19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नाट्य र नाट्यशास्त्र

विचार हेमन्तकुमार नेपाल August 1, 2013, 10:00 am

नाट्य शब्दले नृत्य गीत बाद्यको समुदाय रूप स्पष्ट पार्छ । कोशकारहरूले गीत, नृत्य र वाद्यको सहप्रस्तुतिलाई नाट्य भनेका छन् । त्यसलाई तौर्यन्त्रिक संज्ञा दिएका छन् । अमरकोषकार अमरसिंह भन्छन् –

तौर्यन्त्रिकं नृत्तगीतवाद्यं नाट्यमिदं त्रयम् ।।

तौर्यन्त्रिक नृत्त, गीत र वाद्यको समुदायरूप अर्थ हो ।

शब्दरत्नाकरमा पनि उल्लेखित छ –

तौर्यत्रिकं नृत्तगीतवाद्यं नाट्यं च तत्त्रयम् ।।

तौर्यत्रिक नृत्त, गीत, वाद्य तीन अर्थलाई प्रकट गर्ने नाटक नै हो ।

हलायुधमा भनिएको छ –

नाट्यं नृत्तगीतवाद्यं तोर्यत्रिकम् ।।

नाट्य नै नृत्त, गीत र वाद्य तौर्यत्रिक हो ।

मेदिनी कोशमा भनिएको छ –

नाट्यं तौर्यत्रिकं लास्यम् ।।

नाट्य नै तौर्यत्रिकका रूपमा उल्लासित छ ।

अभिनव भारतीको भाग एक पृष्ट संख्या 209 मा अभिनव गुप्तले “नाट्यशास्त्रका टीकाकार हर्षले तौर्यत्रिकलाई रङ्गको पर्याय मानेका छन्” भनेका छन् । आदिभरतको भनाई अनुसार ताण्डव र लास्य पनि नाट्यका रूप हुन् । अमरकोशकार अमरसिंह – “टाण्डवं नटनं नाट्यं लास्यं नृत्यं च नर्तने” भनेर ताण्डव, नटन, नर्तन, नृत्य र नृत्त लाई नाट्यको पर्याय मान्दछन् । भरते नाट्यलाई सार्ववर्णिक वेद भनेका छन् –

नाट्याख्यं पञ्चमं वेदं सेतिहासं करोम्यहम् ।।

नाट्य नाम गरेको पाँचौं वेद इतिहास सहित म निर्माण गर्दछु । ज्ञान, शिल्प, कला, विद्या, योग, कर्म समस्त जो नाट्यमा छैन त्यो छैन । त्यसैले भरतले भनेका छन् नाट्यशास्त्रको एक अध्यायको 116 श्लोकमा –

न तज्ज्ञानं न तच्छिल्पं न सा विद्या न सा कला ।

नासौ योगो न तत्कर्म नाट्येSमिन् यन्न दृश्यते ।।

भनाइको तात्पर्य के हो भने जसमा समस्त ज्ञान कर्म आदि समाहित छन् त्यो नै नाट्य हो ।त्यसैले नृत्य, गीत, वाद्य र अभिनयको समुदाय रूप अर्थ नै नाट्य हो ।

नाट्य र नटन यि दुवै शब्द नट् धातु बाट निर्मित हुन्छन् । दुवैको अर्थ नर्तन, नृत्य र नृत्त हुन्छ । त्यसरी नै नर्तन र नृत्य शब्द नृत् धातु-बाट बन्दछन् दुवैको साधारण अर्थ गात्र-विक्षेपण या अङ्ग सञ्चालन गर्नु हुन्छ । गात्र-विक्षेपण यो क्रियाको एउटा सामान्य तत्व हो जुन नाट्य, नर्तन एवं नृत्तका सबै विधाहरुमा पाइन्छ । कुनै गात्र-विक्षेपण यस्ता पनि हुन्छन् तिनीहरुमा न नै अर्थको अपेक्षा हुन्छ र न नै भावको अनुसरण । केवल ताल र लयमा आश्रित हुन्छन् । तिनीहरुलाई नै नृत्त भनिन्छ । भाव प्रदर्सनको लागी कुनै स्थान हुदैन विविध अङ्ग-स़ञ्चालनको साथमा नर्तन गरिन्छ ।त्यसैले रस र भावको अपेक्षा अङ्ग सञ्चालको चमत्कारमा अधिक ध्यान दिइन्छ । सारङ्गदेवले सङ्गीत रत्नाकरमा भनेका छन् –

