एउटा बुढो साइकलमा
प्रत्येक दिन नापिरहेछु
आधा शताब्दी पुरानो
थोत्रिँदै गएको सडक ।
निरन्तर थोत्रिँदै छ सडक
किनारहरू भत्केका छन्
ढल बगिरहेछ पेटी छोएर
दुर्गन्धित पानी,
सडकका खाल्डाहरूमा जमिरहेछ
किनारबाटै यात्रीहरू
नाक थुनेर
आफ्नो गन्तव्य नापिरहेका छन् ।
इन्जिनियरहरू,
सडक मर्मतको योजना कोरिरहेका छैनन्
आजमात्रै,
राष्ट्रिय अखबारमा एउटा समाचार छ–
उनीहरूले
भरखरैमात्र
मर्सिडिज कार चढ्ने
बिन्तिपत्र दर्ता गरे
बिनतीपत्रसँगै
विभाजित भए यात्रीहरू
उनीहरू उचालिरहेछन् मुट्ठीहरू
पक्ष/विपक्षमा
केही बेर अघि मात्र
विपक्षमा सुनियो तालीको ठूलो स्वर ।
आधा शताब्दीदेखि
थोत्रिँदै गएको छ सडक
भत्किएका सिटहरूसँगै
यात्रुहरू झट्कार्दै
कुदिरहेछन् साझा बसहरू
बर्षौंदेखि ती बसभित्र
धेरै चोखा मनहरू
निरन्तर कुदिरहेछन् ।
आँधी–हुरीले ढाल्न नसकेका
दशकौं पुराना रूखहरू
आफैं लडिरहेछन् सडकमा
मानिसहरू अचम्मित हुँदै
जिब्रो काढिरहेछन्
आँखा छोपिरहेछन्
ढलेका रूखका हाँगाहरूमा
झुण्डिरहेछन् चमेराहरू
शताब्दीयौंपछिको सहर–बस्तीलार्इ सुहाउने
सुन्दर सडकको पूर्वाधार कायमै छ
तर मर्मतको अभावमा
निरन्तर थोत्रिरहेछ सडक
सडकको बुढ्यौलीसँगै
थोत्रिरहेछन् वैंशहरू
थोत्रिरहेछन् मनहरू
क्रमशः थोत्रिरहेछन् जीवनहरू
चिन्तामग्न भएर
एउटा बुढो साइकलमा
प्रत्येक दिन नापिरहेछु
आधा शताब्दी पुरानो
थोत्रिँदै गएको सडक ।