17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

‘पुष्प कमल सुवेदी स्मृति ग्रन्थ’ का मुख्य पक्ष

कृति/समीक्षा डा. यदु नन्दन उपाध्याय August 1, 2013, 6:24 pm

नेपालको भौगोलिक दुष्टिले गण्डकी र धौलागिरि अञ्चल तथा वैचारिक दृष्टिले समग्र नेपालमै जनवादी गणतन्त्रको स्थापनाका निम्ति पूर्ण उत्साह, जोस र जाँगरका साथ सक्रियता देखाएका पुष्प कमल सुवेदीको सङ्घर्षशील जीवनका बहुमुखी पक्ष र ३६ वर्षको अल्पायुमै भएको असामयिक अवसानको दुखद स्थितिलाई समेत समावेश गरिएको महत्त्वपूर्ण ग्रन्थ ‘पुष्प कमल सुवेदी स्मृति ग्रन्थ’ ‘पुष्प कमल सुवेदी स्मृति प्रतिष्ठान कास्की’ ले २०६९ मा प्रकाशित गरेको छ । उक्त कृतिको सम्पादन नारायण परिश्रमी, डा. कृष्णराज अधिकारी तथा रामराज रेग्मीले गर्नु भएको छ । ग्रन्थको सुरुमा प्रतिष्ठानको कार्य समितिको नामावली प्रस्तुत गरिएको ग्रन्थको प्रकाशकीयका रूपमा ‘प्रतिष्ठानका तर्फबाट’ भन्ने शीर्षकमा केही महत्त्वपूर्ण कुराहरू प्रस्तुत गरिएको देखिन्छ जसले प्रतिष्ठानका उद्देश्य र योजनाबारे केही जनकारी गराएको छ ।

प्रस्तुत ग्रन्थमा पुष्प कमल सुवेदीलाई २०२० र ३० को दशकका गण्डकी र धौलागिरि अञ्चलमा निकै ठुलो हलचल उत्पन्न गर्ने क्रान्तिकारी योद्धाका रूपमा चित्रित गरिएको छ र पनि उनलाई ओझेलमा पारिएकोमा आत्मालोचना समेत गर्दै केही विवेकशील व्यक्तिहरूका अगुवाइमा उनका जीवनका उकाली एवं ओरालीबारे प्रकाश पार्न प्रतिष्ठानले प्रयास गरेको जनाइएको छ । त्यसमा पुष्प कमल सुवेदीका कार्यबारे वर्तमान र भावी पुस्तालाई समेत अवगत गराई उनलाई पुनस्र्थापित गराउने जमर्को प्रतिष्ठानले गर्न खोजेको सन्दर्भ पनि उल्लेख गरिएको छ ।

प्रतिष्ठानको उद्देश्यबारे “पुष्प कमल सुवेदीका सहयोद्धा, सहकर्मी, तथा राजनीतिक एवं सामाजिक क्षेत्रमा आमूल परिवर्तनका लागि आफ्नो जीवन समर्पित गर्ने व्यक्तिहरूलाई बर्सेनी सम्मान, अभिनन्दन, तथा पुरस्कृत गर्ने, देश विदेशका सामाजिक, राजनीतिक, घटना क्रमहरूलाई विषय वस्तु बनाएर अन्तर क्रिया, गोष्ठी आदि सञ्चालन गर्ने, दर्शन वा विचारका क्षेत्रमा अनुसन्धान गराउने, वैचारिक पत्रिका, पुस्तक, जर्नल, खोजमूलक सामग्री आदि प्रकाशित गर्ने, विगतमा योगदान पु¥याएका क्रान्तिकारी योद्धाहरूका जीवनी र तिनका योगदानलाई जन समक्ष ल्याउने र विभिन्न खालका लोक कल्याणकारी सामाजिक कार्य गर्ने” आदि कुरा उल्लेख गरिएको छ । प्रतिष्ठानले लिएका यस्ता उद्देश्यहरू ज्यादै सामयिक, उचित छन् र इतिहासबाट पाठ सिकेर वर्तमानलाई राम्रो बनाउन तथा भविष्यलाई दिशा निर्देश गर्न पनि तिनले महत्त्वपूर्ण भूमिका खेल्नेछन् भन्ने आशा गर्न सकिन्छ र यस कार्यमा प्रतिष्ठानको कार्य समिति, सम्पादन समितिको सराहना गर्नै पर्ने देखिन्छ ।

प्रस्तुत ग्रन्थका सामग्रीलाई मूलतः पाँच भागमा वर्गीकृत गरिएको छ । पहिलो परिचय भागमा डा. हंसपुरे सुवेदी, रामराज रेग्मी, गजराज सुवेदी, रामबाबु सुवेदी, भोजराज सुवेदीका लेखहरू परेका छन् र तिलने सुवेदीको जीवनका विविध पक्ष, शिक्षा, स्वभाव, राजनीतिक, शैक्षिक एवं सामाजिक कार्य आदिबारे प्रकाश पारेका छन् । निकटस्थ अग्रज एवं समकालीन साथी, आफन्तहरूका यस्ता लेखले पुष्प कमल सुवेदीका अन्तरङ्ग पक्षको परिचय प्राप्त भएको छ ।

ग्रन्थको दोस्रो भाग संस्मरणका रूपमा प्रस्तुत गरिएको छ र त्यसमा विभिन्न राजनीतिक दलका शीर्षस्थ नेतादेखि चिने जानेका आफन्त, सहयोद्धा एवं सहकर्मी एवं उत्तरवर्ती व्यक्तित्वहरूका संस्मरणहरू प्रस्तुत गरिएका छन् । तिनमा क्रमशः नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, वामदेव गौतम, शिक्षासेवी जर्ज जोन, शेषमणि आचार्य, दीपेन्द्र बहादुर क्षेत्री, त्रिलोचन ढकाल, मोदनाथ रेग्मी, रामचन्द्र अधिकारी, कृष्ण प्रसाद भट्टराई, टेकनाथ बराल, शारदा प्रसाद सुवेदी, सोमनाथ अधिकारी ‘प्यासी’, तिलक पराजुली, झलक पाणि तिवारी, रवीन्द्र अधिकारी, रघुनाथ अधिकारी, रविलाल अधिकारी, तारा बराल, झलक सुवेदी, दिनेश चन्द्र सुवेदी, कृष्णराज अधिकारी, दिवाकर सुवेदी, विजय बाबु वनवासी, प्रभात सुवेदी, शुक्रराज सापकोटा, विष्णु प्रसाद भट्टराई, वनमाली सुवेदी, पूर्ण गिरी, प्रेमनाथ सुवेदी, राम बहादुर अधिकारी, निर्मल सुवेदी, कुसुम केशव पराजुली रहेका छन् ।

प्रस्तुत ग्रन्थमा पुष्प कमल सुवेदीका बारेमा आफ्ना संस्मरण प्रस्तुत गर्ने बाँकी अरू लेखकहरूमा सूर्य शरण रेग्मी, इन्दु रेग्मी, भद्रकृष्ण सुवेदी, बाबुराम वैरागी, होम प्रसाद सुवेदी, नवीन अधिकारी, गोपाल नन्दन गिरी, दिव्यराज सुवेदी, नवराज सुवेदी, हर्क बहादुर कार्की, पद्यराज सुवेदी, राजेन्द्र न्यौपाने, दिलीप सुवेदी, पूर्ण प्रसाद ढुङ्गाना, कविराज अधिकारी, लक्ष्मण गौतम ‘हिमाली’, श्यामजी केशव पराजुली, कृष्ण बहादुर कार्की, रामचन्द्र गौतम, क्षेत्रबहादुर कुँवर, उपेन्द्र राज सुवेदी, प्रदीप सुवेदी, चिरञ्जीवि पौडेल, गोपाल गिरी, विश्वनाथ सुवेदी, ध्रुव कल्पित सुवेदी, निर्मला क्रान्ति, प्रेम सुवेदी, मुरली मोहन काफ्ले, डी.बी. भुजेल, रामनाथ अधिकारी, जीवनाथ भट्टराई, बुद्धि सागर सापकोटा, नरनाथ पौडेल, प्रेम भुजेल, दामोदर न्यौपाने, भरत मणि भट्टराई, ठाकुर प्रसाद सुवेदी, देवान सिंह वि.क., आनन्द सुवेदी, शरद राज सुवेदी, इन्द्र प्रसाद सुवेदी, कालिदास सुवेदी, विष्णु प्रसाद सुवेदी रहेका छन् ।