गात्रविक्षेपमात्रं तु सर्वभिनय वर्जितम् ।

आङ्गिकोक्त्त प्रकारेण नृत्तं नृत्यविदो विदुः ।।

समस्त प्रकारका अभिनयहरूले रहित अङ्ग-सञ्चालन मात्रलाई नृत्त भनिन्छ ।

नटन या नर्तनको अर्को विधा नृत्य हो । यसमा भाव प्रदर्शन सँगै अङ्ग-सञ्चालन गरिन्छ । यसमा अङ्ग-सञ्चालनद्वारा भाव विशेषको प्रदर्शन गरिन्छ । यसैलाई पदार्थको अभिनय गर्नु पनि भनिन्छ । नन्दिकेश्वरको भनाई अनुसार रस, भाव र व्यञ्जनाले युक्त्त जुन अभिनय गरिन्छ त्यसैलाई नृत्य भनिन्छ । अरूले यसलाई नाट्यको स्वरूप मानेका छन् । भन्न खोजेको के हो भने – जसमा भावको प्रदर्शन सून्य हुन्छ केवल ताल र लयको सहाराले र अङ्ग-भङ्गिमाहरुको सहाराले अङ्ग-सञ्चालन या गात्र-विक्षेपण गरिन्छ त्यसलाई नृत्त भनिन्छ । नृत्यमा भाव-व्यञ्जनादिका साथमा अङ्ग-सञ्चालन या नर्तन गरिन्छ । अनेक प्रकारका हाव-भाव प्रदर्शनका साथमा नर्तकले दर्शकलाई मनोरञ्जन प्रदान गर्छ । आङ्गिक अभिनय सँगै कहिले-काहीँ आहार्य अभिनयको पनि समावेश हुन्छ तर वाचिक र सात्विक अभिनयको समावेश हुँदैन । नटन या नर्तनको दोस्रो विधा नाट्य हो । यसमा सम्पूर्ण अभिनय हुन्छ र रसका पूर्ण सामाग्री प्रस्तुत हुन्छन् । आदि भरतको भनाईमा यसमा सम्पूर्ण वाक्यार्थलाई अभिनयको माध्यमले प्रदर्शित गरेर सहृदयहरूको हृदयमा रसको सञ्चार गरिन्छ (वाक्यार्थभिनयरसाश्रयं नाट्यम्) । नन्दिकेश्वरले प्रचीन कथामा आश्रित तथा लोकपूजित अभिनयलाई नाट्य भनेका छन् (नाट्यं तन्नाटकं चैव पूज्यं पूर्व कथायुतम्) । नन्दिकेश्वरको यो परिभाषामा एउटा कुरा विशएष उल्लेख्य छ । उनले पूर्व कथाश्रित अभिनय सँग लोकरूचि या लोक स्वभावमा पनि बलदेका छन् । भरते पनि आङ्गिक आदि अभिनयहरूले युक्त्त सुख, दुःख आदिले समन्वित लोकस्वभावलाई नाट्य भनेका छन् । यस्तै प्रकारले गात्र-विक्षेपण मात्र नर्तनलाई नृत्त, भवप्रदर्शन सँग पदार्थभिनयलाई नृत्य र वाक्यार्थभिनयलाई नाट्य भनिन्छ । यसरी नृत्त, नृत्य र नाट्यका अर्थमा किञ्चित भेद देखिए पनि मूलरूपमा गात्र-विक्षेपणरूप एउटै तत्व विद्यमान हुन्छ । नृत्त नाट्यरूप अर्थ हो या नाट्य भन्दा भिन्न हो ? यो विषयमा नाट्यशास्त्रको चौथो अध्यायमा पर्याप्त विचार विमर्ष भएको छ । दुवै मतको पक्ष-विपक्षमा पर्यापत तर्क पनि प्रस्तुत भएको छ । अभिनव गुप्तले पहिलो पक्षको उपस्थापन गर्दै भनेका छन् नृत्त र नाट्य दुवैमा नै गात्र-विक्षेपण हुन्छ । यि दुवै समानार्थक हुन् । दुवैको स्वभाव र प्रयोजन एकै हुन्छ । अतः नृत्त नाट्यरूप हो तथा नृत्य पनि नाट्यरूप नै हो । उनी भन्छन् रेचक र अङ्गहाररूप नृत्त गात्र-विक्षेपण रूपमा हुन्छन् । इनिहरूवे कनै अर्थको अपेक्षा गर्दैनन् । नाट्य साक्षात्कारकल्प अनुव्यवसायात्मक ज्ञानरूप हो त्यसैले यो वाक्यार्थरूप हुन्छ । अतः नाट्य भन्दा भिन्न छ । नृत्तमा रस र भावको अप्रधानता रहन्छ र नाट्यमा रस र भावको प्रधानता रहन्छ । वार्तिककार हर्षले भनेका छन् – नृत्त र नाट्य दुवैमा रस, भाव, दृषटि, हस्त आदि अङ्गहरूको पूर्वा अपूर्णरूपले अनुकरण गरिन्छ ।

