाहित्यका कृतिहरूले नेपाली भषालाई सम्बर्धन गर्नमा योगदान पु¥याएका छन् । यहाँ साहित्यिक संस्थाहरूको कमि पनि छैन । लुम्विनी साहित्य परिषद देखि लिएर थुप्रै साहित्यिक संस्थाहरू जन्मेका छन् । कोही गतिशील छन् भने कोही नामाकरण गरिए तर वामेसर्न सकेका छैनन् । साहित्यिक संस्थाहरू जन्मे पछि निरन्तर यसले साहित्यिक कार्यक्रम सञ्चालन गर्नुको सट्टा पद प्राप्त गर्र्ने काममात्रमा सीमित देखिएका छन् संस्थाहरू । पत्रपत्रिकको हकमा पनि यस जिल्लामा थुप्रै पत्र पत्रिका जस्तै नयाँ आवाज(२०३४) जस्ता पत्रिकाहरू प्रकाशनमा आए तर यिनको अवस्था पनि दीगो प्रकाशनमा आउन सकेको पाइदैन । पत्रिका दर्ता गर्ने र केही अंक प्रकाशनमा ल्याउने अनि बन्द हुने जस्ता क्रमहरू देखिएका छन् । हाल यस जिल्लामा चारओटा एफएम रेडियोहरूले साहित्यिक गतिविधिहरू सञ्चालन गरेको देखिन्छ । देवचुली च्यानलले पनि साहित्यिक कार्यक्रम अगाडी लान जुरमुराएको छ । नवलपरासी जिल्लामा साहित्यकारहरूको कमी पनि छैन । यहाँ राष्ट्रियस्तरका थुप्रै साहित्यकारहरू छन् तर पनि नवलपरासीले आफ्नो साहित्यिक गतिविधिलाई क्षिमेकी जिल्लाहरूको दाँजोमा आफ्नो क्रियाशीलतालाई अगाडी लगेर आफ्नो साहित्यिक प्रभाव देखाउन भने सकेको छैन । एउटा टड्कारो प्रश्न खडा के हुन्छ भने यस जिल्लामा के कमी छ र आफ्नो साहित्यिक क्षमताको प्रर्दशन गर्न सकेको छैन ? माथि केलाइएका सबै कमी कमजोडीहरू यस जिल्लामा पनि पाइन्छन् । यहाँ भएका सबै साहित्यिक संस्थाहरूको सङ्ख्यात्मक बृद्धिको सट्टा गुणात्मक बृद्धिको आवश्यक्ता छ । राजनीतिक वादबाट माथि उठेर साहित्यिक कार्यक्रमलाई तीब्रता दिन आवश्यक छ । पुराना र नयाँ पुस्ताका साहित्यकारहरूमा समनता र आदरभावमा सहयोग र सद ्तथा सहभावनामा बृद्धिको खाँचो छ । फुटेर हैन जुटेर र गुट गुट भएर हैन एकजुट भएर, राष्ट्र र राष्ट्रियताको सवलतालाई र संवर्धनलाई शिरोधार्य गर्दै , राजनीतिकवाद भन्दा माथी उठेर साहित्यिकवादलाई अङ्गाल्दै अगि बढ्नु पर्ने आवश्यक्ता छ । खुट्टातान्ने प्रवृति भन्दा सोपान थप्ने प्रवृतिको विकास हृनु आवश्यक छ ।

अत नेपाली साहित्य आज जहाँ नेपाली पुगेका छन् त्यहाँ केही न केही साहित्यिक सिर्र्जनाको थालनी भएको देखिन्छ । साहित्यिक संस्थाहरूको संख्या वढ्दोक्रममा छन् । ती संस्थाहरुले पत्रपत्रिकाहरू, पुस्तकहरू, प्रकाशनको साथै साहित्यिक गतिविधिलाई अगाडि लाने क्रममा वेभसाइटहरूजस्तै मझेरी डटकम, समकालिन साहित्य, डटकम, पल्लवा डट कम डट एनपी आदि जन्मेका छन् । यी सबै संध संस्थाहरुले नेपाली साहित्यमा जे जति योगदान पु¥याएका छन् ती सबै प्रशंसनीय छन् । नेपाली साहित्यलाई आज विकसित देशहरूको साहित्यसँग प्रतिस्पर्धी रूपमा अगाडी बढाउन आवश्यक छ । त्यसको लागि सबैको निरन्तरता र प्रयासको खाँचो छ ।

कावासोती, शान्तिचोक, नवलपरासी

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।