ग्रन्थको तेस्रो खण्ड पुष्प कमल सुवेदीको कवि व्यक्तित्वलाई प्रकाश पार्नमा केन्द्रित रहेको छ । त्यसमा ‘‘बहिनीलाई चिठी’ कविताको सेरोफेरोमा पुष्प कमल सुवेदी’ शीर्षकको समीक्षा समीक्षक नारायण परिश्रमीले लेख्नु भएको छ । त्यसमा परिश्रमीले सो कवितामा आधारित भएर कविताको बनोट, त्यसको सार, त्यसमा व्यक्त राष्ट्रप्रेम, नारी मुक्तिको चेत र क्रान्तिबारे गरिएको आह्वानलाई सविस्तार विश्लेषण गरेका छन् ।

ग्रन्थको चौथो खण्ड पुष्प कमल सुवेदीबारे आफ्ना अनुभवमा सँगालिएका भावनालाई कवितात्मक एवं गीतिमय अभिव्यक्तिमा प्रस्तुत गरिएको छ । सूरुमा स्वयं पुष्प कमल सुवेदीका तिन कविता प्रस्तुत गरिएको छ र ती कविताबाट सुवेदीमा राम्रा कविता रचना गर्न सक्ने खुबी पनि प्रकट भएको छ । त्यस्तै पुष्प कमल सुवेदीबारे कविता र गीतका माध्यमबाट आफ्ना अनुभव र अनुभूति पोख्ने काम गरिएको छ र त्यस्ता कवि एवं गीतकारहरूमा नुमराज बराल, पद्यराज ढकाल, तेजराज सुवेदी, टङ्क प्रसाद सुवेदी, केशव राज सुवेदी, बालचन्द्र सुवेदी, शिवराज सुवेदी, देवी रमण सुवेदी, बाबुराम पन्त, महाकाली सुवेदी, गौरी सुवेदी, मनोज सुवेदी, धर्मराज लामिछाने, उमानाथ न्यौपाने रहेका छन् । यिनीहरूका अनुभूतिमा पनि पुष्प कमल सुवेदीको व्यक्तित्व एवं कृतित्व मुखरित भएको छ ।

ग्रन्थको अन्तिम तथा पाँचौ भागमा भाषिक दृष्टिले अँग्रेजीका दुई लेखहरू समाविष्ट गरिएका छन् । ती लेखहरू विमल राज रेग्मी र उत्तम राज रेग्मीका छन् । ती लेखमा पनि पुष्प कमल सुवेदीबारे दुई भान्जाहरूले प्रस्तुत गरेका भावना पोखिएका छन् । साथै ग्रन्थका अन्तमा सुवेदी र उनका सहकर्मी मित्रहरूका साथै पारिवारिक व्यक्तिहरूका फोटाहरू पनि समावेश गरी ग्रन्थलाई स्मरणीय बनाइएको छ ।

यसरी उपर्युक्त प्रतिष्ठानका कार्य योजना र उद्देश्य अनुसार पुष्प कमल सुवेदीका विविध पक्षलाई प्रकाशित गर्नमा केन्द्रित गरिएको यस ‘पुष्प कमल सुवेदी स्मृति ग्रन्थ’ मा सुवेदीका जीवन र कर्मबारे निम्न लिखित पक्षमा मुख्य रूपमा प्रकाश पार्न खोजिएको देखिन्छ ।

पुष्प कमल सुवेदीको जन्म र परिवार

पुष्प कमल सुवेदीको जन्म २००६ साल चैत्र ६ गते कास्कीको हंसपुरमा भएको हो । उनका पिताको नाम चिजनाथ सुवेदी र माताको नाम सन्तुमाया सुवेदी हो । उनी मातापिताका पाँचौँ पुत्र थिए र उनकी श्रीमतीको नाम गंगा सुवेदी हो । छोरा बुहारी प्रदीप सुवेदी र इन्द्रायणी चालिसे, दिलिप सुवेदी र अपराजिता पहारी हुन् । उनका दाजुहरूको नाम तेजराज सुवेदी, ओमराज सुवेदी, पद्यराज सुवेदी, गजराज सुवेदी र भाइ दिव्यराज सुवेदी हो । उनका भाउजूहरूमा जानुका, उर्मिला आदि पर्दछन् । सबै परिवारको नाम समावेश गरिएको छैन ।

पुष्प कमल सुवेदीको बाल्य काल

पुष्प कमल सुवेदीको बाल्य काल ‘हुने बिरुवाको चिल्लो पात’ भन्ने नेपाली उखानलाई सार्थक पार्ने खालको भएको कुरो ग्रन्थभित्रका विभिन्न लेखकहरूले उल्लेख गरेको देखिन्छ । डा. हंसपुरे सुवेदी(४)ले उनलाई बाल्यकालदेखि नै प्रभावशाली, स्वाभिमानी, अरूको थिचोमिचो सहन नसक्ने, हैकमवालको हप्कीदप्की र शोषणका विरुद्ध लाग्ने स्वभावका भएको उल्लेख गरेका छन् । उनकै दाजु गजराज सुवेदी(२५)का अनुसार पुष्प कमलले आफ्ना मान्य जनको आदर गर्ने, भाइ बहिनीलाई औधी माया गर्ने, अन्याय, अत्याचारका विरोधमा निर्धक्कका साथ वाद विवाद र प्रतिवादमा उत्रने गर्थे । रामबाबु सुवेदी (३०)का अनुसार पनि उनी सानैदेखि पढाइमा पनि तेजिला, एक पटक पढेको, सुनेको र जानेको कुरा नबिगारी जस्ताको तस्तै भन्न सक्ने खुबीका थिए । उनको पठन धारिलो, लेखन आफ्नोपनयुक्त र ज्ञानचक्षु तेजोमय थियो भन्ने सुवेदीको भनाइ छ । साथै रामबाबुले नै २०१२ सालमा हंसपुरमा स्थापित प्रगतिशील पुस्तकालय, त्यस पुस्तकालयले थुपारेका पुस्तक, त्यसले छरेको ज्ञान चेतना, त्यस पुस्तकालयले बर्सेनी गरेको सञ्चालक समितिको चुनाव, हारजित, फूलमाला, अबिर यावत् चिजहरूले उनको बाल्य कालीन परिवेश पालित पोषित गरेको उल्लेख पनि गरेका छन् । यसरी पुष्प कमल सुवेदीको बाल्य कालीन परिवेश र उनका गतिविधि सामान्यभन्दा विशेष रहेको कुरो संस्मरणकारहरूले उल्लेख गरेका छन् ।