समग्ररूपमा हेर्ने हो भने यि दुवैमा तुल्य अनुकरण हुन्छ त्यसो भए नृत्त नाट्य भन्दा कसरी भिन्न हुन सक्छ ? भट्टयन्त्रको भनाई छ – शिक्षाको प्राप्तिका लागी अथवा स्वेच्छाले अभिनितनाट्याङ्गहरुले सम्पादित नृत्त अभ्यासको फल हो । भट्टलोल्लटको भनाई अनुसार नृत्त मङ्गलको अवसरमा गरिनेवाला समयाचार हो । कीर्तिधराचार्यको मत अनुसार अभिनेय, दृश्य आदि शब्दहरूको प्रयोग नाट्य समान नृत्तमा पनि हुन्छन् त्यसैले नृत्त पनि नाट्य हो । भरतले नृत्तलाई नाट्यको अङ्ग स्वीकारेका छन् । उनले नाट्को स्वरूप विवेचन गर्न अनुकरण (अनुकृति) अनुकीर्तन र अनुदर्शन शब्दको प्रयोग गरेका छन् । सामान्यरूपले मानवद्वारा गरेका कार्यहरूको अनुकरणलाई नाट्य भनिन्छ । दशरूपककार धनन्जयले पनि लोकको विभिन्न अवस्थाहरूको अनुकृतिलाई नाट्य भनेका छन् । उनले केवल अनुकरण या अनुकृति मात्रलाई नाट्य मानेका छैनन् । उनको भनाई अनुसार नाट्य अन्कनणको रूप हँदैन केवल अनुकरण उपहासरूप हुन्छ नाट्यानुभूति हुन सक्दैन । नाट्यानुभूति अनुव्यसायरूप अनुकीर्तनले हुन्छ । त्यसैले नाट्य अनुकीर्तनरूप हो र त्रिलोकिका भावहरू नै अनुकीर्तन हुन् । अभिनवगुपतको भनाई अनुसार नाट्य विकल्पज्ञानले सम्पृक्त्त अनुव्यवसायात्मक कीर्तनरूप हो अर्थात विकल्पले संपृक्त्त प्रत्यक्ष ज्ञान नाट्य हो । यदि नाट्य अनुकरणरूप होइन भने लोकवृत्तीको अनुकरण नाट्य हो र सप्तद्वीपको अनुकरण नाट्य हो वाक्यहरू कसरी सार्थक हुन्छन् ? किन कि इनीहरूमा नाट्यलाईअनुकरणको रूप मानिएको छ । त्यसैले त भनिन्छ अनुव्यवसायले लौकिक कारणको अनुसरण गर्दै प्रवृत्त हुन्छ अतः नाट्यलाई अनुकरण भन्दा कुनै दोष उत्पन्न हुँदैन । यही दृष्टिकोणले भरतले पनि नाट्यलई अनुकरण भनेका हुन । अभिनवगुप्तको भनाईमा नटद्वारा प्रस्तुत अभिनयको प्रभावले प्रत्यक्ष समान प्रतीयमान, एकाग्र मनको निश्चलताले अनुभवनीय नाटक र काव्य विशेष प्रकाश्य अर्थ नाट्य हो । विभावादिहरूका अनन्त रूप छन् ता पनि समस्त जड पदार्थहरूको ज्ञानमा पर्यवसित हुनाले तथा भोक्तामा र भोक्ताहरूतो प्रधान भोक्तामा (अन्तरात्मामा) पर्यवसान हुनाले नायकको रत्यादिरूप स्थायीभावात्मक चित्तवृत्तिरूप अर्थ पनि नाट्य हो ।