पुष्प कमल सुवेदीको शारीरिक व्यक्तित्व

पुष्प कमल सुवेदीको आकर्षक शारीरिक व्यक्तित्व भएको बुझिन्छ । उनको शारीरिक व्यक्तित्वबाट झलनाथ खनाल, वामदेव गौतम लगायत धेरै लेखकहरूले विशेष महत्त्व दिएरै चर्चा गरेका छन् । उनको शरीरबारे चौडा निधार, धप धप बलेका आँखा, ठाडो मुहुडा, गोरो, गम्भीर र उज्यालो अनुहार मझौला कद ज्यादै रूपवान् र जाज्वल्यमान् भएको भन्ने कुरा उल्लेख गरिएको पाइन्छ । धैरै लेखकले पुष्प कमलको शारीरिक रूपबारे बढी चर्चा गरेको देख्दा पनि उनी विशेष आकर्षक शारीरिक व्यक्तित्वका धनी थिए भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।

पुष्प कमल सुवेदीको शिक्षा

पुष्प कमल सुवेदीको शिक्षा आरम्भ अनौपचारिक रूपमा घरमै भएको देखिन्छ । सानैदेखि तीक्ष्ण बुद्धिका भएकाले उनलाई लेख्न पढ्न सिकाउन गारो नभएको कुरो दाजु गजराज सुवेदीले उल्लेख गरेका छन् । गाउँमा पाठशाला नभएकाले माझगाउँका वृहस्पति न्यौपानेबाट उनलाई सानो छँदा अक्षर चिनाउनुका साथै रुद्री र चण्डी पढाइएको र ‘प्रभात प्राइमरी स्कुल’ को स्थापनापछि उनले कक्षा पाँचसम्म त्यहीँ पढेको कुरो रामराज रेग्मीले उल्लेख गरेका छन् । कक्षामा शिक्षकले पढाउँदा स्पष्ट हुन नसकेका कुरा आफूहरूले सोध्न नसक्ने तर पुष्प कमलले सोधेपछि आफूहरू पनि लाभान्वित भएको कुरो उनकै बाल्यकालका सहपाठी वनमाली सुवेदी (१८७)ले उल्लेख गरेको पाइन्छ ।

गाउँमा प्राथमिकपछिको शिक्षा हासिल गर्ने वातावरण नभएकाले पुष्प कमल सुवेदी दाजुहरू तेजराज सुवेदी र गजराज सुवेदीका साथ लागेर १३ वर्षको कलिलै उमेरमा २०१९ सालमा भारतको बनारस जान्छन् । त्यहाँ उनी आर्थिक सङ्कट समेत झेल्दै संस्कृतमा पूर्व मध्यमा र इलाहावाद बोर्डबाट प्रवेशिका परीक्षा पनि उत्तीर्ण गरी २०२१ सालमा फर्कन्छन् । पुनः उनी २०२२ सालमा अध्ययनका निम्ति वनारस जाँदा उनले त्यहाँ ज्ञानार्जन मात्र गरेनन् त्यहाँ रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता पुष्पलालका साथै खास गरी पोखरा बाटुले चौर निवासी बलराम उपाध्यायबाट समाज बदल्ने माक्र्सवादी राजनीति पनि सिकेर फर्केको कुरो यस स्मृति ग्रन्थका धेरै लेखकहरूले उल्लेख गरेको देखिन्छ ।

पुष्प कमल सुवेदी २०२६ सालमा पृथ्वी नारायण क्याम्पसमा वी.ए. तहको अध्ययनका निम्ति भर्ना हुन्छन् । त्यहीँ उनी बनारसमा आर्जन गरेको राजनीतिक ज्ञानको उपयोग गरी प्रगतिशील विद्यार्थीहरूमाझ छिट्टै परिचित र स्थापित हुन पुग्छन् । त्यहाँ उनलाई परिचित तुल्याउनमा बनारसमै चिनजान भएका टेकनाथ बरालका साथै पोखराको प्रगतिशील बुद्धिजीविको सहयोग र समर्थनले सघाउँछ । उनी आफ्नो प्रभावशाली वाक्कला, आकर्षक व्यक्तित्व र प्रगतिशील विद्यार्थीका समर्थनमा रहेर स्व.वि.यू. निर्वाचनको सभापति निर्वाचित हुन पुग्छन् । त्यहाँको सभापति रहेकै अवस्थामा उनमा जनताको राजनीति गर्ने चासो र चेतना बढ्दै जान्छ । त्यसैले उनले २०२७ सालमा पुष्पलाल समूहबाट असन्तुष्ट बनी ‘माले क्रान्तिकारी दल (गण्डकी, धौलागिरि)’ गठन गरेर अघि बढ्ने निर्णय गर्छन् । विशेषतः बुर्जुवा शिक्षा बहिष्कारको तत्कालीन नाराबाट प्रभावित भई राजनीतिक कामलाई अगाडि बडाउने उद्देश्यले नै भेँडावारीमा शिक्षण कार्यमा जुट्छन् । यस क्रममा दिउँसो विद्यालयमा पढाउने र राति माक्र्सवादी राजनीतिक प्रशिक्षण अगाडि बढाउने काम चल्न थाल्छ । यसरी ‘बुर्जुवा शिक्षा बहिष्कार’ बाट प्रभावित भई आफ्ना शैक्षिक प्रमाण पत्रहरू जलाएर जनताको राजनीतिमा क्रियाशील बनेका पुष्प कमल सुवेदीले राजनीतिक कामको निस्क्रियता र मन्दतापछि काठमाडौँबाट वी.ए. सम्मको औपचारिक शिक्षा हासिल गरेको बुझिन्छ ।

पुष्प कमल सुवेदीको शिक्षण सेवा

पुष्प कमल सुवेदीले जम्मा १५ वर्षको कलिलै उमेरमा २०२१ सालमा पारिवारिक भरण पोषणका निम्ति हंसपुर नजिकैको गाउँ मोहरियाको प्राइमरी स्कुलबाट शिक्षण कार्यको थालनी गर्छन् । उनी त्यहाँ सुविधा कम भएकाले केही समयपछि दाजु गजराजका साथ पर्वतको रामजा पकुवाको विद्यालयमा सर्छन् । रामजामा एक वर्ष जति पढाएर पुनः अध्ययनका निम्ति बनारस गएर प्रमाण पत्रतहको पढाइ सिद्ध्याएर फर्केका पुष्प कमल सुवेदीले कास्कीका भेँडावारी, गोर्जे, तनहुँको बयपानी, लमजुङको करापु, मकवान पुरको भीमफेदी आदि स्थानका विद्यालयहरूमा अध्यापन गरेको कुरो विभिन्न लेखकहरूले उल्लेख गरेको पाइन्छ ।

पुष्प कमल सुवेदीले शिक्षा सेवाको काम पढाएर मात्र गरेनन् विभिन्न ठाउँमा विद्यालय खोल्ने, बालबालिकाहरूलाई पढ्न लेख्न उत्प्रेरित गनर्,े गाउँ गाउँमा विद्यालय खोल्न सक्रियता देखाउने, खोलिएका विद्यालयको स्तरोन्नतिका निम्ति अगुवाइ गनेृ, शिक्षकहरूको व्यवस्था मिलाउने, पुस्तकालयको स्थापना गर्ने गरेर पनि सम्पन्न गरेको बुझिन्छ । उनले गोर्जेको विद्यालयमा रकम सङ्कलन गर्ने क्रममा रुखो तरिकाले पनि प्रस्तुत हुनु परेको, घरमा पनि बहिनीलाई विद्यालय पढ्न पठाउन बाबा आमालाई सहमत गराएको, विभिन्न ठाउँमा छोरीहरूलाई पढाउनु पर्छ भन्ने सल्लाह दिने गरेको, आर्थिक रूपले विपन्न परिवारका बाल बालिकालाई किताब, कपी र ड्रेससम्म किनि दिने गरेको कुरा (१९६) पनि लेखहरूमा उल्लेख गरिएको देखिन्छ । यसबाट पुष्प कमल सुवेदी समाजको पिछडिएको शैक्षिक अवस्थामा परिवर्तन ल्याउन क्रियाशील र सक्रिय व्यक्ति थिए भन्ने कुरा प्रस्ट हुन्छ ।

पुष्प कमल सुवेदीको राजनीतिक काम

पुष्प कमल सुवेदीले बनारस गएर माक्र्सवादी राजनीति सिकेको कुराबारे धेरै लेखकहरूले उल्लेख गरेका छन् । पञ्चायती कालमा नेपालमा दलहरू प्रतिबन्धित भएकाले बनारस सत्ताइतर राजनीतिको केन्द्र थियो । त्यहाँ कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र बलराम उपाध्यायहरू कम्युनिस्ट राजनीतिको प्रशिक्षणमा थिए भने नेपाली काँग्रेसको राजनीतिलाई पनि गिरिजा प्रसाद कोइराला, प्रदीप गिरी, शैलजा आदिले परिचालित गरेको कुरा लेखकहरूले उल्लेख गरेका छन् । दोस्रो पटक पढाइका निम्ति बनारस पुगेका पुष्प कमल सुवेदीले पुष्पलाल, बलराम उपाध्याय आदिबाटै माक्र्सवादी राजनीति सिकेर फर्केको देखिन्छ ।

त्यतिखेर नेपालमा २०१५ सालको निर्वाचित सरकारमाथि प्रतिबन्ध लगाएर २०१७ सालमा स्थापित गरिएको निरङ्कुश एवं अनुदार पञ्चायती व्यवस्थाको राज चलेको थियो । दलहरू प्रतिबन्धित थिए भने भित्र भित्र गरिने दलीय गतिविधिप्रति प्रशासनको कडा नजर रहने गथ्र्यो । कम्युनिस्ट पार्टीमा पनि विभाजन आई पुष्पलालको ‘हाम्रो मूल बाटो’ र तुलसी लालको ‘कुन बाटो’ को विवाद थियो । केशर जङग रायमाझीले राजा परस्त बाटो रोजेको, पुष्पलाल र तुलसी लालका बिच उक्त विवाद बढेको, अन्तर्राष्ट्रिय रूपमा पनि रुसी धार र चिनिया धारको विकास भई तीव्र द्वन्द्व बढि रहेको, भारतमा पनि चारु मजुम्दारको लाइन विकसित भइ रहेको अनि नेपाली युवा जमात पनि चिनिया प्रभाव र चारु मजुमदारको प्रभावमा उत्प्रेरित भइ रहेको स्थिति थियोे । कास्कीमा र हंसपुरतिर पुष्पलालकै नेतृत्वको कम्युनिस्ट राजनीति अघि बढेको थियो तर पुष्पलालको नीति त्यतिखेरका युवा कम्युनिस्टका निम्ति पर्याप्त लागि रहेको थिएन । यसै पृष्ठभूमिमा श्याम प्रसादसँग निकट रहेका शेषमणि आचार्य र पृथ्वी नारायण क्याम्पसका स्व.वि.यू. सभापति भएका पुष्प कमलबिच राजनीतिक कुराकानी भएको कुरो लेखहरूमा उल्लेख गरिएको छ ।

यसबारे शेषमाणि भन्छन् “ पुष्पलालले ‘हाम्रो मूल बाटो’ कृतिका माध्यमबाट विघटित प्रतिनिधि सभाको पुनस्र्थापनाको माग अधि सारे भने तुलसी लालले ‘कुन बाटो’ नामक कृतिका माध्यमबाट राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम अघि सारे (६८) । उनी अगाडि भन्छन् “क्रान्तिकारी युवाहरू चिनिया कम्युनिस्ट पार्टीको सांस्कृतिक क्रान्तिका पक्षपाती थिए (६८) । अर्को ठाउँमा उनी भन्छन् “हामीलाई सबैभन्दा बढी प्रभाव त भारतको नक्सालवारी किसान विद्रोहले पा¥यो । यसमा भा.क.पा.(माले)का नेता चारु मजुम्दारले विद्यार्थीहरूलाई आह्वान गरे जुन प्रथमतः डिग्री बहिष्कारका रूपमा देखा प¥यो (७०) ।

यसरी पञ्चायती निरङ्कुशता, कम्युनिस्ट पार्टीको विभाजित स्थिति, पुष्पलालको काँगेससँग मिलेर प्रतिनिधि सभा पुनस्र्थापना गर्नु पर्छ भन्ने काँग्रेस परस्त नीति तथा युवा समूहमा चिनिया तथा भारतीय नेता चारु मजुम्दारको प्रभाव बढि रहेका सन्दर्भमा पुष्प कमलको नयाँ पार्टी खोल्ने तत्परताले मूर्त रूप लिएको देखिन्छ ।

माले क्रान्तिकारी कम्युनिस्ट दल (गण्डकी धौलागिरी) गठनमा अगुवाइ

२०२७ सालमा ‘माले क्रान्तिकारी दलको स्थापना रगतको सही छाप लगाई गरिएको कुरो दामोदर रेग्मीले उल्लेख गरेका छन् । उनका भनाइमा “२०२७ को सुरुमा हामीले रगतको सही छाप गरी ‘माले क्रान्तिकारी कम्युनिस्ट दल’ लाई जन्म दियौँ (८७) । यसको संस्थापकमा सुुरुमा म (दामोदर रेग्मी), जय प्रकाश वास्तोला र पुष्प कमद सुवेदी गरी तिन जना थियौँ । पछि २०२७ भाद्र १० गते सराङ्कोट वडा नंं. ९ स्थित गंगाधर कोइरालाको धन्सारमा खेमराज पौडैल, रामचन्द्र अधिकारी, पूर्ण गिरी, कृष्ण प्रसाद भट्टराई, भूपति सुवेदी, अरुण गुरुङ, राजेन्द्र सुवेदी, कृष्ण बहादुर कार्की, दामोदर रेग्मी, दीर्घ बहादुर जी. सी. सोमनाथ प्यासी, गंगाधर कोइराला लगायतका २४। २५ जना कमरेडहरूको भेला गरेर सङ्गठनको पुनर्गठन ग¥यौँ (८७) ।

उपर्युक्त स्थितिबाट बनेको ‘माले क्रान्तिकारी कम्युनिस्ट दल’ मा जय प्रकाश वास्तोला नेता तथा पुष्प कमल सुवेदी उपनेता बनेर सङ्गठनको काम नेताले तथा वैचारिक काम उपनेता सुवेदीले हेर्ने गरेको कुरो पनि लेखहरूमा उल्लेख गरिएको छ । आफू नेता बनेर देखिन नखोज्ने तर काम चाहिँ गर्ने पुष्प कमलको स्वभाव यहाँको नेतृत्व चयमा पनि देखा पर्छ । सुरुमा भेँडावारीलाई पार्टीको केन्द्र बनाइएको पछि हेमजा, सराङकोटमा सारिएको उक्त दलका कामको विस्तार धिताल, ल्वाङघलेल, रिभान, लाहाचोक, घाचोक, पुरन्चौर, हेमजा, घार्मी, सराङकोट, कास्कीकोट, पोखरा, अघौँ, सिसुवा, वेगनास, हंसपुर, रुपाकोट, देउराली, थुम्की, गोर्जे, तारकाङ आदि ठाउँमा गरिएको उल्लेख छ (८८) । यसरी पार्टीको विकास र विस्तारमा पुष्प कमलकै केन्द्रीय र मुख्य भूमिका रहेको कुरो विभिन्न लेखकहरूले उल्लेख गरेको देखिन्छ । त्यस्तै पार्टी निर्माणको काम धौलागिरिमा सुरुमा पर्वतको राम्जा तिलाहार, म्याग्दीका वेनी, रत्नेचौर, राखु हुँदै पछि तनहुँ र लमजुङ जिल्लामा पनि विस्ताति गरिएको देखिन्छ । सो कामका निम्ति पृथ्वी नारायण क्याम्पसको स्व.वि.यु. ले अनुकूल भूमिका खेलेको र पुष्प कमल सुवेदी नै सभापति रहेका बेलादेखि सोमनाथ अधिकारी ‘प्यासी’लाई जिम्मा लगाउनुका साथै त्यसपछिको सभापतिमा पनि सोमनाथ निर्वाचित भएर पार्टीको कामलाई अनुकूलता प्रदान गरिएको पनि देखिन्छ । धेरै लेखकहरूले आज कास्की र यस भेककै राजनीतिमा कम्युनिस्टको वर्चस्व रहनुमा पुष्प कमल सुवेदीका अगुवाइमा भएका यिनै कामको अहं र मूलभूत भूमिका रहेको पनि औँल्याएका छन् र पृथ्वी नारायण क्याम्पसमा भएको अखिलको वर्चस्वको श्रेय पनि तत्कालीन पुष्प कमल सुवेदीको नेतृत्व कुशलतालाई दिनु पर्ने उल्लेख गरेका छन् ।

राजनीतिक जीवनको पछिल्लो अवधिमा पुष्प कमल सुवेदी नेपालका कम्युनिस्टहरूको सङ्गठन (मालेमावादी) मा आबद्ध रहेको कुरो रामराज रेग्मीले उल्लेख गरेका छन् ।

पुष्प कमल सुवेदीको प्रभावशाली भाषण कला

पुष्प कमल सुवेदीको भाषण कला प्रभावकारी रहेको कुरा विभिन्न लेखकहरूले र्औँलयाएका छन् । डा. हंसपुरे सुवेदी दुनियाँमा कसै कसैलाई प्रकृतिले अनुपम खुबी प्रदान गरेको हुँदो रहेछ भन्दै यसो भन्छन् – देवकोटाले कलम लिई लेख्न थालेपछि तँछाड मछाड भाव वैरिने, धारा प्रवाह कलम चल्ने, दस दिनमा नै महाकाव्य तयार हुने । अनि पुष्प कमल सुवेदी बोल्न थाल्दा विषय वस्तु र तिनको आधार, भावी योजना, विधि प्रविधि अनि विषय वस्तुको सहारा, औचित्य इत्यादि प्रसङ्ग स्वतः फुर्दे जाने, सोच्नै नपर्ने, धारा प्रवाह वाणी खुल्ने कस्तो अनौठो (६) ।

सुवेदीको कुरो मात्र होइन धेरै लेखकहरूले पुष्प कमल सुवेदीको प्रभावशाली वक्तृत्व कलाबारे चर्चा गरेका छन् । कतिले जननेता मदन भण्डारीको भाषण कलासँग पनि दाँजेका छन् । उनको त्यही प्रभावकारी भाषणको खुबीले पृथ्वी नारायण क्याम्पसको स्व.वि.यु. निर्वाचनमा पनि सघाएको, संस्कृत पृष्ठभूमिको पढाइ भए पनि अँग्रेजीमा भाषण दिएर विद्यार्थीमाझ स्थापित हुन मद्दत पुगेको, गाउँ गाउँमा गएर कुरा गर्न थाल्दा पनि जनता आफै एकत्रित भएर उनका कुरा सुन्नमा मस्त हुने गरेको, शत्रुहरू भने पुष्प कमल सुवेदीको प्रभावकारी र आक्रामक भाषण र कुराहरूबाट मर्माहत हुने गरेको उल्लेख लेखकहरूले गरेका छन् । जे होस् सही विचारका साथसाथै पुष्प कमल सुवेदीलाई जनताका मनमनमा बस्न उनको आकर्षक भाषण कलाले पनि सघाएको देखिन्छ ।

सामाजिक राजनीतिक रूपान्तरणमा मुख्य भूमिका

पुष्प कमल सुवेदीले समाज रूपान्तरणका लागि गरेका कामबारे प्रायः सबै लेखकहरूले उल्लेख गरेका छन् । उनका काम मूलतः समाजमा चेतना फैलाउने र राजनीतिक रूपले सर्व साधारण जनतालाई गोलबन्द गर्ने सन्दर्भमा नै केन्द्रित भएका छन् । यस क्रममा ‘माले क्रान्तिकारी कम्युनिष्ट दल’को गठन आघि र बाल्यकालदेखि नै पनि उनी अन्यायका विरुद्ध जाइ लाग्थे भन्ने कुरा उल्लेख भइ सकेको पनि छ भने दलको गठनपछि यस्ता काममा नै उनी मूलतः केन्द्रित हुन्छन् । उनले बुर्जुवा शिक्षा बहिष्कार गरी भेँडावारी गएर पढाउन थाल्दा दिउँसो विद्यार्थीलाई पढाउने र राति किसान, हली गोठालाई जम्मा गरेर जनताको मुक्तिको बाटो देखाउने गरेको कुरो देवान सिंह वि.क. ले आफ्नो संस्मरणमा उल्लेख गरेका छन् (३६७) । वि.क.ले “पुष्प कमलले हामीलाई गाउँका सामन्तहरूले कसरी शोषण गरि रहेका छन् भनी चेतना भर्ने काम गर्नु भयो । उहाँले अन्याय सहेर बस्न हुँदैन, एक्ला एक्लै जुधेर साध्य हुन्न, दुख पाएका जति सबै एक जुट हुनु पर्छ भन्नु हुन्थ्यो” भनेबाट पनि बुझ्न सकिन्छ ।

पुष्प कमल सुवेदी अध्ययनशील माक्र्सवादी थिए भन्ने कुरा शेषमणिको लेखले पनि प्रस्ट परेको छ । उनले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका उतार चढावलाई पनि आफू (पुष्प र शेषमणि) हरूले गहिरो गरी अध्ययन गरेको उल्लेख गरेका छन् । तत्कालीन (सन् १९६५) इन्डोनेसियाली कम्युनिस्ट पार्टीका लाखौँ कार्यकर्ताको विभत्स नरसंहार, भियतनाम, लाओस, कम्बोडिया एवं अफ्रिकाका विभिन्न मुलुकमा जन विद्रोहले उचाइँ प्राप्त गर्दै गएको अवस्था आदिको गहिरो अध्ययन गरेर नै नेपालको कम्युनिस्ट आन्दोलनबारे हामीहरूले छलफल चलाउँथ्यौँ भन्ने कुरा उल्लेख गरेका छन् (६९) ।

पुष्प कमल सुवेदीको अध्ययनशीलताबारे प्रभात सुवेदी भन्छन् “ पुष्पलाई नेपालका कम्युनिस्टहरूको इतिहासबारे गहन जानकारी थियो । पुष्पलालले कहिले, किन र कसरी ने.क.पा.को स्थापना गरे, त्यो पार्टी किन र कसरी विभाजित हुँदै गयो, पुष्पलालसँग विरोध र विमति राख्ने तुलसी लाल, केशर जङ्ग रायमाझी, मोहन विक्रम, रुपलाल, रोहित, पूर्वको तत्कालीन कोअर्डिनेसन कमिटी आदि विषयमा मैले पुष्पबाट नै राम्रो र स्पष्ट जानकारी लिन पाएँ ।