स्वगत र परगत भेदले रहित त्यो चित्तवृत्ति द्वारा आश्वाद्यमान हुनाले रस हो । किन भने नाट्यको पूर्ण अनुभूति रसमा नै हुन्छ त्यसैले रस नाट्य हो । जसको अनुभूति नाट्यको फल परिणाम हो । त्यसैले जुन नाट्यरसको अनुभूति हुन्छ त्यो नै महारस हो । यसमा अरू माहारसहरूको स्थिति गौण हुन्छ र तिनिहरूले प्रधानरसको ज्ञान समुदायरूपमा गराउछन् । यो रस नाट्यसमुदायद्वारा समुद्भूत हुन्छ । अतः नाट्य समुदाय नै रस हो र रस सुदाय नै नाट्य हो । नाट्य नै रस हो र काव्यमा पनि नाट्यरूप नै रसरूपमा रहन्छ । त्यसैले अभिनवगुप्तको भनाई अनुसार रस समुदायरूप नाट्य हो र नाट्य नै रस हो । भरतले लोकको सुखदुखात्मक स्वरूप नै नाट्यको स्वरूप हो भनेका छन् । लोकको सुखदुखात्मक स्वभाव जब अङ्गादि अभिनयहरूले अभिनित हुन्छ त्यसैलाई नाट्य भनिन्छ । यहाँ अङ्गादि पदले आङ्गिक, वाचिक, आहार्य र सात्विक चार अभिनयहरूलाई लिइन्छ । त्यसैले अङ्गादि चतुर्विध अभिनयले युक्त्त लोकको सुखदुखात्मक प्रवृत्ति नाट्य हो । अङ्ग पदले शाखा, नृत्त र अङ्कुरको ग्रहण हुन्छ । शाखाको अर्थ आङ्गिक अभिनय हो र अङ्कुरको अर्थ सूचना हो । त्यसैले आङ्गिक अभिनय नृत्त एवं अङ्कुर आदि अङ्गहरूले युक्त्त लोकस्वभाव नाट्य हो । अङ्ग पदले विभाव, अनुभव र व्यभिचारिभाव रूप अङ्गहरूको ग्रहण हुन्छ । त्यसैले विभावादिरूप अङ्गादि अभिनयहरीले सम्विद दर्पणमा प्रतिबिम्वित अर्थ नाट्य हो । रसाश्रयभूत चतुर्विध अङ्गादि अभिनय प्रधान प्राचीन इतिवृत्तको आश्रयलाई लिएर नर्तन द्वारा जनमानसमा अनुकूल रस सञ्चार गर्नु नाट्य हो । नाट्य केवल वृत्तको अनुकरण होइन अपितु त्रिलोकी भावको अनुकीर्तन हो, अनुदर्शन हो, अनुव्याहरण हो र अनुभावन हो । नाट्को स्वरूप निर्धारण गर्न सङ्ग्रहको महत्वपूर्ण भूमिका रहन्छ । सङ्ग्रह के हो ? यस विषयमा अभिनवगुप्यको भनाई छ जसमा प्रतिपाद्य वस्तुको सम्यकरूपले ग्रहण हुन्छ त्यसको परिगणन त्यो वस्तुको सङ्ग्रह हो । सङ्ग्रहको ज्ञान भएपछी वस्तनको प्रतितिका लागी अन्य कुनै प्रमाणको अपेक्षा हुदैन र ज्ञान साक्षात्कार स्वरूप हुन्छ । भरतको भनाई अनुसार सूत्र (लक्षण) र भाष्य (परीक्षा) मा सविस्तार अर्थको सङ्क्षेप स्वरूप प्रस्तुत गर्ने नै सङ्ग्रह हो । त्यसैले कुनै वस्तुको सङ्क्षेप स्वरूप बताउँनु सङ्ग्रह हो । भरतको भनाई अनुसार आङ्गिक, वाचिक र आहार्य तीन प्रकारका अभिनय तथा गान एवं वाद्य यि सबै मिलेर नाट्यका पाँच अङ्ग बन्दछन् । यि पाँच अङ्ग भरका अभिमतमा हुन् । नाट्य शास्त्रको षष्ठ अध्यायमा कोहलका मतका एघाह्र नाट्का अङ्गहरू वर्णित छन् ती हुन्- रस, भाव, अभिनय, धर्मी, वृत्ति, सिद्धि, स्वर, आतोद्य, ज्ञान र रङ्ग । अभिनवको भनाईमा यो भरतको मत होइन । भरतले केवल कोहलद्वारा सङ्गृहित अङ्गको पुनः प्रतिस्थापन गरेका हुन् । भरतले केवल क्रमलाई परिवर्तन गरेका छन् । यिनिहरूमा प्रथम तत्व रस हो त्यसैले रसको गणना सर्वप्रथम हुन्छ । रस निस्पत्ति भावद्वारा हुन्छ त्यसैले रस पाडी भावको निरूपण हुन्छ । भावको निस्पत्ति अभिनयद्वारा हुन्छ त्यसैले भाव पछी अभिनयको कथन गरिन्छ । अभिनयका पछाडी क्रमैले प्रयोजनभूत धर्मी, वृत्ति, प्रवृत्ति परिगणन हुन्छन् । सङ्ग्रहका यी छ तत्व नाट्यका आभ्यन्तर एवं अविभाज्य अङ्ग हुन् । त्यस पछाडी सिद्धि, स्वर, आतोद्य, गान र रङ्ग यि पाँच अङ्ग परिगणीत हुन्छन् इनिहरू बाह्य अङ्ग हुन् । यि नाट्यका एघाह्र अङ्ग वर्णित छन् । भट्टोद्भटको भनाई छ की कोहलका मतमा तत्व क्रम यस प्रकार छन् – रङ्ग, गान, आतोद्य, स्वर, सिद्धि, वृत्ति, प्रवृत्ति, धर्मी, अभिनय, भाव, र रस भरतले यिनिहरूको क्रम परवर्तन गरिदिएका छन् । भट्टलोल्लट यो मतमा सहमत छैनन् यहाँ क्रम विवक्षित नहुनाले र निष्पत्ति क्रम निर्धारणमा ग्रन्थकारको तात्पर्य नभएकाले यो क्रम परिवर्तन भएको हो यसमा कुनै दोष छैन । अभिनवगुप्त भन्छन् रस नै नाट्य हो जसको अनुभूति रसमा छ । किन भने रस विना नाट्यमा कुनै अर्थ प्रवृत्त हुँदैन । त्यसैले नाट्यमा जुन रसको अनुभूति हुन्छ त्यो नै महारस हो । अन्यरस महारसका अंसभूत हुन् । महारसबाट अन्यरस प्रसृत हुन्छन् । वैयाकरणिकहरूको भनाईमा अन्यरस स्फोट सिद्धान्त अनुसार असत्य छन् । अन्विताभिधानवादका समान उपायभूत सत्यका समान