यस्ता कुराले पुष्प कमल सुवेदीले अन्तराष्ट्रिय एवं राष्ट्रिय घटना क्रमको अध्ययन र नेपालको आर्थिक सामाजिक परिस्थितिको गम्भीर चिन्तन मननपछि मात्र थालेका थिए र उनी अध्ययनशील माक्र्सवादी नेता थिए भन्ने कुरा बुझ्न सकिन्छ ।

शारदा सुवेदीले ‘माले क्रान्तिकारी कम्युनिस्ट दल’का गतिविधिबारे रोजगारीमा रहेका आफ्ना पार्टी सदस्यहरूले खाएर बचेको तलब वापतको रकम पार्टीलाई बुझाउने, घर परिवारका स्वार्थलाई नहेर्ने, गाउँमा तास, जुवा खेल्न नदिने, रक्सी खान प्रतिबन्धित गर्ने, विद्यार्थीलाई निशुल्क ट्युसन पढाउने, दलितका घर बसेर खाना खाने अभियान चलाउने आदि काम गर्ने गरेको उल्लेख गरेका छन् ।

रामराज रेग्मी पुष्प कमल सुवेदीका कामबारे यसो भन्छन् “अध्ययन अनुसन्धानबाट के पत्ता लागेको छ भने पुष्पले गाउँमा पार्टी सङ्गठन खोली युवाहरूलाई त्यसमा आबद्ध गराउनु भएको थियो । उहाँबाट राजनीतिक रूपमा प्रशिक्षित हुनेहरूमा विशेषतः अरुण गुरुङ, शिव सापकोटा, बुद्धि सापकोटा, बृहस्पति सापकोटा, पुण्य सापकोटा, हिमलाल पौडेल, कृष्णलाल, झ्यापु नारायण आदिको नाम अग्रस्थानमा आउँछ । साँचै भन्ने हो भने पुष्प कमल सुवेदी धु्रव नि.मा.वि.का सदैव चम्कि रहने आधुनिक युग र वैचारिक चेतनाका धु्रवतारा हुनुहुन्छ (११)” ।

पुष्प कमल सुवेदीकै अगुवाइमा भइ रहेका गतिविधिबारे सोमनाथ अधिकारी प्यासी ग्रन्थभित्रको लेखमा यसो भन्छन् “कतै जमिन्दारका बाली लुटिए, कतै सामन्तहरूका तमसुक च्यातिए, कतै जाली फटाहाहरूलाई कालो मोसो दलिए, कहीँ मनी एक्सन गरिए, कहीँ छुतअछुत बिच झडप भए, कहीँ महिलाहरूबाट आन्दोलन अघि बढे, कहीँ अधिकारका लागि मजदुर अघि बढे (१२३) ।

सामाजिक काममा अगुवाइ गर्ने पुष्प कमल सुवेदीले समाजमा चल्दै आएका जुवा तास खेल्ने, रोदीमा जाने, महिलालाई जिस्क्याउने, पारिवारिक रूपमा पनि शोषण गर्ने, विवाह गर्दा दाइजो नभने पनि बढी भाँडा लिनेदिने, ऋण काढेर पनि बढी भोज भतेर गर्ने जस्ता गलत संस्कार विरुद्ध आवाज उठाउने र व्यवहारमा पनि कार्यान्वयन गर्ने गरेको उल्लेख वनमाली सुवेदीले (१८९) गरेका छन् । जनतामा चेतना छर्न, युवाहरूलाई सही कामका निम्ति सङ्गठित गर्न, विद्यार्थीलाई किताबी ज्ञान बाहेक अतिरिक्त क्रियाकलापमा सहभागी गराउन, जनचेतनामूलक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न, आफ्नोभन्दा अरूको पिरमर्कालाई ध्यान दिन, जातीय भेदभाव विरुद्ध व्यावहारिक रूपमै क्रियाशील हुन, त्यस्तो भेदभाव बढाउन खोज्ने विरुद्ध कडा तरिकाले प्रस्तुत हुन पुष्प कमल सुवेदी सधैँ सक्रिय हुन्थे । उनी नेपालमा क्रान्ति सम्पन्न गर्न बाहुन क्षेत्री जस्ता आर्य (तागाधारी) र गुरुङ्, मगर, तामाङ, राई जस्ता मङ्गोल (मतवाली) का बिच घनिष्ठ एकता हुनु पर्ने धारणा राख्थे भन्ने कुरा सहयोद्धा कृष्ण प्रसाद भट्टराइले उल्लेख गरेका छन् (१०३) । त्यसका निम्ति व्यावहारिक प्रयास पनि गरेको कुरो भट्टराईको लेखमा उल्लेख गरिएको छ । यसरी उनी जातीय भेदभावका विरोधी, सिद्धान्त र व्यवहारमा एकरूपता ल्याउन खोज्ने सच्चा क्रान्तिकारी थिए भन्ने बुझिन्छ ।

पुष्प कमल सुवेदीका विशेषताबारे नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले “मैले अहिले उहाँलाई सम्झँदा उहाँ माक्र्सवाद लेनिनवादप्रति गहिरो आस्था भएको, अत्यन्त अध्ययनशील र धैरै किताब घरमै सङ्कलन गर्ने, क्रान्तिप्रति गहिरो विश्वास भएको, कम्युनिष्ट पार्टीप्रतिको गहिरो विश्वास भएको र पार्टी, सेना र संयुक्त मोर्चा नभई क्रान्ति सम्पन्न गर्न सकिँदैन र यसमा पनि पार्टी मुख्य हुन्छ भन्ने मान्यता राख्ने, जनताले अहिले सबै कुरा नबुझे पनि बुझाउँदै गएपछि बुझ्नेछन् र क्र्रान्तिमा भाग लिने छन् भन्ने विश्वास भएको, अहिले हिंसात्मक र सशस्त्र सङ्घर्ष गर्न नसकिए पनि जन सङ्गठन र जन आन्दोलन चर्काउँदै गएपछि हिंसात्मक र सशस्त्र संघर्षमा विकास गर्न सकिन्छ भन्ने मान्यता भएका नेता मानेका छन् ।

‘माले क्रान्तिकारी कम्युनिस्ट दल’लाई तत्कालीन नेकपा (माले) मा मिलाएपछिको भेटमा आफ्नो पार्टीबारे सुझाव माग्दा पुष्प कमल सुवेदीले दिएको प्रतिक्रियाबारे वामदेव गौतमले यसै ग्रन्थको आफ्नो लेखमा यसो लेखेका छन् “ ‘माले क्रान्तिकारी कम्युनिस्ट दल’ लाई पुनर्जीवित गरेर नेकपा (माले) मा एकीकरण गर्नु भएकोमा तपाईँलाई धन्यवाद छ । तपाईँको पार्टीलाई निष्क्रिय बसेको मैले के सुझाव दिन सकुँला र ... तपाईँको पार्टीको वर्गशत्रु खतम लाइन मलाई मन परेको छैन । आखिर त्यो व्यक्तिहत्या नै हो । व्यक्ति हत्या कसरी क्रान्ति हुन्छ ? तपाईँहरूले चारु मजुमदार लाइन र चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष पनि भन्नु हुन्छ । यसलाई नेपाली जनताले कसरी स्वीकार्लान् । आदि

यस लेखले सुवेदीको तत्कालीन नेकपा (माले) सँगको विमतिको मूल कुरो प्रस्ट पारेको छ । गौतमले पुष्प कमल सुवेदीको उक्त आलोचना ठिक भएको र पछि पार्टीले धेरै कुरा सच्याए पनि उनीसँग भेट हुन नसकेको कुरो पनि उल्लेख गरेका छन् ।

वस्तुतः ग्रन्थभित्रका लेखहरूमा पुष्प कमल सुवेदीलाई अदभुत र विशेष किसिमको क्षमता भएका व्यक्तित्वका रूपमा चित्रित गरिएको छ । कति लेखकहरूले भावनामा बगेर पनि केही कुरा लेखेको लाक्छ तर धेरै कुरा त साँच्चैका उदाहरण नै दिएर उनको क्षमताको मूल्याङ्कन गरिएको छ । यसरी पुष्प कमल सुवेदीमा चामत्कारिक नेतृत्वको खुबी र दक्षता थियो भन्ने देखिन्छ । उक्त क्षमतालाई नेपाली जीवन र समाजको समृद्धिका निम्ति समर्पित र केन्द्रित गर्ने वातावरण भने बन्न नसकेको प्रस्ट हुन्छ ।

साहित्यिक क्षमता

पुष्प कमल सुवेदीमा कविता रचना गर्ने क्षमता रहेको कुरा यसै ग्रन्थमा सङकलित उनका तिन वटा कविताहरूले प्रस्ट गर्दछन् । उनका (१) २०२३ मा ‘भनु उदय’ मा प्रकाशित ‘आमासँग’ (२) २०२७ सालमा ‘नौलो हाँक’ मा प्रकाशित ‘नेपाल उस्तै छ’ र (३) २०३८ सालतिर रचना गरिएको र भावनाका उद्गार कविता सङ्ग्रहमा २०६५ मा प्रकाशित गरिएको ‘बैनीलाई चिठी’ गरी तिन वटा कविता देखा पर्छन् । यी तिन बटा कविताबाट उनी आफ्नो माक्र्सवादी विचारलाई कवितामा अभिव्यक्त गर्न सिपालु थिए भन्ने पनि बुझिन्छ ।

उनको पहिलो कविता ‘आमासँग’ मा मुख्य रूपमा नेपाली जनताले पञ्चायती निरङ्कुशताभित्र भोग्नु परेको परतन्त्रता, अन्धकार र उकुस मुकुसको चित्रण छ । नेपाली जनताले परतन्त्रता र उकुस मुकुस विरुद्ध जागरणका क्रियाकलाप गर्दा तत्कालीन शासकहरू सिकारी झैँ भएर प्रस्तुत हुने गरेका, निम्न वर्गीय श्रमजीवी जनतालाई कमारा वा दास बनाएर रजाइँ गरि रहेका, उच्च रहेको नेपालको गौरव जोगाउन र उकास्न नदिएका, नेपाल आमाकै सन्तान भएर पनि कसैले भोग विलासको जीवन जिउने र कसैले खाली पेट र बस्ने ठाउँ नपाउने आदि विषम स्थितिका विरुद्ध सशक्त र सशस्त्र सङ्घर्ष गर्नु पर्ने मान्यता प्रस्तुत गरेका छन् ।

दोस्रो कविता ‘नेपाल उस्तै छ’ मा नेपाली दाजुभाइलाई सम्बोधन गर्दे उनले कैयौँ वर्ष बिते पनि नेपाली जनताका दुखका दिन नगएका, यहाँका अनेकौँ खोला नाला र प्राकृतिक सम्पदाको उपयोग पनि हुन नसकेको, जनताले आफ्ना स्वतन्त्रताका आवाज उठाउँदा शासकका आक्रमणको सिकार हुने भय व्याप्त भएको स्थितिबोध गराएका छन् । उनले शासकहरूले भन्ने गरेको विकास, आनन्द र प्रगतिको कुरो देखावटी मात्र भएकोले यस्तो स्थितिलाई बदल्नका निम्ति सङ्घर्ष मात्र विकल्प रहेको उल्लेख गरेका छन् । उनले भोकभोकै बस्ने गरिब, जातीय भेदभावको उत्पीडन भोग्न वाध्य जनता र समग्रमा राज्य र राज्यको संरक्षणमा भएको शोषण र शासनका कारण पछाडि पारिएका सम्पूर्ण जनता एकत्रित भएर नयाँ बिहानी झुल्काउन एकताबद्ध भई लाग्नु पर्ने सशक्त विचार व्यक्त गरेका छन् ।

तेस्रो कविता ‘बैनीलाई चिठी’मा पनि नेपाली समाजमा व्याप्त निरङ्कुशता र शासकीय दमनको स्थिति, समाजमा व्याप्त वर्गीय शोषण एवं पुरुष प्रधान समाजका कारण उत्पन्न लैङ्गिक विभेद अनि वाम आन्दोलनभित्रकै गलत कार्यशैलीप्रति आलोचना गरी बैनीलाई सचेत गराउन खोजिएको छ । तलको उदाहरणले नेपाली समाजमा व्याप्त आर्थिक, लैङ्गिक विषमता र त्यस विरुद्धको सशस्त्र कान्तिको विचार व्यक्त गरेको छ ।

यो नेपालमहाँ छ शोषण अझै नारीहरूमा आति

लोग्नेकै अधिकारमा छ बहिनी थोरैतिनै सम्पति

हेर्दा वास्तवमा गमी गहिरिँदा हामी अझै शोषित

लेऊ बन्दुक हातमा र बहिनी सम्पूर्ण बैरी जित ।

पुष्प कमल सुवेदीको क्षमता राजनीतिक गतिविधिमा मात्र नभएर कविता रचनामा रहेको कुरो यी कविताले प्रस्ट गरेका छन् । उनी गीत गाउन पनि सिपालु थिए भन्ने कुरो पनि विभिन्न लेखकहरूले उल्लेख गरेका छन् । कविताको छन्द निर्माणमा सानातिना कमजोरी देखिए पनि शास्त्रीय छन्दमा आलङ्कारिक अभिव्यक्ति समेतबाट देशभक्ति, वर्गीय मुक्ति, लैङ्गिक विभेद र जातीय विभेदवाट मुक्तिका निम्ति सङ्घर्ष गर्नु पर्ने र त्यो सङ्घर्ष सशस्त्र नै गर्नु पर्ने मान्यता कलात्मकताका साथ प्रस्तुत गरिएको देखिन्छ ।

असामयिक अवासान र अपूरणीय क्षति

पुष्प कमल सुवेदीको असामयिक मृत्यु एउटा ठुलो विडम्बना भएर प्रकट भएको छ । निम्न वर्गीय श्रमजीवी जनताको सुखमय जीवन निर्माण गर्ने सङ्कल्प लिएर त्यस अनुसारको विचार ग्रहण गरी समाजमा क्रियाशील हुन पुगेका उनको असामायिक अवसानले परिवार जनलाई मात्र होइन सिङ्गो जनमुखी अभियानको पङ्क्ति मर्माहत भएको छ । यस ग्रन्थमा आफ्ना भावना, विचार वा अभिव्यक्ति प्रस्तुत गर्ने करिब सबै लेखकले उनका मृत्युको दुखद प्रसङ्ग औँल्याएका छन् र गहिरो श्रद्धा एवं सम्मान व्यक्त गरेका छन् । यस क्रममा कतिपय सहयोद्धाहरूले आफूहरूले बेलैमा उपचारमा ध्यान दिन नसकेको स्वीकार पनि गरेका छन् । कतिपयले केही सहयोग गरे पनि प्रर्याप्त हुन नसकेको दुखेसो गरेका छन् र कतिपयले थाहा पाउन नसकेको पनि उल्लेख गरेका छन् ।