छन् । अन्विताभिधानवादी भन्छन् मुख्यरसको समुदायरूप नाट्यरस हो । त्यसले समुदायरूपमा मुख्यभूत महारसको ज्ञान गराउँछ । त्यसैले नाट्य समुदायरूप रस हो अथवा नाट्य नै रस हो र रस समुदाय नै नाट्य हो । नाट्यसङ्ग्रहमा निर्देशित एकादश अङ्गहरूको कुनै पृथक अस्तित्व छैन । यि नाट्यमा नै अन्तर्निहित छन् । यो दृष्टिकोणले हर्दा समुदायरूप अर्थलाई नाट्य भनिन्छ । शारङ्गदेवको भनाईमा नाट्यको मुख्य अर्थ रस हो लक्ष्णाले त्यसको ज्ञान हुन्छ । उनले चार प्रकारका अभिनयले युक्त्त रसाभिव्यक्त्तिको मूल कारण नर्तनलाई नाट्य भनिन्छ भनेका छन् । शारङ्गदेवको भनाईमा नर्तन नै नाट्य हो र रसानुभूतिको कारण पनि । त्यसैले नर्तन र नाट्य एकै तत्व हुन् । त्यसलाई नर्तन भने पनि, नटन भने पनि र नाट्य भने पनि हुन्छ । सम्पूर्ण नाट्यको शास्त्र अर्थात नाट्यवृत्त शासनको उपायभूत ग्रन्थको नाम नाट्यशास्त्र हो । त्यसैले नाट्यशास्त्र नाट्यलाई राम्ररी बुज्ने उपाय हो । अभिनवगुप्तको भनाईमा नाट्य लौकिक पदार्थहरू भन्दा भिन्न अनुकरण, प्रतिविम्ब, शादृष्य, आरोप, अध्यवसाय, उतप्रेक्षा, स्वप्ना तथा इन्द्रजाल लौकिक प्रतीतिहरूले विलक्षण आस्वादनरूप साक्षात्कार ज्ञानले वेद्य अलौकिक रसात्मक वस्तु हो । त्यसैले अलौकिक रसात्मक नाट्यको शास्त्र नाट्यशास्त्र हो । अभिनवगुपतले नाट्यशास्त्रलाई नाट्यवेदको पर्याय मानेका छन् । अरू नटनीय अनुकरणरूप दश रूपकहरूलाई नाट्य भन्दछन् । त्यसैले नाट्यशास्त्र दश रूपकहरूको स्वरूप निरुपण गर्ने शास्त्र हो ।

निस्कर्षमा भन्नु पर्दा नाट्य अर्थात अभिनय सङ्ग सम्बन्धित सबै विषय प्रतिपादन गर्ने शास्त्र नाट्य शास्त्र हो । नटले नाट्यशाला सम्बन्धित सबै प्रकारका विषयहरू वा ज्ञानहरू ग्रहण गर्ने शास्त्र नाट्यशास्त्र हो । यो शास्त्रमा सम्पूर्ण अभिनयका तथ्यहरूको वैज्ञानिक ढङ्गमा विवेचना भएको छ । यसले सम्पूर्ण अभिनयका क्षेत्रलाई समेट्दछ । त्यसैले यसको ज्ञान अभिनयका जिज्ञासुहका लागी अत्यन्त उपयोगी छ ।।

सहप्राध्यापक नेपाली विभाग

सिक्किम सरकारी महाविद्यालय, ग्यालसिङ

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।