वस्तुतः पुष्प कमल सुवेदीको असामयिक अवसानपूर्वको स्वास्थ्य स्थितिबारे पनि फाटफुट रूपमा कुरा उठाइएका छन् । उनकै छोरा प्रदीपले पनि दिदी (पुष्प कमल सुवेदीकी छोरी) को मृत्युको पीडा तथा निर्माण गरेका पार्टी सम्पर्क, समन्वय र सहयोगका अभावमा क्षत विक्षत हुनाका कारण बाबाको स्वास्थ्य स्थिति बिग्रेको सुनेको उल्लेख गरेका छन् । कतिपय लेखहरूमा पुष्पले सोजेको समाज परिवर्तनको आकाङ्क्षा पुरा हुन सक्ने नदेखिएकोले नै उनमा निराशा जागेको जनाएका छन् । जे भए पनि एउटा होनहार प्रतिभा, क्षमतावान् व्यक्तित्व, निष्ठावान् नेता र निम्न वर्गीय नेपाली जनताको आत्मीय मार्ग दर्शकको असामयिक अवसान नेपाली समाजको विकासका निम्ति अपूरणीय क्षति भएको देखिन्छ र अरू त्यस्ता व्यक्तिमा यस्तो घटना नदोहोरियोस् भन्ने कुरामा धेरै लेखकहरूले सचेत गराएको पनि देखिन्छ ।

निष्कर्ष

समग्रमा ‘पुष्प कमल सुवेदी स्मृति प्रतिष्ठान’ ले प्रकाशित गरेको ‘पुष्प कमल सुवेदी स्मृति ग्रन्थ’ ले पुष्प कमल सुवेदीलाई मुख्य व्यक्तित्व बनाएर उनका विभिन्न पक्षमाथि प्रकाश पारेको छ । त्यसमा उनलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्ने अध्ययनशील माक्र्ववादी, नेपाली समाजमा छिट्टै जनवादी क्रान्ति गरेर यहाँको निम्न वर्गीय शोषण उत्पीडन र दमनको अन्त्य गर्न सकिन्छ भन्ने दृढ विश्वास भएका व्यक्ति, त्यसका निम्ति नेपाली जनतालाई कम्युनिस्ट पार्टीमा सङ्गठित गरी तिनमा अन्याय र शोषणका विरुद्ध चेतना छर्नु पर्ने, नेपाली समाजमा रहेको जातीय विभेद र लैङ्गिक विभेद विरुद्ध एकत्रित र सङ्गठित गर्नु पर्ने, कम्युनिष्ट कार्यकर्ताले सिद्धान्त र व्यवहारमा एकरूपता देखाउनु पर्ने, जनतासँग इमान्दार सम्बन्ध राख्नु पर्ने आदि उच्च सोचाइ भएका महत्त्वपूर्ण व्यक्तित्वका रूपमा चित्रित गरिएको छ । यसका साथै कता कता उनमा जनताको तत्कालीन चेतना स्तर, देशको सामान्तवादी चिन्तन र चेतनाको बलियो उपस्थिति, सहकर्मी साथीहरूबाट पाउन सक्ने क्रान्तिप्रतिको निरन्तर समर्पणको वस्तुगत स्थिति आदिबारे अझ गम्भीर भएर मूल्याङ्कन गर्न नसक्ने कमजोरी समेत भएका व्यक्तिका रूपमा पनि चित्रित गरिएको देखिन्छ । पछिल्लो यो कुराको सङ्केत मात्र गरिएको छ र हो भन्ने पनि लाग्छ ।

यस ग्रन्थमा सुवेदीको उक्त व्यक्तित्वका साथै विभिन्न अन्य पक्षमाथि पनि प्रकाश पारिएको छ । त्यसमा मुख्यतः हंसपुर गाउँ र नजिकका अरू गाउँको परिचय, सुवेदीको वंशगत परिचय, विशेष गरी २०२० देखि २०४० सम्मका त्यहाँका पुष्प कमलका सहकर्मी र उनका गतिविधिको परिचय, माले क्रान्तिकारी कम्युनिस्ट दल र त्यस दलका वरिपरि घुमेको राजनीतिक गतिविधि, तत्कालीन शैक्षिक परिपाटी र पञ्चायती प्रशासनको कुदृष्टि, विद्यालयका शिक्षकहरूले माक्र्सवादी विचार प्रसारका निम्ति गरेका महत्त्वपूर्ण गतिविधि आदिबारे राम्रो परिचय प्रदान गरेको छ । यस स्मृति ग्रन्थले पुष्पलाल र बलराम उपाध्याय लगायतले कम्युनिष्ट कार्यकर्ता उत्पादन गर्न खेलेको भूमिका, तत्कालीन पुष्पलालको नेतृत्वप्रति युवा समूहमा असन्तुष्टि जाग्नुको पृष्ठभूमि, माले क्रान्तिकारी कम्युनिष्ट दलको गठन र उसका गतिविधि, नेकपा (माले) सँग पुष्प कमलको विमति आदिबारे पनि विभिन्न कोणबाट प्रकाश पारेको छ ।

प्रस्तुत ग्रन्थका कति लेखकहरूले निकै मेहेनत गरेर, सामग्री जुटाएर परिष्कारका साथ आफ्ना विचार र भावनाहरू प्रस्तुत गरेको देखिन्छ भने कतिले यिनै लेख मार्फत आफ्नो परिचय पनि दिन खोजेको देखिन्छ । यस्ता ग्रन्थमा कुरा दोहोरिनु स्वाभाविक हुन्छ तर पुष्प कमल सुवेदी र माले क्रान्तिकारी कम्युनिष्ट दलका खास खास पक्षमा मात्र केन्द्रित भएर आफ्ना लेख तयार गरि दिन भनेका भए अझ सुनमा सुगन्ध थपिने थियो । तर पनि प्रस्तुत गरिएका सामग्री निकै राम्रा सकारात्मक एवं स्तरीय समेत रहेका देखिन्छन् । यसमा धेरै बाम समर्थक लेखकका लेखहरू सङ्कलित छन् त्यो स्वाभाविक भए पनि कतिपय लेखहरू पुष्प कमलको समयका नेपाली काँग्रेस सम्बद्ध लेखकका लेखहरू पनि प्रस्ट चिनारीका साथ आएका भए फरक राजनीतिक धारको हेराइ पनि बुझ्न मद्दत मिल्ने थियो ।

कतिपय लेखकहरूले प्रतिष्ठानको गठन ढिलो भएको, सम्बन्धित पक्षले नै बेलामै तदारुकता नदेखाएको परोक्ष गुनासो गरे पनि भएको कार्यको सराहना गरेका छन् र आगामी दिनमा प्रतिष्ठान, परिवारका पहलमा रामकोट उ.मा.वि.मा स्थपित ‘पुष्प कमल सुवेदी स्मृति छात्रवृत्ति’, वाचनालय आदिको व्यवस्थित तरिकाले सञ्चालन गर्न सबैको सहयोग हुनु पर्ने र आफूले पनि सहयोग गर्ने वचन बद्धता पनि व्यक्त गरेका छन् । यस्ता कुराले आगामी दिनमा सो प्रतिष्ठानले राखेका उद्देश्यमा अनुकूलता थपिने छ ।

अन्तमा देशभरि छरिएर रहेका लेखकका लेखहरू सहित जुटाएर त्यसमा अहोरात्र खटेर तयार गरिएको यो ग्रन्थ सङ्ग्रहणीय र महत्त्वपूर्ण छ । यसको सहयोग मूल्य ४००। यसभित्रका सामग्रीका तुलनामा केही पनि होइन भन्दै यस प्रकारको अवसर प्रदान गर्नु भएकामा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै बिदा हुन्छु । आफ्ना आँखाले मैले पुष्प कमाललाई नदेखे पनि लेखकहरूका आँखाबाट हेर्न पाएँ त्यसका लागि पनि धन्यवाद ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।